१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नाममा राजनीति

दाङ – संसद्बाट चिकित्सा शिक्षा विधेयक पास भएपछि नेपाली कांग्रेस आन्दोलनमा छ। डा. गोविन्द केसीसँग भएका सम्झौता लत्याइएको विरोधसँगै कांग्रेसले आफ्ना पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोलिएका अस्पताललाई सरकारले गरेको बेवास्ता आन्दोलनको मूल जड बनाएको छ।

वर्तमान कम्युनिस्ट सरकारले कांग्रेसका पूर्वसभापति कोइरालाद्वयको नाम मेट्न खोजेको आरोप लगाइरहेको छ। उक्त विधेयक पास भएकै दिन सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘कांग्रेस नेताहरूको नाम मेट्न खोजेर सरकारले ठूलो भूल गर्यो।’ कोइरालाद्वयका नाममा खोलिएका दुई अस्पताललाई सरकारले बेवास्ता गर्नुको कारण जेसुकै भए पनि कांग्रेस नेताको नाम मेटेर वामपन्थी नेतृत्वको सरकार सार्वजनिक थलोमा एकलौटी देखिन खोजेको स्पष्ट हुन्छ।

संघीय सरकार मात्रै हैन, स्थानीय तहका सरकार पनि सार्वजनिक स्थलको नामकरण आफूखुसी गर्न सक्रिय छन्। भइरहेका नाम मेटाएर सरकारका नेतृत्वकर्ताले आफ्नै पार्टीका नेताको नामबाट नामकरण गरेका यस्ता सार्वजनिक स्थल जिल्लामा दर्जनौं छन्। आफूखुसी नामकरण गर्ने क्रममा केही स्थानमा ठूलै विवाद भएका छन्।

भइरहेका नाम मेटाएर सरकारका नेतृत्वकर्ताले आफ्नै पार्टीका नेताको नामबाट नामकरण गरेका यस्ता सार्वजनिक स्थल जिल्लामा दर्जनौं छन्। आफूखुसी नामकरण गर्ने क्रममा केही स्थानमा ठूलै विवाद भएका छन्।

तुलसीपुर उपमहानगरपालिका– १० र ११ लाई जोड्ने सडकको पुरानो नाम अभय मार्ग हो। स्थानीय सरकार स्थापनापछि तत्कालीन एमालेका नेता श्रीमणि आचार्यको नामबाट सडकको नामकरण गर्ने निर्णय भयो। तर स्थानीयले पहिलेदेखिको नाम मेटाउन खोजेको भन्दै असहमति जनाए। ‘पहिलेदेखि रहिआएको अभय मार्ग नाम हटाएर श्रीमणि मार्ग राख्न खोजेपछि गाउँलेबीच विवाद भयो’, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य सुवास डाँगीले भने, ‘स्थानीयले नाम परिवर्तन गर्न मानेनन्।’ नामकरणका विषयमा उब्जिएको विवाद समाधानका लागि गाउँलेसँग छलफल भयो। अन्ततः उक्त सडकलाई आधाआधा बाँडेर दुईथरी नाम राखियो। ‘आधा सडकको नाम श्रीमणि मार्ग राखियो भने आधाको पुरानै अभय मार्ग राखियो,’ वडा सदस्य डाँगीले भने।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा शीतलपुर चोक स्थानीय सरकारले नाम परिवर्तन गरिदिएको छ। चोकको नाम तत्कालीन एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको नामबाट नामकरण गरिएको छ। ‘यो चोकको नाम परिवर्तन गरेका कारण उपमहानगरपालिका निकै आलोचित बनेको थियो’, डाँगीले भने।

बबई गाउँपालिकामा पनि नाम परिवर्तनका कारण आन्दोल चलेको थियो। एमालेका नेताका नामबाट नामकरण गर्न विभिन्न सार्वजनिक स्थलको पुरानो नाम मेटाइएका छन्। गाउँटोलदेखि खेलमैदानको नामसमेत मेटाइएका छन्। हसनापुर नगरको नाम मेटाएर विद्यानगर कायम गरिएको छ। वडा नम्बर ५ मा रहेको मास्किडर नगरको नामले चिनिँदै आएको टोलको नाम सूर्यनगर तय गरिएको छ। पुरन्धारामा रहेको रंगशालाको नाम तत्कालीन एमाले नेता मदन भण्डारीको नाममा राखिएको छ। रंगशालाको नाम यसअघि पुरन्धारा थियो।

पञ्चकुले गाउँमा रहेको अर्को खेलमैदानको नाम पनि पुष्पलाल रंगशाला तय गरिएको छ। यस्तै साबिकको पूर्व हापुरे चोकलाई नेत्रलाल चोक भनेर नामकरण गरिएको छ। ‘पहिलेदेखि चल्दै आएका नाम मेटेर पार्टीका नेताको नाम तय गरिएको छ’, स्थानीय झुपु क्षेत्रीले भने, ‘स्थानीय नागरिकको चाहनाविपरीत यसरी मनपरी नामकरण गरिएको छ।’

विभिन्न सार्वजनिक थलोको नामकरण मनपरी ढंगले गर्न थालेपछि नेपाली कांग्रेसले त्यहाँ आन्दोलनसमेत गरेको थियो। आन्दोलनपछि पुरानै नाम यथावत् राख्ने सहमति भए पनि पछिल्लो नामबाटै ती स्थानको पहिचान सरकारले गराइरहेकै छ। ‘पुरानै नाम यथावत् राख्ने भनेर सहमति भयो। तर अहिले ती स्थानमा योजना पर्दा नयाँ नामबाटै पारिएको छ,’ क्षेत्रीले भने।

नेताहरूको नामबाट नामकरण हुनु एक प्रकारको पार्टी प्रचार नै रहेको विश्लेषकहरू बताउँछन्। ‘ठूला मान्छे यी मात्रै हुन्, उनीहरूभन्दा ठूला कोही छैनन् भन्ने सन्देश जाओस् भन्ने मूल उद्देश्य देखिन्छ’, विश्लेषक विनोद पोख्रेलले भने, ‘स्थानीयलाई जसरी हुन्छ आफ्नो पार्टी र नेताप्रति आकर्षण गराइराख्ने उद्देश्यले सार्वजनिक स्थलको पुरानो नाम मेटाइन्छन्।’ कोइरालाद्वयको नाममा खोलिएका अस्पतालका विषयमा पनि सरकारले कांग्रेस नेताहरूको नाम मेटाउन खोजेको उनले बताए। ‘केन्द्रीय सरकारले प्रदेशलाई दिएपछि प्रदेशले चलाउन सक्दैन र अस्पताल नै चल्दैन भन्ने मूल उद्देश्य सरकारले लिएको हो’, उनले भने, ‘अस्पतालै चलेनन् भने गिरिजा र सुशीलको नाम मेटिने भयो नि त।’

यस्ता सार्वजनिक थलोको नामकरण कसरी गर्ने भन्ने मापदण्ड छैन। ‘समाज वा राष्ट्रका लागि योगदान गरेका साझा व्यक्तिका नामबाट यस्ता स्थलको नामकरण गर्ने पुरानो शैली हो’, उनले भने, ‘तर यसरी पार्टीका चुनाव चिह्न, पार्टीका भएभरका नेताका नामबाट नामकरण गरिनु राम्रो हैन।’

प्रकाशित: २३ माघ २०७५ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App