१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राजपामा अध्यक्षमण्डल खारेज गर्न माग

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालमा अध्यक्षमण्डल खारेज गर्न माग उठेको छ। पार्टी पदाधिकारीको मंगलबार बसेको बैठकमा बोल्ने अधिकांशले अध्यक्षमण्डल खारेज गर्न माग गरेका हुन्।

बैठकमा वरिष्ठ नेता, सहअध्यक्ष र उपाध्यक्षहरूले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा नेताहरूद्वारा व्यक्त भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजपामा अध्यक्षमण्डलको प्रयोग असफल भएको छ। अध्यक्षमण्डलले पार्टीलाई प्राभावकारी रूपमा अघि बढाउन सकेन। त्यसैले अध्यक्षमण्डल खारेज गरी एकल नेतृत्वमा पार्टी जानुपर्छ।’

बैठकमा बृषेशचन्द्र लाल, लक्ष्मणलाल कर्ण, नरसिंह चौधरी, गौविन्द चौधरी, मालामती रानाथारू, सर्बेन्द्रनाथ शुक्ललगायतले बोलेका थिए। उनीहरूले महन्थ ठाकुरको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समिति मात्र कायम राखी पार्टीका अरू सबै समिति विघटन गर्नुपर्ने प्रस्ताव राखेका छन्।
महासचिव राजिव झाले बैठकमा बोल्ने पदाधिकारीमध्ये अधिकांशले अध्यक्षमण्डल खारेज गर्नुपर्ने धारणा राखेको बताउँदै भने, ‘अध्यक्षमण्डल खारेज गर्नुपर्छ भन्ने पक्षमा अध्यक्षमण्डलका संयोजकज्यू नै देखिनुभएको छ।’

बैठक बुधबार पनि बस्ने छ। झाका अनुसार बुधबार महासचिवहरूले बोल्ने कार्यक्रम तय गरिएको छ। आइतबारदेखि सुरु पदाधिकारी बैठकमा सोमबार अध्यक्षमण्डलका सदस्यले मात्र बोलेका थिए।

वैशाख ७ देखि ८ सम्म तोकिएको महाधिवेशन स्थगित भएपछि पार्टीभित्र विवाद उत्पन्न्न भएको छ। २०७४ वैशाख ७ गते तत्कालीन तराइ–मधेसकेन्द्रित ६ राजनीतिक दलबीच एकीकरण भई राजपा गठन गरिएको थियो। पार्टी गठन हुँदा एक वर्षभित्र महाधिवेशन गर्ने प्रतिबद्धता जनाइएको थियो। एक वर्षभित्र महाधिवेशन हुन नसकेपछि राजपाका नेताहरूले विधान संशोधन गरी दुई वर्षभित्र गर्ने जनाएका थिए। वैशाख ७ गते राजपा गठन भएको दुइ वर्ष पूरा भइसकेको छ। कानुनी रूपमा राजपा पार्टी गठन भएको दुई वर्ष वैशाख १७ मा पुग्दै छ।

प्रकाशित: ११ वैशाख २०७६ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App