४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लोसपाद्वारा मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन आउँदो असोज २०७९ मा गर्न माग गरेको छ।

लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले संविधानले स्थानीय जनप्रतिनिधिको पदापधि ५ वर्ष हुने बताउँदै मधेश प्रदेशका जनप्रतिनिधिको कार्यकाल ५/६ महिना कटौती गर्ने अधिकार निर्वाचन आयोगसँगै कसैलाई पनि नभएको बताएका छन्। मधेश प्रदेशमा आगामी असोजमा निर्वाचन गर्नुपर्ने उनी बताउँछन्।

उनले स्थानीय निर्वाचन घोषणाको स्वागत गर्दै आफूहरु आवधिक निर्वाचनको पक्षमा भएको बताए । कसैको अधिकार कुण्ठित गर्ने कसैको मनसाय हुननहुने उनको भनाइ छ । यस्तै मधेश प्रदेशको निर्वाचन असोजमा नै गर्ने वातावरण बनाउनुपर्ने उनको जोड छ।

लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ। २०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको थियो। तत्कालिन प्रदेश २ (हालको मधेश प्रदेश) मा २०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो।

त्यस्तै सरकारले गएको सोमबार मात्र स्थानीय तहको निर्वाचन ३० बैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ। अघिल्लो पटक तीन चरणमा चुनाव भएको भए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार सबै जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने निर्वाचन आयोगले बताएको छ।

प्रकाशित: २६ माघ २०७८ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App