नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गरिने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
उनले दुई दलीय कार्यदललले संविधान संशोधनका एजेण्डा तय गर्ने बताए। उनले कार्यदलले तय गरेका एजेण्डाहरुमा संसदमा रहेका सबै पार्टीहरुलाई सहमत हुनेगरी अगाडि बढाइने बताए। संविधान निर्माणमा महत्वपूर्ण भुमिका खेलेका सबै दलहरुसँग छलफल र सहमति गरेरमात्र संविधान संशोधन गरिने बताए। उनले कांगेस र एमाले संविधानको रक्षा गर्दै संशोधनयोग्य कुरामा सुधार गर्न प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘हामीले सहमतिको दोस्रो बुँदामा नै संविधानको पुनरावलोकन गर्दै आवश्यकता अनुसार संविधान संशोधन गर्ने भनेको छ । संविधान संशोधन संवैधानिक बाटोबाट हुन्छ । दुईटा पार्टीको बीचमा एजेण्डाहरु तय हुन्छन् । त्यसका लागि कार्यदलले काम गर्छ । र ति एजेण्डाहरुमा संसदमा भएका सबै दलहरुसँग हामी छलफल गर्छौं । छलफलको क्रममा सबैसित सहमति लिने हामी कोशिस गर्छौं । संविधान निर्माणमा मुलतः माओवादी केन्द्र, एमाले र काँग्रेसको भूमिका छ । मधेशकेन्द्रीत दलहरुको पनि भूमिका छ । अहिले संविधानको सर्व स्विकार्यता पनि बढेको छ । यो संविधानप्रति हाम्रो लगाव छ । संविधानका कतिपय प्रावधानहरु संशोधन योग्य छन् । त्यसलाई हामी संशोधन गर्नको लागि यही संसदमा ल्याउँछौं ।’
प्रकाशित: २८ माघ २०८१ १७:५२ सोमबार