१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेविसंघको तदर्थ समिति गठन गर्न तात्यो कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका लागि पार्टीले पहल थालेको छ। दुई वर्षे कार्यकाल र थपिएको पाँच महिना सकिँदा पनि महाधिवेशन गर्न नसकेपछि दुई महिनाअघि अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ खाली रहेको थियो। तत्काल महाधिवेशनका काम थाल्नका लागि विद्यार्थी नेताहरुले तत्काल तदर्थ समितिको माग गरेका थिए। तर पार्टीले अहिलेसम्म तदर्थ समिति गठन गर्न सकेको थिएन।

महरको राजीनामा सँगै पार्टीको केन्द्रीय समिति बैठकले शीर्ष नेतासँग परामर्श गरेर तदर्थ समिति गठन गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिइसकेको छ। सभापति देउवाले तदर्थ समिति तत्काल गठन गर्ने भन्दै विद्यार्थी नेतामाझ पहल थाल्न पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता एनपी साउदलाई जिम्मेवारी दिएका छन्।

तदर्थ समिति गठनको पहल स्वरूप महत र साउदले शुक्रबार पार्टी कार्यालय सानेपामा नेविसंघका निवर्तमान पदाधिकारीसँग छलफल गरे। उनीहरुले तत्काल नेविसंघ तदर्थ समिति गठन थाल्ने भन्दै सुझाव दिन विद्यार्थी नेताहरुलाई आग्रह गरे। तर छलफलमा सहभागी विद्यार्थी नेताहरु भने गुटगत रूपमा विभाजित देखिन्थे।

पार्टीमा तेस्रो धारको दाबी गर्दै आएका नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताहरुले भने विधानअनुसार तदर्थ समिति गठन नभए समानन्तर समिति आउने चेतावी दिएका थिए भने संस्थापन समूहका विद्यार्थी नेताहरुले सबैलाई समेट्ने समिति ल्याउनुपर्ने बताएका थिए। पार्टी संस्थापन समूहका नेता भने विद्यार्थीलाई फकाएर चाँडै तदर्थ समिति गठन गर्ने तयारीमा जुटेको बताइएको छ।

‘विधान कार्यन्वयन गरेर ३२ वर्ष तलको समिति ल्याउनुपर्छ’, तेस्रो धारका विद्यार्थी नेता कुन्दनराज काफ्लेले भने, ‘विधान विपरीतको समिति हामीलाई मान्य हुँदैन। यदि त्यस्तो भए समानान्तर समिति ल्याउँछौं।’ विधानको डन्डा देखाएर आफूअनुकुलको समिति ल्याउन लागेको यो समूहको आरोप छ। यो समूहले नेविसंघ किन विघटन गरियो भन्ने प्रस्ट्याइनुपर्ने र त्यसपछि मात्रै तदर्थ समिमित गठन गर्नुपर्ने माग अघि सारेको छ।

संस्थापन समूहका विद्यार्थी नेताले भने सबैको स्वामित्व हुने गरि समिति ल्याउनुपर्ने धारणा थियो। ‘यो छलफल नेवि संघको तदर्थ समिति गठनको पूर्वाभ्यास हो। छलफलमा नेविसंघ कसरी बनाउने भन्ने छलफल भयो। हाम्रो धारण ३२ मुनिमाथि भन्दा पनि सबैको समित्व हुने र समयमा महाधिवेशन गर्न सक्ने समिति ल्याउनुपर्‍यो भन्ने हो’, संस्थापन समूहका विद्यार्थी नेता सरोज थापाले भने, ‘त्यसमा कसले पद पाउँछ/पाउँदैन भन्दा पनि नेविसंघलाई कस्तो बनाउँछ भन्नेमा भर पर्छ।’

बैठकमा पार्टी सहमहामन्त्री डा. महतले सबैसँग छलफल गरेर तदर्थ समिति गठन गरिने बताए। ३२ मुनिको ल्याए पनि र त्यसमाथिको तदर्थ समिति ल्याए पनि विधानले फरक नपार्ने बताएका थिए।

केन्द्रीय सदस्य साउदले भने पार्टीभित्र तदर्थ समितिलाई एक वर्षको म्याद दिनेबारे छलफल भइरहेको बताएको बैठकमा सहभागी विद्यार्थी नेता थापाले बताए। एक वर्ष म्याद भएको समितिले मात्रै महाधिवेशन गर्नसक्ने साउदको तर्क थियो।

प्रकाशित: २२ चैत्र २०७५ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App