१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपाका नेतालाई चिनियाँ दीक्षा

बेइजिङ - चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहना राखेको छ। नेपालका अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सूत्रमा बाध्न चिनियाँ नेताले नेकपालाई सुझाएका छन्। चीन भ्रमणमा रहेका नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई चिनियाँ नेताले यस्तो सुझाव दिएका हुन्।

‘नेपालमा एउटै दलले बहुमत ल्याएर सरकार बनाएको र राजनीतिक स्थिरता आएकोमा चिनियाँ नेताले सन्तुष्टि व्यक्त गरेका छन्’, गुरुङले बेइजिङमा नागरिकसँग भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीका नेताले नेकपासँग अझै सुदृढ सम्बन्ध राखेर अगाडि बढ्न चाहेको बताएका छन्।’ भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालन विधि र उत्पादन कार्यमा पार्टीका स्थानीय कमिटीहरुको संलग्नता गजबको रहेको आफूले पाएको जानकारी दिँदै गुरुङले यसबाट नेपालले पनि फाइदा लिन सक्ने बताए। ‘नेपालले भरखरै संक्रमणकाल पार गरेकाले हाम्रा लागि यस प्रकारको सिकाइ महत्वपूर्ण रहन्छ’, गुरुङले भने, ‘यस प्रकारका सिकाइ आदानप्रदान भविष्यमा अझै बढाउनुपर्छ जस्तो लागेको छ।’

चिनियाँ कम्युनिस्ट पार्टीले तल्ला निकाय प्रान्त, नगर, काउन्टी तथा प्रिफेक्चर तहमा नेपाली नेतालाई लगेर पार्टी सञ्चालन विधि, जनताको मन जित्ने तरिका, उत्पादन प्रक्रियामा समन्वय, सैद्धान्तिक पक्ष, स्कुल विभागलगायत विषयमा अनौपचारिक प्रशिक्षण दिएको छ। बेइजिङमा पनि चिनियाँ नेताहरूले पार्टी सञ्चालन, उत्पादनलगायत विषयमा व्याख्या र छलफल गरेको गुरुङले बताए।

गुरुङको नेतृत्वमा नेकपाका १५ नेताले भन्डै एक साता चीन भ्रमणका क्रममा पार्टी सञ्चालन, उत्पादनमा पार्टीको समन्वयलगायत विषयमा जानकारी लिएका हुन्। गुरुङको नेतृत्वमा नेकपा केन्द्रीय सदस्यत्रय रेखा शर्मा, यशोदा सुवेदी र भीम कार्की तथा अन्य विभिन्न तहका नेताहरू गोविन्दप्रसाद कलाउनी, बलराम अधिकारी, कुन्दन कुसुवाह, झपेन्द्र जिसी, डम्बरबहादुर सिंह, श्यामकुमार घिमिरे, सीता न्यौपाने, नेत्र पौडेल, खड्ग राई, मीना शोव र सीता गुरुङले साताव्यापी चीन भ्रमण गरेका हुन्। चैत १३ गते नेपालबाट उडेका उनीहरू चीनको क्वाङ्सी प्रान्त भ्रमण गरी बेइजिङ आएर विभिन्न भेटघाटमा सहभागी भए।
चीन भ्रमणको मुख्य उद्देश्य अनुभव आदानप्रदान गर्नु रहेको जानकारी गुरुङले दिए। पार्टी सञ्चालन विधि र पार्टी स्कुलअन्तर्गत अध्ययन तथा अनुसन्धान प्रक्रियाको जानकारी गराउन चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले उनीहरुलाई निमन्त्रणा गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टीले तल्ला निकायदेखि नै उत्पादन कार्यलाई प्रणालीगत रुपमा लागु गरेको र त्यसले पार्टीलाई जनतासँग घनिष्ट सम्बन्ध कायम गर्न सहयोग गरेको कुरा आफूले प्रत्यक्ष देखेको गुरुङले बताए। गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलले सुरुमा क्वाङ्सी च्वाङ स्वायत्त प्रदेशको सदरमुकाम नानिङको अवलोकन भ्रमण गरेको थियो। त्यसपछि त्यही प्रान्तको लु चाउ सहरको भ्रमण गरी पार्टी कमिटीलाई उत्पादन प्रक्रियामा कसरी जोड्ने भन्ने विषयमा नेपाली नेताले जानकारी लिएका थिए। चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय कमिटीहरू कृषि तथा औद्योगिक उत्पादनमा संलग्न हुँदा पार्टी सदस्यलाई पनि उत्पादनमा लाग्न प्रोत्साहन मिलेको गुरुङले बताए। चीन भ्रमण गरी गुरुङको टोली नेपाल फर्किसकेको छ।

प्रकाशित: २५ चैत्र २०७५ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App