१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'विप्लवसँग वार्ता भइरहेको छ, छिट्टै शान्तिपूर्ण राजनीतिमा आउँछन्'

फाइल फाेटाे।

उदयपुर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालार्ई वार्ताद्वारा शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन्। उदयपुरमा बिहीबारदेखि सुरु नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेशको प्रथम महाधिवेशन तथा ‘श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजिवी पत्रकार र सञ्चार प्रतिष्ठानको समस्या’ विषययक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले विप्लव समूहलाई शान्तिपूर्ण मुलधारमा ल्याउन संघीय र प्रदेश सरकार लागिरहेको खुलासा पनि गरे। वार्ताको प्रयास जारी भएकोले विप्लव समूह छिट्टै नै शान्तिपूर्ण राजनीतिमा आउने पनि उनले दाबी गरे।

‘विप्लव समूह छिट्टै राजनीतिक मूलधारमा आउनुपर्छ, म उहाँलाई वार्ताद्वारा शान्तिपूर्ण राजनीतिमा लाग्न पटक पटक आव्हान गर्दै आएको छु अहिले पनि गर्छु।’ उनले संघीय सरकारले वार्ता टोली बनाएर विप्लव समूहसँग वार्ता गरिरहेको बताउँदै उनले हरेक समस्याको समाधान निकाल्न वार्ता र छलफल नै उत्तम उपाय भएको बताए। बम, बारुद र तोडफोडबाट होइन, वार्ताबाट मात्र शान्ति र विकास संभव हुने र त्यसले मात्र देशमा समृद्धि प्राप्त हुने राईले बताए।

‘हामीले लामो समय सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन, आदिवासी जनजाती अधिकार र मधेसी तथा महिला अधिकारका आन्दोलन ग-यौं’ राईले भने ‘अब नयाँ संविधानले सबै असन्तुष्टिहरुको सम्बोधन गरिसकेको छ, खाली कार्यान्वयन गर्न मात्र बाँकी छ। अव आन्दोलन होइन, संविधान कार्यान्वयन गरेर अधिकार उपभोग गरौं।’

उनले अब अधिकार पाउनकै लागि नेपालमा कसैले पनि आन्दोलन गरिराख्नु नपर्ने बताए। मुलुकमा लामो समयसम्म धेरैखाले आन्दोलनहरु भइसकेको र त्यसबाट संविधान, गणतन्त्र र संघीयता प्राप्त भएको भन्दै उनले नयाँ संविधानले धेरै अधिकारको सुनिश्चितता गरिसकेकाले त्यसको कार्यान्वयन गरेर उपभोग गर्नुपर्नेमा जोड दिए।

स्वतन्त्र मधेसको नारा लगाउदै लामो समयदेखि आन्दोलनरत सिके राउत समूह राजनीतिक मुलधारमा आइसकेको भन्दै मुख्यमन्त्री राईले विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताए।
लोकसेवाको विज्ञापनविरुद्ध भइरहेको आदिवासी जनजातीको आन्दोलनलाई पनि छलफल र सहमतिबाटै निकास दिइनुपर्ने उनले बताए। संविधानले सबैखाले असन्तुष्टिहरुलाई सम्बोधन गरिसकेको भए पनि कार्यान्वयन हुन नसक्दा यस्तो आन्दोलनको जन्म भएको उनको बुझाई छ। आदिवासी जनजाती, दलित, उत्पीडित, मधेसी, पिछडा वर्ग सबैको अधिकार संविधानमा लिपिबद्ध भइसकेकाले आन्दोलन होइन, कार्यान्वयन गर्नेतर्फ सबै सचेत हुनुपर्ने उनको भनाई थियो।

संघीयता र गणतन्त्र नेपालको माटो सुहाउँदो व्यवस्था भएको भन्दै यसबाट मात्र नेपाललाई समृद्ध र विकसित गर्न सकिने उनको भनाइ थियो। तर, अहिले पनि केही परिवर्तनविरोधी तत्वहरुले संघीयता र गणतन्त्रविरुद्ध बन्द कोठाभित्र बसेर षडयन्त्रको तानाबाना बुनिरहेको भन्दै राईले तर, त्यस्ता तत्व आफै परास्त हुने विश्वास व्यक्त गरे। ‘मुलुकमा माटो सुहाउदो व्यवस्था आएको छ, स्थानीयतह, प्रदेश र संघीय सरकारमार्फत देशलाई समृद्धिको लोकमार्गमा दौडाउनुछ’ उनले भने ‘परिवर्तन देख्न नचाहने तत्वहरु बन्दकोठामा बसेर संघीयता र गणतन्त्रविरुद्ध षडयन्त्र गरिरहेका छन्। तर, उनीहरुको षडयन्त्र सफल हुनेवाला छैन।’ उनले परिविर्तनकामी जनताले त्यस्ता तत्वलाई बेलैमा चिनेर परास्त गर्न पनि आव्हान गरे।

संघीयता र गणतन्त्र ल्याउनमा पत्रकारिता जगतको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले प्रदेश सरकार पत्रकारिता जगतको सम्मान गर्न र सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताए। फोनिजमा आवद्ध पत्रकारहरुलाई व्यवसायिक र गुणस्तरीयतातर्फ ध्यान दिन सुझाए। अहिले देशमा सकारात्मक पत्रकारिताको आवश्यक्ता औंल्याउँदै मुख्यमन्त्री राईले सकारात्मक विषयमा कलम चलाउन पत्रकार जगतलाई आव्हान गरे।

‘जातीय पहिचान र संविधान कार्यान्वयनका लागि पूर्ण समावेशी सञ्चार, नेपाल आदिवासी जनजाती महासंघ (फोनिज) १ नं. प्रदेशको ऐतिहासिक प्रथम महाधिवेशन’ भन्ने नाराका साथ त्रियुगा नगरपालिका ९ रावाबासमा सुरु महाधिवेशनले आदिवासी जनजाति पत्रकारहरुको हक अधिकार र रक्षाका लागि मार्ग निर्देश गर्ने प्रदेश प्रमुख दिपीन राईले बताए। शुक्रबारसम्म चल्ने महाधिवेशनले नयाँ प्रदेश कमिटी गठन पनि गर्नेछ।


लिमचुङबुङ गाउँपालिका अध्यक्ष मेजर राईलाई सम्मान गर्दै मुख्यमन्त्री शेरधन राई। तस्विरः महेश्वर

प्रकाशित: ३१ श्रावण २०७६ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App