१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विप्लवका खोटाङ जिल्ला सदस्य पक्राउ

खोटाङ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य पक्राउ परेका छन्। नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्य तथा आर्थिक विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका खत्रीलाई हलेसी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। पक्राउ परेका खत्रीलाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। उनलाई डिकुवाकै एक स्थानीयको मोटरबाइकमा लिफ्ट मागेर हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। 

यसअघि, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका थिए। सार्वजनिक मुद्दामा तारिख खेपिरहेका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका तुलबहादुर मगर र ऋषिराम बिकले चैत २७ गते प्रजिअ र सुरक्षा निकायका प्रमुखका अगाडि विज्ञाप्ति प्रकाशित गरी पार्टी छाडेको बताएका थिए। 

त्यस्तै  विप्लव नेतृत्वकाे नेकपाकै गाेरखा जिल्ला सदस्य अन्जु कुमाललाई पनि प्रहरीले समातेकाे छ। सोमबार दिउँसो गोरखा नगरपालिका ८ आयुर्वेद चोकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भोला रावलले बताए। कुमाल विप्लवनिकट महिला संघको केन्द्रीय सदस्यसमेत हुन्। 

 
 

प्रकाशित: २ वैशाख २०७६ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App