जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। अर्को अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिबार बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले पार्टीस हितविपरीत काम गरेको जनाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य इस्तियाक राईले जानकारी दिएका हुन्।
अध्यक्ष ठाकुरसहितका नेताहरूले राष्ट्रपति कार्यालयमा पठाएको पत्र व्यक्तिगत भएको भन्दै बैठकले त्यसलाई मान्यता नदिन पनि आग्रह गरेको छ। जसपाले केपी ओली नेतृत्व सरकारको विकल्प खोज्ने निर्णय गरेको जनाउँदै संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवा नेतृत्वमा सरकार गठनका लागि आफूहरूले समर्थन गरेको जनाएको छ।
ओली नेतृत्वमा सरकार गठनका लागि समर्थन जनाएको भनिएको पत्र व्यक्तिगत भएको उनीहरूको ठहर छ। बैठकले विपक्षी गठबन्धनबाट शनिबार जारी विज्ञप्तिलाई अनुमोदन गरेको छ। बैठकमा ठाकुर पक्षको भने सहभागिता थिएन।
प्रकाशित: ९ जेष्ठ २०७८ ०२:२६ आइतबार