८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनता समाजवादीको दस्तावेज निर्वाचन आयोगमा

मर्यादामा अशोक राईभन्दा मुनि बाबुराम भट्टराई

नवगठित जनता समाजवादी पार्टीमा लामो छलफल र गृहकार्यपछि नेताहरूको मर्यादा र व्यवस्थापनको टुंगो लागेको छ । नेतृत्व विवाद आइतबार टुंगो लगाएसँगै निर्वाचन आयोगमा त्यसको जानकारी गराइएको छ । 

नेताहरूबीच भएको सहमतिअनुसार नवगठित पार्टीको पहिलो मर्यादामा महन्थ ठाकुर, दोस्रोमा उपेन्द्र यादव, तेस्रोमा अशोक राई, चौथोमा बाबुराम भट्टराई र पाँचौमा राजेन्द्र महतो रहेका छन् । ठाकुर र यादवलाई केन्द्रीय कार्यसमितिको अध्यक्षको जिम्मेवारी दिइएको छ भने राई, भट्टराई र महतो पदाधिकारी भएका छन् ।

पार्टीको विधानमा ५३ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ तर आयोगमा ५१ जना नेताको नाम बुझाइएको छ । अरू दुई जनाको नाम बुझाउन बाँकी नै छ । ५१ सदस्यीय केन्द्रीय समितिमा २४ जना तत्कालीन राष्ट्रिय जनता पार्टी र २२ जना तत्कालीन समाजवादी पार्टीबाट प्रतिनिधित्व गरेका छन् । र पाँच जना पदाधिकारी छन् ।

नवगठित पार्टीका वरिष्ठ नेता महतोले जनता समाजवादी पार्टीले जनजातिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै भने, ‘एकीकृत पार्टीको मर्यादामा हामीले प्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईभन्दा अगाडि अशोक राईको नाम राखेका छौं । यसबाट जनजातिलाई कति महŒव दिएका छौं भन्ने थाहा हुन्छ ।’

भट्टराईको सहमतिबाटै मर्यादामा राईभन्दा पछाडि बाबुरामको नाम राखिएको महतोले बताए । ‘यो सबै सहमतिबाट भएको हो । सुरुदेखि नै मैले जनजातिलाई प्राथमिकतामा राखौं भन्दै आएको थिएँ,’ उनले भने । केन्द्रीय समितिमा नअटाएका अन्य नेताहरूको व्यवस्थापनका बारेमा पछि छलफल गरेर टुंगो लगाउने उनले जनाए । यसैगरी संघीय परिषद् निर्माण गर्ने या नगर्ने विषयमा पछि छलफल हुने उनको भनाइ थियो । 

जनता समाजवादीका नेता मनिष सुमनले नवगठित पार्टीमा महतो र बाबुरामले ठूलो त्याग गरेको बताए । उनले भने, ‘यो भनेको महतो र भट्टराईजीले गर्नुभएको ठूलो त्याग हो ।’ आइतबार बिहानसम्म अध्यक्षमा ठाकुर र यादवलाई राख्ने तथा भट्टराईलाई संघीय परिषद्को अध्यक्षको जिम्मेवारी दिने सहमति भएको थियो । आयोगमा बुझाइएको डकुमेन्टमा दोस्रो स्थानमा राखिएको बाबुराम भट्टराईको नाम र संघीय परिषद् अध्यक्ष शब्द टिपेक्स लगाई मेटाइएको छ । र चौथौ स्थानमा महतोको नामअघि कलमले भट्टराईको नाम लेखिएको छ । यो सबै सहमतिबाट भएको नेताहरूले जनाएका छन् । आयोगमा भट्टराईलगायत पार्टीका सबै शीर्ष नेताहरू पुगेका थिए । 

तर भट्टराईनिकट स्रोतले भन्यो, ‘आइतबार आयोगमा दस्तावेज बुझाउने अन्तिम समय थियो । मर्यादा मिलाउँदा–मिलाउँदै समय गुज्रिन थाल्यो । अन्तिम समयमा भट्टराईले ‘मेरो नाम जहाँ भए पनि राख्नुहोस् । यसमा मेरो सहमति हुन्छ भने ।’

राजपाका एक शीर्ष नेताका अनुसार भट्टराईलाई संघीय परिषद्को अध्यक्ष र महतोलाई संसदीय दलको नेताको जिम्मेवारी दिने आन्तरिक सहमति भएको छ । आइतबार आयोगमा डकुमेन्ट बुझाउँदा संघीय परिषद् र संसदीय दलको नेता भनी नाम नराखिएको मात्र हो ।

भट्टराईलाई संघीय परिषद्को अध्यक्षको जिम्मेवारी दिने सहमति भएको र भट्टराईको चाहना पनि सो जिम्मेवारी लिने रहेको भट्टराईनिकट अर्को स्रोतले दाबी ग¥यो । स्रोतले भन्यो, ‘नेताहरूको मर्यादा मिलाउन उहाँकै सहमतिमा उहाँको नाम चौथो स्थानमा राखिएको हो ।’

५१ सदस्यीय केन्द्रीय समितिमा राजपाबाट महेन्द्र यादव, शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल, विर्खेशचन्द्र लाल, गोविन्द चौधरी, विजयकुमार मिश्र, उमाकान्त चौधरी, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, मृगेन्द्रकुमार सिंह, नवलकिशोर साह, केशव झालगायत छन भने तत्कालीन समाजवादीबाट राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउतलगायत छन् ।

निर्वाचन आयोगमा डकुमेन्ट बुझाउने अन्तिम दिन आइतबार थियो । कानुनअनुसार आयोगमा पार्टी एकीकरणबारे निवेदन दिएको ४५ दिनभित्र आयोगले मागेका सबै दस्तावेजहरू बुझाउनुपर्ने हुन्छ । शनिबार ४५औं दिन थियो । तर शनिबार बिदा भएकाले आइतबार डकुमेन्ट बुझाउने अन्तिम दिन थियो ।

वैशाख १० गते मध्यरातमा तत्कालीन राजपा र समाजवादीबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन गर्ने सहमति भएको थियो । तर यस अवधिमा नेताहरूको व्यवस्थापन र मर्यादाको टुंगो लाग्न नसक्दा आयोगमा दस्तावेज बुझाउन समय लागेको थियो । आइतबार आयोगमा दस्तावेज बुझाउन जाँदा ठाकुर, यादव, महतोलगायत ठूलो संख्यामा पार्टीका नेता तथा कार्यकर्ता पुगेका थिए । नवगठित पार्टीका नेताहरूले आइतबार पार्टीको विधान, नियमावली, घोषणा–पत्रलगायत कागजातहरू पनि बुझाएका छन् । 

प्रकाशित: २६ जेष्ठ २०७७ ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App