१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मेयर उपमेयरको विवादले थलिदैँ चन्दननाथ नगरपालिका

जुम्लाको चन्दननाथ नगरपालिकामा पहिलोपटक भएको स्थानीयतहको निर्वाचनमा महिला नेतृत्व पाउँदा स्थानीय खुसी थिए। पहिलोपटक महिला मेयर, उपमेयर निर्वाचित गरेका नगरपालिकाबासीले नगरको विकास हुने आशा राखेका थिए। सामाजिक, आर्थिक, भौतिक विकास भएर समृद्धिको यात्रामा अघि बढ्ने विश्वास राखेका थिए।

तर यो नगरबासीको विश्वास चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। न सदरमुकामको फोहोर समयमै उठ्न सकेको छ, नत कुनै देखिने खाले विकास भएको छ। केवल नरपालिका विवादको चङगुलमा फसेको छ। चार वर्ष देखिको मेयर उपमेयर बीचको विवादले हरेक क्रियाकलाप प्रभावित हुने गरेको स्थानीय बताउँछन्। 

मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेवी न्यौपाने (महतको )आपसी विवादका कारण नगरको विकास प्रभावित हुने गरेको छ। समयमै बजेट नआउने र पास नहुने समस्याले नगरपालिका ग्रसित छ। यो वर्ष समयमै बजेट आउन सकेको छैन। बजेटका विषयमा मेयर उपमेयरबीच मत भिन्नता छ। मेयर भन्छिन्,‘बजेट पारित भइसक्यो।’ तर उपमेयर बजेट नै आउन नसकेको बताउँछिन्। 

नयाँ आर्थिक वर्षको प्रारम्भ भइसकेको छ। असार महिनाको १० गते बजेट, नीति कार्यक्रम ल्याएर अन्तिम सम्म बजेट पारित भइसक्नुपर्छ। तर नगरपालिकामा न बजेट आएको छ। नत पारित नै भएको छ। नयाँ आर्थिक वर्षको सुरुवाती सँगै काम अघि बढाउनु पर्नेमा चन्दननाथ नगरपालिकाले कुनै काम अघि बढाउन सकेको छैन। सबै कामकाज ठप्प छन्। विवादले नागरिकता सिफारिसदेखि घरजग्गा राजस्व संकलनको काम समेत ठप्प छ।  

राजस्व परामर्श समितिको बैठक बस्न सकेको छैन। जसका कारण राजस्व संकलन दररेड अनुमोदन हुन सकेको छैन। मेयर उपमेयरको आन्तरिक विवादका कारण सेवा प्रवाह र विकास निर्माणका क्रियाकलाप प्रभावित नगर्न स्थानीयले आग्रह गरेका छन्। जनताले प्रभावकारी सेवाप्रवाहमा टेवा पुगोस भन्ने हेतुले जनप्रतिनिधि पठाएका हुन्। नीति कार्यक्रम र बजेट तर्जुमा गर्न बसेको बैठकमा उपमेयर हुन नमानेकोले समस्या आएको मेयर सेजुवाल बताउँछिन्। लामो समय सम्म कार्यपालिका बैठकमा उपस्थित नभएपछि असार ३१ गते बहुमतका आधारमा बजेट सहित नीति कार्यक्रम पारित गरिएको उनले दाबी गरिन्। उपमेयर न्यौपानले औपचारिक रुपमा नगरसभा आव्हान गरेर बजेट, नीति कार्यक्रम पारित नभएको बताइन्।

उपमेयर न्यौपानले भनिन्, ‘ दुई तीन आर्थिक वर्षदेखि सार्वजनिक सुनुवाई हुन सकेको छैन। रेडबुकअनुसार योजना कार्यन्वयन भइराखेका छैनन्। अपारर्दर्शी रुपमा बजेट सखाप पार्ने जस्ता कामले गर्दा नगरपालिका धरापमा पर्न थालेको छ। यी विषयमा जबसम्म छलफल भएर टुंगो लाग्दैन तबसम्म न नगरसभा हुन्छ, नत बजेट,नीति कार्यक्रम नै पारित हुन्छ।‘ उनले नगरपालिकाले भोग्नु परिरहेको समस्या सम्बोधनका लागि आवाज उठाइरहेको बताइन्।    

चन्दननाथ नगरपालिका जुम्लाका माधबप्रसाद उपाध्याय नगरपालिकाले दिने सेवा गुणस्तरहीन भएको बताउँछन्। सहजै रुपमा सेवा लिन आउने सेवाग्राही सेवा नलिएर फर्कनु परिरहेको छ। यो दुखद हो। उनले भने,’ ‘जग्गाको राजस्व  तिर्न आएको दुई दिन भयो। दुवै दिन कामै हुन सकेन। दुख मात्र पाइरहेको छु।’ उनले भने,‘आन्तरिक किचलोमा लाग्नुभन्दा जनताको सेवामा लाग्दा उपयुक्त हुने देखिन्छ। समयमै बुद्धि पलाओस्।’

राजस्व परामर्श समितिको बैठक बसेर दररेड अनुमोदन नभएकोले कुनै पनि राजस्व संकलन हुन नसकेको  राजस्व शाखाका नायब सुव्बा कमल भण्डारीले बताए। समयमै बजेट पारित हुन नसक्दा सो मुल्यांकनमा नगरपालिका पछि परिसकेको छ।  

चन्दननाथ नगरपालिका ८ का वडाध्यक्ष नरजीत दमाई आपसी विवादको निरुपण गरेर समग्र नगरपालिकाको हीतमा लाग्न आग्रह गरिरहेको बताउँछन्। मेयर उपमेयरको विवादले  नगरपालिका थलिँदो अवस्था छ।  

प्रकाशित: ८ श्रावण २०७८ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App