१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

किसानका माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोधः राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन्। बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए।

‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,’ अध्यक्ष राउतले भने, ‘नभए अरू ठाउँमा त भन्न सकिन्न तर तराई–मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।’

जनमत पार्टी निर्वाचनविरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं। निर्वाचनमा जानुअगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनुपर्‍यो। किनकी एकैदिनमा यो समस्या समाधान हुने होइन। यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन।

अहिलेसम्म त्यही ३/४ जना नेताको अनुहार आउने हो। जुनसुकै सरकार आए पनि अजेन्डा यही रहने हो। त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो।’ सञ्चारकर्मीको जिज्ञासामा राउतले भने, ‘किसान आन्दोलनको ज्ञापनपत्र नलिने तर विदेशीको स्वार्थको पछाडि हाम्रा नेताहरू दौडिरहेका छन्।’

अर्को चरणको किसान आन्दोलन फागुन १ गतेबाट घोषणा हुने जानकारी पनि अध्यक्ष राउतले दिए। मौसमको खराबीका कारण हाइवे केन्द्रित आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै अध्यक्ष राउतले फागुन १ गतेबाट सशक्त कार्यक्रम आउने बताए।

किसान आन्दोलनको विरोध गर्नेहरूप्रति लक्षित गर्दै अध्यक्ष राउतले भने, ‘किसान आन्दोलनमा किसानहरूले प्रहरी–प्रशासनको दमनको सामना गरिरहँदा यहीँकै केही पार्टीहरू जो प्रदेश सरकारमा छन्, संघीय सरकारमा छन्, उनीहरूले आन्दोलनको विरोधमा प्रदर्शन गरे। प्रेस विज्ञप्ति जारी नै गरेर आन्दोलनमा दमन गर्न प्रोत्साहन गरे।’

कृषिमन्त्री मधेसकै भए पनि किसानको माग सुन्नसमेत नचाहेको जिकिर अध्यक्ष राउतले गरे। डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरूको मागमा सरकारले चासो नदिएकोप्रति अध्यक्ष राउतले दुःख व्यक्त गरे।

जनमत पार्टीले किसान आन्दोलन मात्रै होइन जनताको जनजिविकासँग सम्बन्धित मागसमेत आन्दोलन गर्दै आएको र गरिरहने जनाए।

‘हाम्रो पार्टीको झण्डामा अष्ट दल छ। जनमत पार्टीको सम्यक क्रान्तिअनुसार अगाडि बढ्छ। सम्यक क्रान्तिमा आठवटा आयाम छ,’ उनले भने, ‘राजनीतिक, आर्थिक, समाजिक, शैक्षिक, वातावरणीय, सांस्कृतिकलगायतको क्रान्ति हुनेछ।’

अध्यक्ष राउतले भने, ‘सिके राउत किसान नभएर पनि किसानको आन्दोलन गरेको भनेर आलोचना भइरहेको छ। उहाँहरूलाई हामी भन्न चाहान्छौं, महिलाको अधिकारका लागि पनि जनमत पार्टीले आन्दोलन गर्नेछ त्यसबेला नभन्नु होला कि सिके राउत त महिला होइन तर महिलाको आन्दोलन किन गर्छ?’

किसान आन्दोलनमा उठेका मागहरू दीर्घकालीन समाधानका लागि किसानसँग सम्बन्धित विधेयक ल्याएर ठोस कानुन नै बनाउनुपर्ने भएकाले आफूहरूको माग संघीय सरकारसँग रहेको उनले बताए।

प्रकाशित: २७ माघ २०७८ ००:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App