१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गगन थापाको नजरमा छाया सरकार, शिक्षा मन्त्रालय हाँक्न ल्याए ३ कार्ययाेजना ? (भिडियो)

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले छाया सरकार नौलो अभ्यास नभएको बताएका छन्। पार्टीको संसदीय दलले सोमबार छाया सरकार गठन गरेर शिक्षा मन्त्रालयको समन्वय समितिको जिम्मेवारी दिएका बेला मंगलबार नागरिक न्यूजसँग कुरा गर्दै नेता थापाले संसदीय प्रजातन्त्र भएको मुलुकमा छाया सरकारको अभ्यास हुँदै आएको बताए।

नेपालमा कांग्रेसले २०६४ सालको संविधानसभापछि अभ्यास गरेको उनको भनाई थियो। ‘म त्यो बेलामा प्राकृतिक साधन समितिमा थिए। त्यो असफल भयो। व्यक्तिलाई जिम्मा नतोकेर समूहलाई दिँदा विवादित भयो। बैठक नबस्ने तथा अन्य गतिविधि पनि भएन’, उनले भने। 

अहिले पनि व्यक्तिलाई जिम्मा नदिएर समूह बनाइएकोमा उनले असहमति जनाए। ‘कुनै पनि व्यक्तिलाई स्याडो मिनिस्टरको जिम्मा नदिएर ३ जनाको समूहमा जिम्मा दिएपछि कसरी चलाउने?’ उनले प्रश्न गरे, ‘कार्यविधि बनाउनुपर्यो। दलको नेताले के अपेक्षा गर्छ? कार्यविधिका आधारमा यो परिणाम चाहिएको छ भन्नुपर्यो।’ 

आफूलाई शिक्षा मन्त्रालयको जिम्मा तोकिएको भन्दै थापाले तीन वटा कार्ययोजना सुनाएः 

१) शिक्षा मन्त्रालयले जति पनि विधेयक ल्याउँछ, तिनलाई निर्माणको बेलादेखि संसदमा पुग्ने बेलासम्म नजिकबाट हेर्ने, अन्तरवस्तु बुझ्ने र विधेयकमा पार्टीको लिड बढाउने र संसदभित्र डिभेटको क्वालिटी बढाउने। सूचना, जानकारीलाई बढाउने।

२) संसदभन्दा बाहिर शिक्षा मन्त्रालयले गर्ने कामहरुको अनुगमन गर्ने। नीति तथा कार्यक्रम र बजेटमा भनेअनुसार परिणाम दियो कि दिएन? नीतिअनुसार काम गर्यो कि गरेन? संसदले दिएको निर्देशनलाई पालना गर्यो कि गरेन? भन्ने हेर्ने काम गर्छाैं। जसले गर्दा शिक्षा मन्त्रालयलाई सकारात्मक दबाब दिने काम हुन्छ। जसबाट जिम्मेवार र उत्तरदायी बनाउने। ‘पहिला के हुन्थ्यो भने मैले विधेयकमा जे लगे पनि संसदमा जान्छ। एउटा सांसदले असहमति राख्छ, म त्यसलाई इग्नोर गर्नसक्छु भन्ने थियो। अब एउटा सांसदको समूह छ। निरन्तर निगरानी गरिरहेको छ भन्ने भएपछि ठूलो दबाब हुन्छ। यो भन्दै गर्दा हामीले सबै कुरामा प्रश्न उठाउने, विरोध गर्ने होइन। सकारात्मक कुरामा सहकार्य गरेर अगाडि बढ्न सक्छौं।’ 

३) जनतालाई निरन्तररुपमा वैकल्पिक सरकारको रुपमा आभास गराउने। कुनै नीति बनाउँदा यो सरकारको ठाउँमा अर्काे सरकार भएको भए के गर्थ्यो त? हामीले आफ्नो वैकल्पिक नीति तथा कार्यक्रम भन्ने पनि हो र भोलिको दिनमा के गर्छाैं भन्ने आभास दिलाउन खोजेका हौं। भोलिका निम्ति तयारी गर्ने प्रयास रहने छ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App