१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठकद्वारा १० निर्णय सार्वजनिक

फाइल तस्बिर

सुर्खेत - कर्णाली प्रदेश सरकारको वैशाख २४ गतेकाे मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् साेमबार बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गरिन्।

बैठकले गरेका निर्णय परिपक्व बनाउन खोजिएकाले सार्वजनिक गर्न ढिलाइ भएको मन्त्री केसीले बताइन्। उनका अनुसार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशसभाको चौथो बैठक आगामी जेठ १० गते दिउँसो ३ बजे आह्वान गर्न कर्णाली प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ। 

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको आमसञ्चार तथा सूचना प्रविधिसम्बन्धी विधेयक तर्जुका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेको रसायन तथा रासायनिक विषादी नियन्त्रण विधेयक–२०७६, पशु बधशाला तथा मासु जाँच विधेयक–२०७६ र माटो तथा मल व्यवस्थापन विधेयक–२०७६ तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन्।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा प्रस्तावित द्वन्द्वपीडित राहत तथा उपचारसम्बन्धी कार्यविधि २०७५, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा प्रस्तावित कर्णाली प्रदेश पर्यटन बोर्ड गठनादेश २०७६ र आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा प्रस्तावित कर्णाली पूर्वाधार विकास प्राधिकरण गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा थप छलफलका लागि प्रदेश मन्त्रिपरिषद् प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय गरेको जनाइएको छ । 

त्यस्तै, कर्णाली प्रदेशका सबै जिल्लाको शान्ति सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न प्रमुख सचिवको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेश प्रहरी प्रमुख सदस्य रहेको समिति गठन गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको मन्त्री केसीले बताइन्। 

उनका अनुसार बैठकले डोल्पाकाे जगदुल्ला गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने सम्बन्धमा सो गाउँपालिकाको केन्द्र साविक वडा नं २ स्थित काइगाउँबाट वडा नं ५ स्थित माझगाउँ भन्ने स्थान तोक्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्ने अन्तिम निर्णय गरिएको छ।  रासस

प्रकाशित: ३० वैशाख २०७६ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App