१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संघीयताका कतिपय कुरा फेरबदल गर्नुपर्छ : प्रम ओली

काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले संघीयता नेपालमा नयाँ भएकाले अभ्यास गर्ने क्रममा कतिपय कुरा फेरबदल गर्नुपर्ने बताएका छन्। आइतबार पत्रकार शुभशंकर कँडेलको पुस्तक ‘अवतरण’ को विमोचन गर्दै प्रधानमन्त्री ओलीले संघीयताको अभ्यास गर्दा कतिपय कुरा फेरबदल गर्नुपर्ने बताएका हुन् । ओलीले संघीयतको अभ्यास अरुबाट नक्कल भने गर्न नसकिने प्रष्ट पारे।

प्रधानमन्त्री ओलीले विगतमा भएका सबै परिवर्तनमा नेपालीकै भूमिका रहेको र विकास पनि नेपाली आफैंले गर्ने बताए। ओलीले नेपालको शान्ति प्रक्रिया टुंगिएको र केही अवशेष मात्र बाँकी रहेको बताए । ओलीले द्वन्द्वकालमा भएका मानवताविरोधी वैयक्तिक घटनामा संलग्न राज्य पक्ष वा विद्रोही पक्ष जो कोही भए पनि माफ गर्न नसकिने बताएका छन्।

अन्तर्राष्ट्रिय कानुन नमान्नलाई हामी अमेरिकी राष्ट्रपति होइनौँ, तर यस्ता विषयमा कतैबाट खेल्न नखोजे हुन्छ। सरकार जादुगर नभएकाले जनतालाई तत्काल अल्मलाउने काम गर्ने भन्दा पनि दीर्घकालीन रूपमा देश विकासमा लाग्नुपर्छ।

उनले द्वन्द्वकालीन घटनालाई लिएर च्याखे थाप्ने र झिंगे दाउ थाप्न नहुने बताए। ‘अन्तर्राष्ट्रिय कानुन नमान्नलाई हामी अमेरिकी राष्ट्रपति होइनौँ, तर यस्ता विषयमा कतैबाट खेल्न नखोजे हुन्छ,’ ओलीले भने । सरकार जादुगर नभएकाले जनतालाई तत्काल अल्मलाउने काम गर्ने भन्दा पनि दीर्घकालीन रूपमा देश विकासमा लाग्ने ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले कतिपय मानिसहरुमा एकता भयो, अडिएला र भन्ने अलिअलि चिन्ता देखिएको भन्दै दुई पार्टी मिलेर बनेको बहुमत सरकार बनाउन मात्र नभएको बताए । ओलीले खल्बल्याउने प्रयासहरु भइरहेको बताएका छन्। लोकतन्त्रको स्थापना राजनीतिक अधिकारका लागि मात्र नभएर सामाजिक प्रबन्धका लागि पनि भएकाले मुलुक महत्वपूर्ण विषयलाई मूर्तरूप दिनेतर्फ अवतरणका क्रममा रहेको ओलीको भनाइ थियो। लोकतन्त्र आउनबित्तिकै सबै कुरा रातारात नहुने भन्दै ओलीले असहज अवस्थामा रहेको अर्थतन्त्रलाई यो सरकारले तंग्रिने अवस्थामा पु-याएको दाबी गरे।

ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिबद्धतासमेत जनाएका थिए। कांग्रेस नेता शेखर कोइरालाले भ्रष्टाचार गर्दैन भन्ने प्रतिबद्धता कर्मचारीबाट भन्दा पनि सरकार र मन्त्रीहरूबाट सुरु गर्नुपर्ने बताएका थिए। त्यसैको जवाफ दिँदै ओलीले माथिल्लो निकायबाटै भ्रष्टाचार नगर्ने प्रतिबद्धता भएपछि तल्लो तहमा पनि त्यसको प्रभाव पर्ने बताए।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सत्ताले अनावश्यक दबाब दिँदा प्रतिवाद जन्मिने बताए। विगतमा भएको १० वर्षे शसस्त्र युद्ध लुकिछिपी गरेको नभई सरकारलाई ४० बुँदे माग प्रस्तुत गरेर थालनी गरेको बताए । अहिले राजनीतिक आन्दोलन गर्छाैँ भन्नेहरु समेत आफूले गरेका गतिविधि जिम्मेवारी नलिने प्रवृत्ति बढेको भन्दै दाहालले पछिल्लो समय राजनीतिक गतिविधि समेत अपराधका रूपमा गर्न थालिएको बताए।

आफूहरुलाई विगतमा संसदीय व्यवस्था विरोधीको रुपमा चित्रण गरेको भन्दै दाहालले त्यो गलत भएको बताएका छन्। ‘पञ्चायतको अन्त्यपछि पनि हामीले संसदमा सहभागीता जनाएका थियौँ, त्यसैले हामीमाथि लागेका आरोप गलत हुन,’ दाहालले भने। द्वन्दका बेला आफू शान्ति प्रक्रियामा जान उपयुक्त समयको खोजिमा रहेको भन्दै दाहालले दरबार हत्याकाण्ड र तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिनुले उपयुक्त वातावरण बनाएको बताए। दाहालले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएको भए दुईवर्षमै संविधान निर्माण भइसक्ने बताए।

उनले कोइरालाले हिम्मत नगरेको भए नेपालको शान्तिप्रक्रिया अघि बढ्न सम्भव नभएको बताए। दाहालले शान्तिप्रक्रियामा प्रवेश गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई रातारात क्यान्टोमेन्टको जिम्मा नेपाली सेनालाई लगाउन आग्रह नगरेको भए क्यान्टोमेन्टभित्रै दोहोरो भिडन्त र हताहतिको सम्भावना रहेको बताए। ‘सही समयमा सही निर्णय नगरेको भए ठूलो दुर्घटना हुनसक्थ्यो,’ दाहालले भने। आफूले क्यान्टोमेन्टको जिम्मा सेनालाई दिने निर्णय गरेकै कारण तत्काल पार्टी विभाजन भएको दाहालको भनाइ थियो।

दाहालले नेपालमा प्रजातन्त्र स्थापना हुनुभन्दा पहिले नै शसस्त्र द्वन्द्वको तयारी भएको भए पनि परिस्थितिले गर्दा मात्र पछि आएर सशस्त्र द्वन्द्व सुरु भएको बताए।

कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले १२ बुँदे सहमति गर्दा एमालेमा माओवादीसँग मिलेर अघि बढ्न नहुने मत बलियो भइरहेको र गिरीजा प्रसाद कोइरालाको अठोटले मात्र सम्झौताको वातावरण बनेको बताए । त्यतिबेला परिस्थिति धेरै अप्ठेरो रहेको र राजा, संसदीय दल र माओवादीका बीचमा जुहारी चलिरहेको कोइरालाको भनाइ थियो।

कोइरालाले त्यतिबेला गिरीजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाइएको भए मुलुकको परिस्थिति फरक भइसक्ने दाबी गरे । उनले वर्तमान दुईतिहाइ नेतृत्वको सरकार सुशासन कायम गर्न असफल भएको बताएका छन् । कोइरालाले भ्रष्टाचार गर्दिन भन्ने कुरा सुरुमा मन्त्री र नेताबाट सुरु गर्नुपर्ने बताए। कार्यक्रममा पूर्वमन्त्री रमेशनाथ पाण्डे र प्राध्यापक कृष्ण पोख्रेलले पनि पुस्तकबारे बोलेका थिए।

प्रकाशित: २२ आश्विन २०७५ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App