१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘ट्रम्प–किम वार्ताले नेपालको समृद्धिमा पनि सहजता प्रदान गर्छ’

काठमाडौं– सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली  नेता किम जोङ उनबीच भएको वार्ता सुखद भएको प्रतिक्रिया दिएका छन्। 

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘यी दुई नेताहरुको वार्ताले नेपालको समृद्धिमा पनि सहजता प्रदान गर्छ।’ यद्यपी नेता रायमाझीले अहिलेको विश्व अलिक बढी निरंकुशतातर्फ ढल्किरहेको पनि बताए।

ट्रम्प र किमबीचको वार्ताको मुख्य सुरक्षामा गोरखा फौज खटिनु गौरवको विषय भएको बताउँदै उनले भने, ‘यो नेपालीहरुलाई विश्वास गरिएको कुरा हो, हामी सबैको लागि खुशीको कुरो हो।’

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ट्रम्प र किमबीच भएको चार बुँदे सहमति उपलब्धिमूलक रहेको बताए । उनले भने, ‘उहाँहरुबीचको वार्ता सफल भएको दाबी गरिएको छ, यो विश्वको लागि पनि राम्रो हो, किमको लागि त झनै उपलब्धिमूलक हो।’

संसारको कुनै पनि भू–भागमा शान्तिको विकल्प नभएको बताउँदै उनले भने,‘शान्तिको विकल्प छैन र हिंसाको भविष्य छैन, त्यसैले यो वार्ता उहाँहरुले भनेजस्तो यो वार्ता गौरवान्तित र ऐतिहाँसिक छ।’ उनले समग्र विश्व शान्ति प्रक्रियाको लागि यो वार्ता गौरवको विषय भएको बताए।

बजेटमा सन्तुष्ट हुने आधार छैन

नेता रायमाझीले सरकारले परम्परागतभन्दा अर्को नयाँ आयाम थप्ने बजेट ल्याउन नसकेको टिप्पणी गरे। ‘बजेटमार्फत समग्र राष्ट्र निर्माणको मार्गचित्र आउनुपर्दथ्यो, तर यो बजेटले त्यस्तो महशुस गराउन सकेन, बजेटले जनतालाई उत्साहित बनाउन सकेको छैन’, उनको भनाई छ।

सरकारले समृद्धिको कुरा गरेपनि अहिलेसम्म यसको कार्यशैली हेर्दा आफू त्यति सन्तुष्ट नभएको उनले सुनाए । ‘म सरकारको काम गर्ने शैलीबाट सन्तुष्ट छैन, तर म आशावादी छु।’ उनले पटक–पटक सरकारले हालै ल्याएको यो बजेटको समर्थन गर्ने आधार नै नभएको जिकिर गरे।

प्रकाशित: २९ जेष्ठ २०७५ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App