१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग जबाफ माग

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसहित १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त गरेलगतै महतो विगतमा टुंगो लागिसकेको विषयलाई पुनः उठाएर राष्ट्रिय एकता र अखण्डताको विपक्षमा उभिएको ती नेताहरूको भनाइ छ।

नेता खनाल, अर्का वष्ठि नेता माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्यम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृत बोहोरा र प्रमेश हमालले शनिबार संयुक्त विज्ञप्ति जारी गरी महतोको धारणाप्रति निन्दा व्यक्त गरेका हुन्। संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरेर राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

महतोबाट आएको अभिव्यक्ति संविधानको धारा ३ मा उल्लिखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने व्यवस्थाविरुद्ध रहेको उनीहरूले जनाएका छन्। यस्तो अभिव्यक्ति कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै उनीहरूले भनेका छन्, ‘उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्छाैं।’

यसैबीच एमाले अखिलसहित विभिन्न विद्यार्थी संगठन र समुदायले पनि राजधानीसहित देशका विभिन्न स्थानमा उपप्रधानमन्त्री महतोको अभिव्यक्तिलाई लिएर विरोध प्रदर्शन गरे।

प्रकाशित: २३ जेष्ठ २०७८ ००:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App