नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने प्रयासमा लागेको बताएका छन्।
शनिबार ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यसको जानकारी दिए।
महासचिव चन्दले अहिले आफूहरु नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने प्रयासमा रहेको जिकिर गे। उनले माओवादीहरुलाई मात्र नभई समाजवादीलाई पनि एक ठाउँमा राखेर अघि बढ्ने छलफल अघि बढिरहेको सुनाए।
उनले भने, “हामी नेपालको सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई २००६ सालमै फर्काउन सकिन्छ की सकिँदैन भन्ने विषयमा पनि विचार गरिरहेका छौं। माओवादीहरुलाई एक ठाउँमा ल्याउने कुरा मात्र होइन, समाजवादीलाई र सम्पूर्ण नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ अवधारणामा रुपान्तरण गर्दै २००६ साल जस्तै अगाडि बढाउने बारेमा छलफल भइरहेको छ।
महासचिव चन्दले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ अवधारणामा रुपान्तरण गर्नेगरी अघि बढिरहेको जिकिर गरे। उनले यस प्रक्रियामा सबै कम्युनिष्ट शक्तिहरु एकताबद्ध भई समान उद्देश्यका लागि काम गर्नुपर्ने आवश्यकता रहेको जोड दिए।
प्रकाशित: २ चैत्र २०८१ १६:३५ शनिबार