९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका रिटमाथि आज सुनुवाइ

फाइल तस्बिर

आज प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमध्ये १९ वटामा सुनुवाइ हुँदै छ। बाँकी ११ वटा भोलि अर्थात् शुक्रबार हुने भएको छ। बुधबार बुद्ध जयन्तीका कारण सार्वजनिक बिदा भएकाले बिहीबारदेखि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको थियो। 

बहुमत सांसदले प्रतिनिधिसभा पुर्नस्थापना गरी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी दायर गरेको रिटसहितका ११ वटा रिट निवेदनमा सुनुवाइ गर्न संवैधानिक इजलासमा शुक्रबार पेसी तोकिएको छ। 

संवैधानिक इजलासमा परेका रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ जना न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ। बिहीबार पेसी तोकिएका रिट निवेदनमा भने एकल न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ। सरकारको सिफारिसमा जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो। 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए। 

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिई, राजीनामा नदिई, अर्को सरकार गठनको विकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत भएको रिट निवेदकहरूको दाबी छ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App