१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'बालगुरु आदित्य विज्ञानलाई चुनौती'

फाइल तस्बिर

काठमाडौं - नेपाल मेडिसिटी अस्पतालले बुधकार एक कार्यक्रमबीच नेसनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर्स (एनएबिएच) को मान्यता पाएको प्रमाणपत्र प्राप्त गर्दै थियो।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए भने मञ्चमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, बालगुरु आदित्य, एनबएबिएचका सिइओ डा. हरिस नडकर्नी तथा अस्पताल सञ्चालक उपेन्द्र महतो थिए। कार्यक्रम सुरु हुनुभन्दा पहिले बालगुरुले शुभकामना दिने कार्यक्रम थियो। मञ्चबाट उद्घोषिकाले शुभकामनाका लागि आग्रह गरेपछि आदित्यले आमाको सहायताले कापीको पानामा केही लेखे। अस्पताललाई उनको सन्देश थियो– पैसाभन्दा बिरामीको जीवन बचाउन ध्यान दिनु।

बालगुरुले शुभकामना दिएलगत्तै सञ्चालक महतोले आफ्ना भनाइ राखे। त्यसपछि बोल्ने पालो आयो प्रधानमन्त्रीको। मन्तव्य राख्ने क्रममा प्रधानमन्त्री ओलीले आदित्यको क्षमताको प्रशंसा मात्र गरेनन्, उनको क्षमताका बारेमा अध्ययन गर्न डाक्टर र वैज्ञानिकहरुलाई आग्रह गरे। ज्ञान प्राप्तिका लागि स्रोत, गुरु र अभ्यासको आवश्यकता पर्ने भए पनि आदित्यले बिनास्रोत, बिनासाधना र बिनागुरु असिमित ज्ञान प्राप्त गरेकाले यो विज्ञानको खोजको विषय भएको ओलीले बताए।

बिग ब्यांङ थ्योरी, ब्ल्याक होलजस्ता काल्पनिक कुरा पत्ता लगाउन सहज भएको भन्दै प्रधानमन्त्री ओलीले आदित्यका बारेमा अध्ययन गर्न सजिलो नभएको बताए। अधिकांश समय आदित्यका बारेमा बोलेका प्रधानमन्त्रीले यो विषय विज्ञानलाई चुनौती दिने खालको भएको बताए। स्कुल नदेखेको, विश्वविद्यालय नदेखको र कसैले नपढाएको व्यक्ति जो शारीरिक रुपमा असक्त छन्, उनको ज्ञानको असिमितता आश्चर्यको विषय भएको ओलीले बताए। प्रधानमन्त्री ओलीले आदित्यमा जेनेटिक मेमोरीको कारण यस्तो भएको हुनसक्ने बताए। उनले आफूले पढेको संस्कृत र अंग्रेजीभन्दा आदित्यको अंग्रेजी र संस्कृत राम्रो भएको बताए। यसको रहस्य पत्ता लगाउन उनले वैज्ञानिकसँग आग्रह गरे।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मेडिसिटीले प्राप्त गरेको मान्यताले नेपालको स्वास्थ्य सेवा अन्तर्राष्ट्रिय स्तरको भएको पुष्टि गरेको बताए। उनले शिक्षा र स्वास्थ्यमा नेपाललाई अन्तर्राष्ट्रिय हब बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले नेपालको हावापानी पनि स्वच्छ भएको बताउँदै यहाँको हावापानी जडीबुटी र हिमालसँग ठोक्किएको प्रसोधित औषधिमय रहेकाले स्वास्थ्य सेवाका हिसाबले नेपाल अनुकूल रहेको बताए। प्रधानमन्त्री ओलीले समृद्धिले मात्र सुख प्राप्त हुन नसक्ने भन्दै त्यसका लागि सम्मानित, सुरक्षित स्वस्थ जीवन आवश्यक रहेको बताए। उनले नेपालले राजनीतिक उपलब्धि प्राप्त गरिसकेको र अब समाजलाई सभ्य, सुसूचित र विकासको बाटोमा अघि बढाउन आवश्यक रहेको बताए। उनले नेपाल सार्वभौम र अधिकारसम्पन्न भए पनि अभाव भोगिरहेको भन्दै अब अभावको अन्त्य गर्दै समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै अस्पतालका सञ्चालक महतोले विदेशमा मेहनत गरेर कमाएको रकम उपचारका लागि विदेशमै पठाउन नपरोस् भनेर स्वदेशमै स्तरीय अस्पताल सञ्चालनमा ल्याएको बताए। उनले नेपालाई अन्तर्राष्ट्रिय स्वास्थ्य हब बनाउने लक्ष्य राखेको जानकारी पनि दिए। महतोले सरकारले अघिसारेका काममा गैरआवासीय नेपालीहरुले सक्रिय सहभागिता जनाउने बताए। कार्यक्रममा एनबएबिएचका सिइओ डा. हरिस नडकर्नीले एनबएबिएचको मान्यताप्राप्त गरेको प्रमाणपत्र सञ्चालक महतोलाई हस्तान्तरण गरेका थिए। नेपाल मेडिसिटी एनएबिएचको मान्यता पाउने पहिलो नेपाली अस्पताल हो।

प्रकाशित: १४ चैत्र २०७५ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App