१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विप्लवलाई मूलधारमा ल्याइन्छ : प्रधानमन्त्री

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारमा ल्याउने बताएका छन्।आइतबार झापाको कमल ७ मा नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवसँग चाँडै वार्ता गरिने बताउँदै थपे, ‘यसको घोषणा तपाईंहरूले घरघरमै टिभीमा हेर्न पाउनुहुनेछ ।’  

उनले यसबारे प्रकृया चलिरहेको दाबी पनि गरे।ओलीले भने, ‘विकासका क्रममा हामी अघि बढेका छौं, संयुक्त राष्ट्रसंघीय निकायले नेपाललाई विकासशील देशको सूचीमा राख्न सिफारिस गरिसकेकाले पनि हामी कता जाँदैछौं, देखाएको छ।अलिकति समस्या शान्तिसँग जोडिएको विषय छ तर त्यो समस्याको चाँडै समाधान गरिनेछ ।’

दमक, कमल र गौरादहमा बन्ने औद्योगिक पार्क नेपाल र चीनबीचको मित्रताको नयाँ प्रतीकसमेत बन्ने धारणा उनको थियो।औद्योगिक पार्कको प्रारम्भिक कार्यका लागि ३ अर्ब रूपैयाँ बजेट सुनिश्चित भईसकेको भन्दै प्रधानमन्त्रीले २ वर्षभित्रमा ४५ हजारजनालाई रोजगारीको अवसर प्राप्त हुने दाबी गरे ।

कार्यक्रममा चाइना नेपाल फ्रेन्डसिप इन्ड्रस्ट्रियल पार्कका अध्यक्ष गोविन्द थापाले देशका अन्य भागका औद्योगिक क्षेत्रभन्दा यो बृहत् हुने बताए।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले नेपालमा औद्योगिक युग सुरु भएको बताए।इन्टरनेटका माध्यमबाट चीनका प्रतिनिधिले पनि कार्यक्रममा सम्बोधन गरेका थिए।कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङ पनि सहभागी थिए ।

दमक, गौरादह र कमलमा करिब २ हजार बिघामा चिनियाँ लगानीमा बन्ने पार्कका लागि लगानी बोर्डले ६४ अर्ब बजेट स्वीकृत गरिसकेको छ।यो पार्क रतुवा नदीको बगरमा बन्नेछ।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले यो पार्क मुलुककै नमुना र ठूलो पार्क हुने दाबी गरे।‘यसमा चिनियाँ पक्षले नदी नियन्त्रण, सडक निर्माण पनि गर्नेछ’, बस्नेतले भने, ‘यो ढिलोमा ५ वर्षभित्र सञ्चालनमा आउनेछ ।’ पार्कमा पर्ने सर्वसाधारणको जग्गा अधिग्रहण गर्न मुआब्जा वितरणका लागि सरकारले १ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

प्रकाशित: १७ फाल्गुन २०७७ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App