१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विराटनगरको पश्चिम क्षेत्रमा नेतालाई निषेध

विराटनगर महानगरपालिकाको क्षेत्रभित्र रहेको कोशी लोकमार्गदेखि पश्चिमतर्फ नेता निषेधित क्षेत्र घोषणा गरिएको छ। शनिबार विराटनगर–४ र ५ को सीमा क्षेत्रको जामुनगाछी चोकमा स्थानीयले पत्रकार सम्मेलन गर्दै लोकमार्गदेखि पश्चिम क्षेत्रमा दलका नेताहरुलाई प्रवेशमा निषेध गरिएको बताइएको हो।

स्थानीयहरुले विभिन्न २३ बुँदे माग राख्दै संघर्ष समिति बनाएका छन्। उनीहरुले लोकमार्ग पश्चिमलाई दलका नेताहरुले विकास गर्ने कुनै ठोस योजना नल्याएको र भइरहेका काममा पनि ढिलासुस्ती हुँदा चासो नदेखाएकाले नेतालाई निषेध गर्नु परेको बताएका छन्।

लोकमार्गको पूर्व क्षेत्रमा जुन गतिमा विकास भयो र भइरहेको छ। त्यसका आधारमा पश्चिमतर्फ पूरै बेवास्ता गरिएको संघर्ष समितिका सदस्य उत्तम दाहालले बताए।

‘दलका नेताहरु आउने र मीठा कुरा गरेर जाने परिपाटीले हामीलाई समस्यामा पारेको छ,’ दाहालले भने, ‘अब कुनै पनि दलका नेतालाई हाम्रो क्षेत्रमा प्रवेश गर्न नदिनका लागि स्थानीयहरु एकजुट भएका छौं। महानगरपालिका, प्रदेश र संघीय तीन नै तहमा यहाँबाट चुनाव जिते गएका छन्। उनीहरुले लोकमार्ग पश्चिम क्षेत्रको विकासका लागि कुनै पनि चासो नदेखाएको हुँदा बाध्य भएर नेता निषेधित क्षेत्र घोषाण गर्नु परेको हो।’  

पूर्व क्षेत्रतर्फ विकास तीव्र गतिमा भइरहेको छ। पश्चिमतर्फ सडक, नालालगायतका कुनै पनि विकासका योजना नहुँदा वर्षेनी डुबानमा पर्नुपर्ने, सडकमा हिँड्दा खाल्डाखुल्डीमा लड्नुपर्ने जस्ता  धेरै समस्या खेप्दै आइरहेका छन्। ‘मुख्यमन्त्री, स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीलाई हाम्रो २३ बुँदै मागसहितको ज्ञापनपत्र बुझाएका छौं,’ दाहालले भने, ‘कहीँ कतैबाट ठोक कुरा आएको छैन।’

यस क्षेत्रबाट चुनाव जितेर गएका संघीय सांसद् लालबाबु पण्डित, प्रदेशसभाका सदस्य केदार कार्की, मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीलगायतका निर्वाचित नेताहरु पश्चिमतर्फको विकास विरोधी नेता भएको उनीहरुले आरोप लागएका छन्। यस क्षेत्रको विकास चाहने नेताले विकासका योजना र भइरहेको कामलाई विशेष प्राथमिता दिँदै हामी जनताको भावना बुझ्न आउनु पर्ने स्थानीयहरु बताउँछन्। माग सुनुवाइ नभए संघर्ष गरेर नेताहरुलाई कानुन अनुसार कारबाहीका लागि दबाब दिने तयारी भइरहेको बताए।

राजनैतिक स्वार्थको कोपभाजनमा परेका कारण विकास निर्माणको कामसमेत सुस्त गतिमा रहेको निस्कर्ष निकाल्दै स्थानीयले दल र नेताको व्यवहार तथा कार्यशैलीले वितृष्णा मात्रै पैदा भएको बताए। अहिले विराटनगर महानगरपालिका–४ र ५ का स्थानीयले थालेको आन्दोलनमा लोकमार्ग पश्चिमका सबै वडाका स्थानीयले साथ दिने भएका छन्।

दाहालले सबै ठाउँको विकास समानुपातिक हिसाबले हुनुपर्नेमा जोड दिए। ‘धनाढ्य बसेकातिर विकासको बाढी छ। गरिब जनता भएतिर वास्तै छैन,’ दाहालले भने, ‘आएका योजना पनि नेताका आसोपासे मिलेर बाँडीचुँडी खान्छन्। लोकमार्ग पश्चिमलाई कर्णालीजस्तै विकासविहीन बनाइएको छ।’ नेताकै रवैयाका कारण महानगरका बासिन्दा भन्न पनि लाजमर्दाे भएको र विकास निर्माणलगायतका विषयमा जनताले उठाएको मुद्दाको सम्बोधन गर्न नसकेमा महानगरले लिइरहेको कर फिर्ता हुनुपर्ने माग स्थानीयको छ।

विराटनगर–४ र ५ को गणेश चोकबाट पश्चिम केसलिया खोलासम्मको करिब ३ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौंदेखि काम शुरु भए पनि अझै अपूरै छाडिएको गुनासो गरेका छन्।

‘५/७ वर्षदेखि विकासका कुनै पनि काम भएका छैनन्,’ प्रेम कार्कीले भने, ‘यस क्षेत्रलाई सबै दलका नेताहरुले बेवास्ता गर्दा हामीले दुःख भोग्नु परेको छ। यस क्षेत्रबाट निर्वाचित भएर गएका संघीय सांसद् लालबाबु पण्डित आएका  छैनन्। काँग्रेसका नेता डाक्टर शेखर कोइरालाको क्षेत्र हो। तर, उनले पनि विकासका लागि पहल गर्नुपर्ने हो, देखिएको छैन। लोकमार्ग पश्चिम नेताहरुका कुनै पनि कार्यक्रम गर्न दिँदैनौं।’

प्रकाशित: ११ मंसिर २०७८ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App