दाङ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रवादको नारा बोकेको वर्तमान सरकार उत्ताउलो बन्दै गएको बताएका छन्।
पछिल्ला समयमा उठेका राष्ट्रिय सवालमा देखाएको सरकारको रबैयाले उसको उत्ताउलोपना प्रष्ट बनेको उनले दाबी गरे। उनले यसको मुल कारण सरकारमा पलाएको दम्भ रहेको समेत बताए।
‘सुरुमा राष्ट्रवादी, जनचासोका बिषयमा मिठा नारा ल्याईए’, कांग्रेस दाङले विहीबार घोराहीमा गरेको पार्टी कार्यकर्ता भेटघाटमा उनले भने, ‘तर यो संगसंगै दम्भ पनि पलाउँदै गयो, फलतः अहिले यो सरकार उत्ताउलो बनिसक्यो।’ कानुनी राज्यलाई पालना गर्न समेत छोडिसकेको वर्तमान सरकार लोकतन्त्रको मुल मर्मलाई कुल्चेर अघि बढिरहेको उनको आरोप छ।
अनशनरत डा. गोविन्द केसीको माग कार्यान्वयनको सन्दर्भ र उनमाथि राज्यबाट गरिएको बलजफ्तीको उदाहरण दिँदै उनले भने, ‘यदि सरकार लोकतन्त्रवादी हो भने विरोधको झिनो स्वर पनि सुन्न सक्नु पर्छ।’
डा. केसीको बुई चढेर कांग्रेसले आफ्नो साख फर्काउने चेष्टा गरिरहेको आरोपको खण्डन गर्दै नेता कोइरालाले भने, ‘डा. केसी सत्याग्रही मात्रै हुनुहुन्छ, सत्याग्रह गर्न पाईन्छ, तर उहाँ कांग्रेसको नेता कार्यकर्ता कोहि पनि हैन, व्यक्ति बिशेषको बोली भनेर राज्यले विधीलाई मिच्न पाउँदैन, कांग्रेस विधी मिच्ने सरकारको विपक्षमा उभिएको हो, डा. केसीको बुई चढेको छैन्।’
कांग्रेसलाई सडकमा आएर आन्दोलन गर्न रहर नभएको भन्दै उनले तर दण्डहिनताको पराकाष्ठा बनेको राज्यका पक्षमा कांग्रेस काँध जोडेर बस्न नसक्ने स्पष्ट पारे। वर्तमान सरकारको दुई तिहाई दम्भकै कारण लोकतन्त्रको खिल्ली उडिसकेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेस कहिल्यै पछि नहटने समेत बताए।
एक अर्को प्रसंगमा उनले साउन १५ देखिको आन्दोलन सरकारको रबैयाविरुद्ध र कांग्रेसको आन्तरिक एकताको प्रतिकका रुपमा रहने समेत बताए। विभिन्न गुटउपगुटमा विभाजित कांग्रेसलाई सिंगो बनाएर सडकमा उतारिनु एकताको बलियो आधारका रुपमा रहने उनको भनाई छ।
प्रकाशित: १० श्रावण २०७५ १३:५५ बिहीबार