प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली तीन दिनका लागि चीन प्रस्थान गरेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विषयमा छलफल गर्ने छन्। प्रधानमन्त्री ओलीले त्यहाँ रहदा चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट्ने कार्यतालिका छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने छन्। त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल(चीन व्यापार मञ्चमा सम्बोधन गर्ने कार्यक्रम राखिएको छ।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा धर्मपत्नी राधिका शाक्यसँगै परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, संसद, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीसहित ७८ सदस्यय छन्।
हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्ने छन् ।
प्रधानमन्त्री ओली मंसिर २० गते २ः३० बजे स्वदेश फर्कने छन् ।
प्रकाशित: १७ मंसिर २०८१ ०९:११ सोमबार