१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चिकित्सा शिक्षा विधेयकविरुद्ध संसदमा गर्जिए गगन

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले सरकारले उपत्यकामा मेडिकल खाेल्न पाउनेगरी ल्याएको चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले मेडिकल कलेज खोल्ने नाममा दलाल पूँजीपतिलाई रक्षा गर्ने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन लागिएको भन्दै आपत्ति जनाएका हुन्। कम्युनिष्ट परिभाषाअनुसारको दलाल पुँजीपतिको कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यका साथमा विधेयक ल्याइएको उनको आरोप थियो।

सरकारले मेडिकल शिक्षाको हितभन्दा पनि राजनीतिक स्वार्थ भएका मानिसहरुलाई मेडिकल खोल्न अनुमति दिने प्रयोजनसहित विधयेक ल्याएको दाबी गर्दै थापाले भने- ‘चरेसको थालमा मार्सी धानको भात खुवाउने, कम्युनिष्ट परिभाषा अनुसारको दलाल पूँजिपतिको मेडिकल कलेज जसरी भए पनि खुलोस् भन्ने उद्देश्यको साथ सदनका चिकित्सा शिक्षा विधेयक ल्याइएको छ। प्रधानमन्त्रीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ।’ 

उनले मेडिकल नभएका स्थानमा सरकारले मेडिकल कलेज खोलोस्, जनताका छोराछोरीले निःशुल्क मेडिकल शिक्षा लिन पाउन् र गाउँगाउँमा स्वास्थ्य सेवा पुगोस् भनेर माग राख्ने डा गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न नदिएकोमा पनि आपत्ति जनाउँदै डा केसीका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराए।

यस्तो थियो गगनको सम्बोधन

मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस, जनताका छोराछोरीले निःशुल्क चिकित्सा शिक्षा पढ्न पाउन, सस्तोमा पढ्न पाउन, गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्याइयोस भनेर माग राख्ने डा गोविन्द केसी शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने, दुईवटा कम्युनिस्ट पार्टी एकीकरण भएको उपलक्ष्यमा दुई वटा कम्युनिस्ट पार्टीका महान अध्यक्षहरु घरमा बोलाएर चरेशको थालमा मार्सी धानको भात खुवाउने, कम्युनिष्ट परिभाषा अनुसारको दलाल पूँजिपतिको मेडिकल कलेज जसरी भए पनि खुलोस् भन्ने उद्देश्यका साथ सदनका चिकित्सा शिक्षा विधेयक ल्याउने। सम्माननीय प्रधानमन्त्रीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ। 

प्रकाशित: १७ असार २०७५ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App