४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दोलखामा सत्तारुढ नेकपाको नेतृत्व लिन दौडधुप

दोलखा-  केन्द्र पछि जिल्ला कमिटी एकीकरणलाई पूर्णता दिने तयारीमा रहेको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको जिल्ला नेतृत्वमा पुग्नका लागी दोलखामा नेताहरुबीच रस्साकस्सी शुरु भएको छ।

केन्द्रीय कमिटीले साविकका दुवै पार्टीका जिल्ला ईन्चार्ज र अध्यक्ष सम्मिलित कार्यदललाई साउन २५ गते भित्र जिल्ला पार्टी एकीकरण गर्ने बारे प्रारुप तयार गरेर त्यसको प्रतिवेदन प्रदेश कमिटी हुँदै केन्द्रमा पठाउन निर्देशन दिए पछि जिल्ला नेतृत्वमा पुग्न दोलखाका कम्युनिष्ट नेताहरुले सक्रियता देखाएका हुन्।

कमिटी एकीकरण सहित पुर्नगठन गर्ने खाका तयार गर्नका निम्ती बनाएको कार्यदलमा तत्कालिन दोलखा एमालेका ईन्चार्ज एवं केन्द्रीय सदस्य पार्वत गुरुङ, जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल साथै तत्कालिन नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज एवं पोलिटब्युरो सदस्य देवी खड्का र जिल्ला अध्यक्ष गोपाल पाण्डे छन्।

कार्यदलको बैठकले सोमबार यता काठमाडौंमा उपलब्ध दुवै पार्टी सम्बद्ध जिल्ला तहका नेतासंग परामर्श गरेको छ। कार्यदलले केन्द्रीय कमिटिले तयार गरेको नियमावली अनुरुप १ सय ३५ सदस्यीय जिल्ला कमिटी  र ४५ सदस्यीय जिल्ला सचिवालय रहने गरी प्रारुप तयार गरेको छ। जिल्ला कमिटीहरुमा दुवै पार्टीको भागबण्डा बारे भने टुङग्याईएको छैन् । दुवै पार्टीका संयुक्त जिल्ला कमिटी बैठक बसेर मात्र संख्या टुङग्याईने नेताहरुले बताएका छन्। 

प्रतिनिधि सभा सांसद समेत रहेका गुरुङले जिल्ला फर्किएपछि दुवै पार्टीका नेता तथा कार्यकर्ता साथै आकांक्षीहरु संग छलफल गरेर नेतृत्व बारे टुङग्याउने र प्रदेश हुँदै केन्द्रमा प्रतिवेदन बुझाईने जानकारी दिए। ‘अहिले जिल्ला कमिटीको संख्या मात्र टुङगो लगाएका छौं’ उनले भने – ‘अब जिल्ला स्तरमा छलफल र परामर्श पछि बाँकी कामहरु सक्नेछौ।’

अध्यक्ष साविकको एमाले र सचिव माओवादीलाई

सांसद गुरुङले दोलखा जिल्ला कमिटीको अध्यक्ष तत्कालिन एमाले र पार्टी सचिव माओवादी केन्द्रले लिने गरी सैद्धान्तिक सहमती बनेको जानकारी दिए। उनले जिल्ला तहमा छलफल गरीसकेपछि मात्र आकांक्षी ब्यबस्थापन बारे टुङगोमा पुग्ने जनाउ दिए। ‘यो कार्यदल भित्र भएको सैद्धान्तिक सहमतीको प्रारुप मात्र हो’ उनले भने – ‘यो सहित सबै कुरालाई अन्तिम रुप दिन जिल्ला तहका बैठक नै पर्खनुपर्नेछ।’

तत्कालिन नेकपा माओवादी केन्द्रकी जिल्ला ईन्चार्ज समेत रहेकी नेकपा केन्द्रीय सदस्य खड्काले भने अध्यक्ष पदमा दुवै पार्टीको आ–आफ्नै दावी यथावत रहेको बताइन्। ‘हामी बिच कुनै छलफल र निर्णय भएको छैन’ – उनले भनिन – ‘यो जिल्ला तहमा संयुक्त बैठकबाट मात्र टुङ्गो लाग्ने बिषय हो।’ उनले जिल्ला कमिटी समावेशी प्रतिनिधित्व हुने गरी पुर्नगठन गर्ने तयारीमा आफुहरु लागेको बताईन।

आकांक्षीको दौडधुप

साविकको एमालेले अध्यक्ष पाउने भित्री सहमती भएपछि नेताहरु पदका लागि दौडधुपमा छन्। सचिव पदका लागि समेत तत्कालिन नेकपा माओवादी केन्द्र भित्र उत्तिकै प्रतिष्पर्धा छ। जिल्ला कमिटीमा पदाधिकारीका रुपमा अध्यक्ष र सचिव मात्र रहनेछन्।

कार्यकर्ताहरुका अनुसार साविकको एमाले भित्र अध्यक्ष पदका लागि पूर्व जिल्ला सचिव शिव प्रसाद भण्डारी, तत्कालिन जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल, पुराना नेता बसन्तराज कार्की, गोपाल न्यौपाने, पूर्व जिल्ला उपाध्यक्ष भुवनसिंह थापा, पूर्व जिल्ला उपसचिव प्रोणप्रताप केसी र वैत्येश्वर गाउँपालिकाका ईन्चार्ज भीम प्रसाद दाहालको आकांक्षा देखिएको छ।

दुई पटक तत्कालिन एमाले दोलखाको नेतृत्व सम्हालेका पूर्व जिल्ला सचिव भण्डारी विगठित एमालेको केन्द्रीय कमिटिका अनुशासन आयोग सदस्य थिए। पार्टी एकिकरण पछि बिगठित दोलखा एमालेका अध्यक्ष पोखरेल तामाकोशी गाउँपालिकाका अध्यक्ष समेत हुन् । दोलखाली कम्युनिष्टका पुराना मध्येका कार्की एमालेबाट माले बिभाजन पछि जिल्ला पार्टी प्रमुखको भुमिका निर्वाह गरिसकेका नेता हुन् भने गाविस महासंघको नेतृत्व गरिसकेका न्यौपाने समेत पुराना नेता हुन्। थापा पार्टीका पूर्व उपाध्यक्ष हुन भने केसी पार्टीमा उपसचिव रहिसकेका छन्। वैत्येश्वर गाउँका दाहाल समेत पुराना मध्येका हुन्।

पार्टी भित्र देखिएका सातै जना आकांक्षी अध्यक्ष बन्नका लागि गुटगत लबिङ र दौडधुपमा व्यस्त छन्। जिल्लामा निर्णय नभए केन्द्रबाटै मनोनित हुने दौडमा समेत आकांक्षीहरु उत्तिकै लागेका छन्। साविकको दोलखा एमाले भित्र सांसद गुरुङ, पूर्व मन्त्री आनन्द पोखरेल र प्रदेश सभा सांसद पशुपति चौलागाई निकट तीन ओटा गुट सक्रिय छन्। भण्डारी र पोखरेललाई सांसद गुरुङको समर्थन छ भने कार्की, न्यौपाने र थापा पूर्व मन्त्री पोखरेलका निकट मानिन्छन्। यस्तै दाहाल र केसीलाई चौलागाईको साथ छ। आफु निकट अध्यक्ष बनाउन सके पार्टीको बागडोर आफ्नै पक्षमा ल्याउने मनशायले तिनै नेता भित्र भित्रै आफ्ना विश्वासपात्रलाई अध्यक्ष बनाउने कसरतमा छन्। यस्तै तत्कालिन नेकपा माओवादी केन्द्र भित्र एकीकृत पार्टीको सचिव पदका लागि गोपाल पाण्डे, कुलबहादुर बुढाथोकी लगायत आकांक्षी देखिएका छन्।  

प्रकाशित: २३ श्रावण २०७५ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App