२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस र कम्युनिस्टको विकल्प खोज्न आन्दोलनमा उत्रने उपेन्द्र यादवको घोषणा

सङ्घीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले चार महिना पछि आन्दोलनमा उत्रने घोषणा गरेका छन् । मंगलबार विराटनगरमा आयोजित अभियन्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कांग्रेस र कम्युनिस्टको विकल्प खोज्न ४ महिना पछि जसपा नेपाल सडक आन्दोलनमा उत्रने घोषणा गरेका हुन् ।

यादवले ४ महिनासम्म जनतामाझमा जाने, संगठन सुदृढीकरण गर्ने त्यसपछि सडक आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । कांग्रेस, एमाले र माओवादीका नेताको सत्ता स्वार्थका कारण जनताले दुःख पाएको यादवले आरोप लगाए । यादवले कांग्रेस र कम्युनिस्टका नेताहरूको स्वार्थकै कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको बताए । यादवले साना दलका कारण अस्थिरता नभएको दाबी गरे । उनले कांग्रेस र एमालेको गठबन्धन सङ्घीयता, समानुपातिक निर्वाचन प्रणाली र समावेशीकरणको व्यवस्था मास्न बनेको टिप्पणीसमेत गरे ।

 यादवले कांग्रेसले बहुमत पाएर पनि स्थिरता नभएको र नेकपाले झन्डै दुई तिहाइ बहुमत पाउँदा पनि राजनीतिक स्थिरता नभएकाले कांग्रेस र कम्युनिस्टलाई जिताएर देशमा  राजनीतिक स्थिरता नहुने ठोकुवा गरे । उनले भने‘कांग्रेसले बहुमत ल्यायो, कम्युनिस्टले पनि बहुमत ल्याए । तर, देशमा राजनीतिक स्थिरता भएन ।’ यादवले संसदीय  व्यवस्था देशमा असफल भइसकेकाले नयाँ व्यवस्था स्थापनाका लागि सङ्घर्षको विकल्प नभएको धारणा राखे ।

संसदीय व्यवस्थाको विकल्प  जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको व्यवस्था गर्नुपर्ने बताए । राष्ट्रपति  कार्यकारी हुने, राष्ट्रपतिले विभिन्न क्षेत्रका विज्ञलाई मन्त्री मण्डलमा सहभागी गराई सरकार गठन गर्ने व्यवस्था  गर्नुपर्ने उनको भनाई छ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट  सांसद निर्वाचित हुने र सांसदले मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्ने यादवको धारणा छ  । यादवले अहिलेको संसदीय व्यवस्था, महँगो निर्वाचन प्रणालीलाई सुधार्न आवश्यक रहेको बताए । 

हालको संसदीय व्यवस्था र महँगो  निर्वाचन प्रणालीकै कारण धेरै खर्च गर्ने मात्रै निर्वाचित हुने र निर्वाचित भएपछि देश, जनतालाई लुट्ने , त्यहि लुटेको धन चुनावमा खर्च गर्ने चक्र चलिरहेको  यादवले बताए । यादवले कांग्रेस र कम्युनिस्टहरूको विकल्प खोज्ने आन्दोलनमा सक्रिय सहभागी हुन जनता कार्यकर्तालाई आह्वान पनि गरे । 

प्रकाशित: १८ भाद्र २०८१ २०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App