१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अभियानमा गुटको लफडा

बनेपा - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरण भन्दै ७७ वटै जिल्लामा जागरण अभियान सञ्चालन गरेको दुई साता पुगेको छ। अभियानका क्रममा पार्टीलाई गुटले समस्या बनाएको भन्दै अब पार्टीमा गुट अन्त्य हुनुपर्ने कुरा उठे पनि कतिपय जिल्लामा समस्या टड्कारो देखिएको छ। अभियानकै सुरुको दिन अर्थात् वैशाख २५ मा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा दुई गुटबीच भाषणका क्रममा आरोप–प्रत्यारोप भयो। त्यसपछि विवाद उत्पन्न हुँदा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच हात हालाहालसम्मको अवस्था आयो। घटनामा केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भए।

विवाद भएपछि केन्द्रीय प्रतिनिधिका रूपमा सिन्धुपाल्चोक खटिएका केन्द्रीय सदस्य अम्बिका बस्नेतले विवाद साम्य बनाउने प्रयास असफल भएपछि कार्यकर्ता कुटपिटमा समेत उत्रिए। पार्टीमा गुट समाप्ति गर्दै सुदृढीकरण गराउने ‘म्याण्डेट’ लिएर आएका प्रतिनिधि बस्नेत समस्या बोकेरै राजधानी फर्कन बाध्य भए। सिन्धुपाल्चोकलगायत केही जिल्लामा अभियान थालनीकै दिन गुट–उपगुटको विवाद बढेपछि त्यसको भोलिपल्टै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै त्यसको बचाउ गर्दै लेखे, ‘कार्यक्रमको स्वरूपबारे कतिपय जिल्लामा साथीबीच, केही ठाउँमा सञ्चारकर्मी एवं सामाजिक सञ्जाल प्रयोगकर्तामाझ पनि देखिएका केही अस्पष्टता हामी क्रमशः प्रष्ट्याउँदै जानेछौं,’ उनले थपे।

लोकतान्त्रिक चरित्रको पार्टीले ‘नवीन स्वरूपको व्यवस्थित कार्यक्रम’को नाममा केन्द्रबाट सीमित नेतालाई मात्रै भनाइ राख्ने अवसर दिएको भन्दै कतिपय जिल्लामा आलोचना भयो। प्रदेश नम्बर ३ का अधिकांश जिल्लामा केन्द्रीय प्रतिनिधि बनेर पुगेका नेताले गुट उपगुटमा नलागी सिंगो पार्टीमा समाहित रहेर काम गर्नू भनी निर्देशनसमेत दिए। तर, गुट उपगुटको अन्त्य कसरी हुने भन्नेमा उनीहरूले कुनै रचनात्मक उपाय प्रस्तुत गरेनन्। केन्द्रमा मात्रै देखिएको गुट उपगुट जागरण अभियानका क्रममा जिल्ला तहमा पनि देखियो।

‘गुटबन्दी अन्त्य गर्ने भनेर उहाँहरूले भन्दै आउनु भएको कुरा नै हास्यास्पद लाग्छ। केन्द्रमै गुटबन्दी छ, त्यहाँ नसुध्रिएसम्म फिल्ड तहमा सुध्रिने कल्पना गर्नै सकिन्न। यो अभियानलाई आगामी महाधिवेशनको प्रचारका रूपमा समेत प्रयोग भएको पाएको छु,’ केन्द्रीय प्रशिक्षण विभागका पूर्वसदस्य इन्द्रनारायण भैलले भने। जागरण अभियानअघिकै स्थितिमा पार्टीको संगठनात्मक अवस्था कस्तो थियो र अभियानपछिको पार्टीको आशातीत उपलब्धि के–के हुने भन्ने उद्देश्य नै नरहेको कार्यक्रमका रूपमा अहिलेको अभियान भएको उनको टिप्पणी छ। काभ्रे काग्रेसमा समेत कार्यकर्तातहसम्मै गुट उपगुट भएको दृष्टान्त दिँदै उनले भने, ‘यहाँ कृष्णप्रसाद सिटौला आउँदा उहाँका गुटका मान्छेमात्रै जाने, रामचन्द्र पौडेल आउँदा उहाँका मान्छे मात्रै र देउवा आउँदासमेत उहाँकै मान्छे जान्छन्। भनाइ र गराइमा धेरै फरक छ। जागरण अभियानले समग्र कार्यकर्ताको मन छुन सकेको छैन, यो ‘फर्मालिटी’ पूरा गरेको मात्रै हो। संगठन सुदृढीकरणमा योगदान हुने हिसाबले अभियानको ‘डिजाइन’ हुनुपर्ने थियो,’ उनले थपे।

काभ्रे कांग्रेसका सभापति मधु आचार्यले केन्द्रीय प्रतिनिधि डा. शेखर कोइरालाको उपस्थितिमा जागरण अभियान सुरु भएको र उनकै उपस्थितिमा जिल्ला समिति तथा भ्रातृ संगठनका जिल्ला अध्यक्षको बैठकबाट आगामी कार्यक्रम निर्धारण भएकाले गुटबन्दी नरहेको बताए, ‘जेठ ११ देखि जिल्लाका १३ वटै तहमा अभियान लैजाने निर्णय भएको छ। सबैतिरको रोग बनेको आसन ग्रहण र क–कसले भाषण गर्र्ने, कसरी कार्यक्रम व्यवस्थित गर्ने भनि मापदण्ड निर्धारणका लागि उपाध्यक्ष अच्युप्रसाद पौडेलको संयोजकत्वमा बनेको समितिको प्रतिवेदन स्वीकृत गरेका छौं,’ उनले थपे। जागरण अभियानमा सँगसँगै हिँडेका लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य एवं काभ्रेबाट प्रतिनिधिसभा–१, प्रदेशसभा–२ मा पार्टीबाट उम्मेदवार बनेका गणेश लामा पनि फोरम पार्टी कांगे्रसमा एकीकरणपश्चात केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारबाहेक केन्द्र, जिल्ला र वडातहसम्म एकीकरण हुन नसकेकोमा चिन्ता व्यक्त गर्छन्। ‘जागरण अभियानकै क्रममा तत्कालीन लोकतान्त्रिक फोरमका सबै तहलाई एकीकरण गर्न सकेको भएमा राम्रो सन्देश जाने थियो। यो चरणमा सम्भव नभएको खण्डमा दोस्रो या तेस्रो चरणमा एकीकरणको काम सम्पन्न गर्नुपर्छ,’ उनले थपे।

प्रकाशित: १२ जेष्ठ २०७६ ००:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App