१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आज उम्मेदवारी दर्ता

काठमाडौं – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ तथा प्रदेशसभा सदस्यका लागि बाग्लुङ, भक्तपुर र दाङमा उम्मेदवारी मनोनयन हुनेछ।

उम्मेदवारले बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित जिल्लाको सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराउनुपर्नेछ। मंसिर १४ मै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने कात्तिक २७ गते उम्मेदवारी दर्ता हुनेछ।

उपनिर्वाचन कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दिउँसो ३ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ। त्यस्तै शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, शनिबार उजुरीमाथि छानबिन गरी नामावली प्रकाशन गरिनेछ।

आइतबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। सोही दिन साँझ ५ बजेसम्म उम्मेवारको अन्तिम नामावली प्रकाशन गरिने छ। त्यसको भोलिपल्ट सोमबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मतदान मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने छ।

उपनिर्वाचनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले कुनै भयबिना मतदान गर्ने गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता ईश्वरी पौडेलले प्रदेश प्रमुखहरूको नियुक्ति निर्वाचन आचारसंहिताविपरीत नभएको बताए। ‘आचारसंहिताको कुनै पनि बुँदामा मन्त्रिपरिषद् र प्रदेश प्रमुखहरूको हेरफेर गर्न नहुने भनिएको छैन,’ उनले भने, ‘आचारसंहिताको कुनै बुँदामा प्रदेश प्रमुखको नियुक्ति गर्न नहुने नभएकाले यसबारे सरकारलाई निर्देशन दिन आवश्यक देखिएन।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले निर्वाचन आचारसंहिता मिचेर प्रदेश प्रमुख नियुक्त गरेको आरोप लगाउँदै आएको छ।

विभिन्न कारणले रिक्त भएका जनप्रतिनिधिहरू पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहका ४८ गरी कुल ५२ पदका लागि ३७ जिल्लामा उपनिर्वाचन हुँदैछ। आगोगले स्वीकृत गरेको अन्तिम मतदाता नामावली अनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाताले मतदान गर्न पाउने छन्। मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७६ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App