८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपा र काँग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, छर्रा लागेर १८ जना घाइते

सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस (नेका) कार्यकर्ता बीच झडप भएको छ। झडपमा गोली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।  

आइतबार राति भएको झडपमा नेकपाका १५ र नेकाका तीन कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। झडपमा दुई जना प्रहरीसमेत घाइते भएको उनले बताए। झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड आश्रुग्यास प्रहार गरेको थियो। घटनास्थल अहिले शान्त रहेको र त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।  

जिल्लाको रामनगर गाउँपालिकामा नेकपा कार्यकर्ताको हत्या गरिएको विरोधमा धनकौल गाउँपालिकामा आइतबार साँझ ७ बजे निकालिएको मसाल जुलुसमा काँग्रेस कार्यकर्ताले गोली चलाएको नेकपाका स्थानीय नेता अजय सिंहले जानकारी दिए। आफ्ना कयौँ नेता तथा कार्यकर्तालाई गोलीको छर्रा लागेको र लाठीको प्रहारबाट घाइते भएको नेता सिंहले जानकारी दिए। घटनाका घाइतेमध्ये केहीको बरहथवामा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई वीरगञ्जतर्फ पठाइएको उनले बताए।  

यता नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको नेपाली काँग्रेसले आरोप लगाएको छ। नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुसले काँग्रेस कार्यकर्ता धिरु वर्माको घरअगाडि टायर बाल्नुका साथै कुटपिट गरेको नेपाली काँग्रेसका नेता एवं प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए। नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना छ जना कार्यकर्ता घाइते भएको उनले बताए। 

प्रकाशित: १५ असार २०७७ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App