१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'उपद्रो मच्चाइ राखे राज्य चुप लागेर बस्दैन'

नेकपा अध्यक्ष पुष्पकमल दाहाल हेलिकप्टर दुघर्टनामा परी ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारको परिवारसँग।

पोखरा - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विप्लवले उपद्रो मच्चाइ राखे राज्य चुप लागेर बस्न नसक्ने चेतावनी दिएका छन्। प्रेस संगठन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले विप्लव नेतृत्वको नेकपाले उपद्रो र विध्वंस मच्चाउने क्रम नरोके राज्य चुप लागेर नबस्ने चेतावनी दिएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष दाहाददे विप्लव नेतृत्वको नेकपाले द्वन्द्व नत्यागे देश र विप्लव नेतृत्वको नेकपाकै लागि पनि राम्रो नहुने बताउँदै उनले भने, ‘गणतन्त्र संस्थागत गर्ने र यसमार्फत समाजवादको आधार निर्माण गर्नुपर्ने बेलामा द्वन्द्व गर्दा कसैलाई पनि फाइदा हुँदैन, त्यो देशका लागि पनि र पार्टीका लागि पनि।’

अध्यक्ष दाहालले विप्लवले आफ्नो नक्कल गरिरहेको आरोप लगाउँदै यो पार लाग्ने विषय नभएको टिप्पणी गरे। विप्लवलाई विगतमा आफूले स्कुलिङ गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले २५ वर्ष अगाडि गरेको कुरालाई उहाँले अहिले नक्कल गर्न खोज्नुभएको छ, यो पार लाग्ने विषय होइन।’ २०५२ सालको जस्तो परिस्थिति अहिले नभएको बताउँदै उनले थपे, ‘त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदल भइसकेको छ, फेरि प्रचण्डले गरे जस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भनेर सोच्नु विलकुल मनोगत हुन्छ।’ उनले वर्तमान वामपन्थी सरकार सामाजिक न्याय र समाजवादतर्फ नै अग्रसर हुन प्रतिबद्ध भएकाले वार्ता गरेर मूलधारको राजनीतिमा आउन विप्लवलाई आग्रह गरे।

अध्यक्ष दाहालले सरकारले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतलाई सहमति गरेर मूलधारको राजनीतिमा ल्याएकाले आशंका गरिरहन नपर्ने बताए। आफ्नो सिंगो समूहलाई छलफल गरेर मूलधारमा जाने तयारी नपुग्दा जनकपुरमा पृथकतावादी सोचअन्तर्गत स्वतन्त्र मधेसको नारा लागेको हुनसक्ने भन्दै यसैका आधारमा अन्यथा सोंच्न नहुने उनको भनाइ थियो। उनले सरकार एक्लैले जनमत संग्रह गर्ने निर्णय गर्न नसक्ने भएकाले त्यस विषयमा विवाद गरिराख्नु नपर्ने बताए। जन अभिमत र जनमत संग्रह फरक कुरा भएको बताउँदै उनले भने,‘संविधानले किटेरै जनमत संग्रहमा जानका लागि संसदका दुईतिहाइले निर्णय गर्नुपर्ने भनेको छ, त्यस कारण कोही व्यक्ति वा सरकारले भन्दैमा भइहाल्ने कुरा होइन, त्यसैले यसमा विवाद गरिराख्नु पर्ने कुरा होइन।’ उनले प्रधानमन्त्री र गृहमन्त्रीलेसमेत जनमत संग्रह गर्ने भनेको होइन भनिसकेकाले यसमा अल्झन नहुने बताए। दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सिके राउतसँग नदाँजेको भए हुन्थ्यो भने। तुलनाहरु सबै लंगडो हुने बताउँदै उनले भने, ‘मूल धारमा आउने निर्णयलाई साहसिक भएको कारणले होला प्रधानमन्त्रीजीले सिके राउतलाई मसँग तुलना गर्नुभएको, मूल धारमा आए भने त ठिकै होला, भोलि धोका दिए भने त्यो निर्णय क्षमता हुँदैन, त्यो धोका हुन्छ।’

दाहालले स्वर्गीय रवीन्द्र अधिकारीको कास्की क्षेत्र नम्बर २ मा रवीन्द्रकै परिवारलाई उठाउने सम्भावना रहेको बताए। सबै पक्षलाई हेरेर पार्टीले उपयुक्त निर्णय गर्ने बताउँदै उनले भने, ‘रवन्द्रीजीको परिवार पनि राजनीतिक नै हो, नेतृत्व गर्न सक्ने क्षमता भएको उहाँको जीवन संगीनी विद्याजी हुनुहुन्छ, कास्की पार्टीले के भन्छ, यी सबै कुरालाई हेरेर पार्टीले निर्णय लिन्छ।’

दाहालले सरकारविरुद्ध विपक्षीले प्रचार युद्ध गरिरहेको आरोप लगाए। पार्टी एकता भएदेखि नै एउटा वर्गले अधिनायकवाद भन्दै भ्रमको खेती गरिरहेको बताउँदै उनले भने, ‘हिजो पार्टी एकताको घोषणा भएकै दिनदेखि भ्रमको खेती गरेकै हुन्, अधिनायकवाद आयो भनेर, यो क्रम अहिले पनि गरिरहेकै छन् प्रचारयुद्धका रूपमा।’ उनले प्रचार युद्ध सरकार र कुर्सीलाई ध्यानमा राखेर भइरहेको बताए। उनले वर्तमान सरकार संविधान कार्यान्वयनको क्षेत्रमा सफल भइरहेको बताए। वर्तमान सरकारलाई सामान्य समयको बेलामा बन्ने सरकारसँग तुलना गर्न नमिल्ने बताउँदै भने, ‘असोज ३ गतेसम्म निर्माण गर्नुपर्ने ऐनहरू निर्माण गर्न सरकार सफल भएको छ, अन्य विधेयकहरुपनि संसदमा थुप्रेर बसेका छन्, कर्मचारी समायोजनलगायतका थुप्रै काम भएका छन्।’ वर्तमान सरकारले छिमेकी देशसँगको सम्बन्धमा सुधार गर्न, पूर्वाधार विकास, सामाजिक विकास, बेरोजगार युवाहरुलाई रोजगारको सम्बोधनलगायतका कुरामा पनि सरकार अगाडि बढिरहेकाले यो सकारात्मक रुपमा सफलतातिर उन्मुख भएको उनको भनाइ छ।

अध्यक्ष दाहालले सरकार सफलतातिर उन्मुख भए पनि चुनावमा भनेका धेरै कुराहरु पूरा गर्न नसक्दा गुनासाहरू भने आइरहेको बताए। सरकार र नेकपाप्रति जनताको आशा र भरोस झन् बढेको बताउँदै उनले भने, ‘सरकारले कामै गरेन भनेर जति प्रचार गरेपनि केही फरक परेको छैन, चुनावमा गरेका बाचा अनुसार तीव्ररूपमा काम नहुँदा केहि गुनासा आएका छन्, सरकार र नेकपाप्रति जनताको अपेक्षा र आशा म-यो भन्ने सत्य होइन, बरु झन् बढेको छ।’

प्रकाशित: २८ फाल्गुन २०७५ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App