४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय मुक्ति क्रान्तिले गर्‍यो २५०१ सदस्यीय महासभाको घोषणा

राष्ट्रिय मुक्ति क्रान्तिले दुई हजार पाँच सय एक सदस्यीय महासभाको घोषणा गरेको छ। राष्ट्रिय मुक्ति क्रान्तिका लागि शुक्रबार संयोजक राजेन्द्र महतोले सो महासभाको घोषणा गरेका हुन्।

राजेन्द्र महतोको संयोजकत्वमा राष्ट्रिय मुक्ति क्रान्तिका लागि घोषणा गरिएको महासभामा बाँकी सबैलाई अहिले सदस्यको रुपमा राखिएको छ। राष्ट्रिय मुक्ति क्रान्ति पार्टीको रुप नलिएसम्म वा पार्टी दर्ता दर्ता नभएसम्म संयोजक बाहेक अरू सबै सदस्य रहनेछन्।

क्रान्ति सफल बनाउन संगठन निर्माण स्वरुप महासभा घोषणा गरिएको संयोजक महतोले बताए। उनले संगठनको आभावमा कुनै पनि तयारी परिणाममुखी बन्न नसक्ने भएकाले संगठन निर्माणमा जोड दिएको बताए।

शुक्रबार घोषणा गरिएको महासभाले एउटा सम्मेलनको आयोजना गरी मुलुकको वैकल्पिक शक्तिको रुपमा छिट्टै एउटा पार्टी निर्माण गर्ने राष्ट्रिय मुक्ति क्रान्तिका नेता संतोष मेहताले जनाएका छन्।

पार्टी बने पनि राष्ट्रिय मुक्ति क्रान्ति एउटा अभियानको रूपमा रहिरहने उनले बताए। नेता मेहताका अनुसार महासभा अन्तर्गत विभिन्न परिषद्हरू रहनेछन्। अहिले ती परिषद्हरुको पनि संयोजक मात्र रहने र बाँकी सबै सदस्यको रुपमा रहनेछ।

यस बाहेक भूगोल कमान्ड, ब्युरो, विशेष ब्युरो तथा भातृ संठनहरूको संयोजक बनाउने तयारी भइरहेको छ। भूगोल कमान्ड, ब्युरो, विशेष ब्युरो, भातृ संठनमा पनि अहिलेलाई एकएक जना संयोजक मात्र रहने र बाँकी अरू सबै सदस्यमा रहने नेता मेहताले बताए।

संयोजक महतोले राष्ट्रिय मुक्ति क्रान्ति सफल बनाउन विचारलाई प्रधान बनाएका छन्।  विचारले परिपक्व नभएसम्म कुनै पनि आन्दोलन सफल हुदैन भन्दै उनले पछिल्लो मधेस आन्दोलनलगायत विभिन्न आन्दोलन सफल नहुनुको मुख्य कारण त्यसैलाई मानेका छन्।

राष्ट्रिय मुक्ति क्रान्तिको बलमा नेपाललाई बहुलराष्ट्रिय राज्य संरचनाको सामुदायिक समाजवादी व्यवस्थामा रुपान्तरण गराउने महतोले दाबी गरेका छन्। महतोले काँग्रेस र कम्युनिष्टलाई पुँजीपति दलालको संज्ञा दिएका छन्।

नेपालमा संविधान जारी भए पनि त्यसले नेपाली जनताको समस्या समाधान नगरेको भन्दै महतोले फेरि पनि नेपालमा अर्को राजनीतिक विद्रोहको गुञ्जायस जीवितै रहेको र सो विद्रोहलाई पार्टीको दस्ताबेजमा ‘बहुलराष्ट्रिय विद्रोह’ भनेका छन्।

प्रकाशित: १ भाद्र २०८१ ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App