१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

‘दाहाल, लामिछानेहरूको फाइल खोल्ने बेला आएको छ’

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचारका फाइलहरू खुल्ने डरले कांग्रेस–एमालेले हतारहतार समीकरण गरेको भनेर माओवादी केन्द्रले हल्ला चलाएको बताएका छन्। एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको ‘पुष्पलालको दृष्टिकोण र नेपालको समृद्धि’ विषयक वक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्दै उनले सरकारको नेतृत्व गरिरहँदा किन फाइल नखोलिएको भनी प्रश्न गरे।

‘१९ महिना निरन्तर सरकारको नेतृत्व गरिरहनुभएका पुष्पकमल दाहाललाई कसले रोकेको थियो फाइल खोल्न? फाइल रोक्न कसले दबाब दिएको थियो ? कसले उहाँको आँखामा कालोपट्टी बाँधिदिएको थियो,’ उनले भने। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामेछानेलाई पनि चर्को कुरा नगर्न सुझाव दिए । दुईपटक गरी ६ महिना गृहमन्त्री भएका बेला लामिछानेद्वारा फाइल किन खोलिएन भनेर पनि उनले प्रश्न गरे।

रविकै पार्टीबाट उपसभामुख रहेकी इन्दिरा रानाले संसद् सचिवालय र परराष्ट्र मन्त्रालयलाई थाहै नदिई कूटनीतिक पत्र लेखेको स्मरण गराउँदै उनले बरु फाइल त ‘दाहाल र लामिछाने’हरूको खोल्ने बेला आएको बताए। ‘हामीले फाइल खोल्न आँटेपछि कांग्रेस–एमाले मिलेको भनेर हल्ला चलाउनुभएको छ,’ उनले भने, ‘बरु फाइल त उहाँहरूको खोल्ने बेला आएको छ।’ आफूभित्रको कमजोरी सच्याएर अघि बढ्न माओवादी केन्द्र र रास्वपालाई उनले सुझाव पनि दिए।

उपमहासचिव ज्ञवालीले अहिलेको परिवर्तनको कारक माओवादी केन्द्र र त्यसमा पनि उक्त पार्टीका अध्यक्ष दाहाल नै भएको जिकिर गरे। दाहालले निम्त्याएको अस्थिरतालाई रोक्ने प्रयासस्वरूप कांग्रेस–एमालेले सहकार्य गर्नुपर्ने वातावरण सिर्जना भएको उनको भनाइ थियो। जनादेशबाट बनेको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट विस्थापन गरेर २०७८ असार २८ गते मुलुकलाई अत्यन्तै गलत दिशामा लगिएको र त्यसपछि राजनीति भद्रगोल भएर नेपाल पश्चगमनको बाटोमा गएको उनले बताए । तीन वर्षपछि गत असार २८ गते कांग्रेस–एमाले मिलेर त्यसलाई ठिक ठाउँमा ल्याइएको उनले स्पष्ट पारे।

तीन वर्ष प्रतिपक्षमा रहेको एमालेलाई सत्तापक्षबाट घेराबन्दीमा पार्ने, निषेध गर्ने, एमाले विरुद्ध भ्रम फैलाउने काम भएको उपसभामुख ज्ञवालीको भनाइ थियो। ‘उक्त तीन वर्षमा एमालेविरुद्ध तत्कालीन सत्ता गठबन्धनबाट अनेकौं गतिविधि भए,’ उनले भने, ‘त्यतिबेला एमालेलाई समाप्त नै पार्ने हिसाबले डिजाइन भएको थियो । उक्त तीन वर्षमा मुलुकले पनि असाध्यै ठुलो पीडा भोग्नुपर्‍यो।’ सो अवधिमा नेपालको राष्ट्रियता नराम्ररी धर्मराएको उनले बताए। ‘असंलग्न परराष्ट्र नीति लिएर हिँडेको मुलुकलाई विदेशी क्रीडास्थल बनाउने खतरा देखा पर्‍यो। कतै नेपाल विभिन्न शक्ति केन्द्रहरूको भूराजनीतिक सिकार बन्ने स्थिति देखा पर्‍यो। मुलुकको अर्थतन्त्र डामाडोल भयो,’ उनले भने।

गत निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर बिग्रँदो राजनीतिक परिस्थितिलाई सोझ्याउने कोसिस एमालेले गरे पनि त्यसको भोलिपल्टैबाट धोका हुन थालेको उनले जिकिर गरे। ‘पछि फेरि एमालेसँग दाहाल मिलेर जाऔं भन्दै आउनुभयो। दाहाललाई विश्वास गरेर गत फागुनमा फेरि नयाँ राजनीतिक कोर्स सुरु गर्‍यौं। हामीले साह्रै उदारता देखायौं। रोजा मन्त्रालया दियौं। प्रधानमन्त्रीको आलोपालोको पनि कुनै चर्चा गरेनौं।’ तर दाहालले फेरि राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै हिँडेपछि एमाले–कांग्रेस मिल्नैपर्ने अवस्था आएको उनले बताए।

संयुक्त सरकारको मर्मअनुसार बजेट बनाउँदा पनि सहयात्री दलसँग माओवादी केन्द्रले सल्लाह नगरेको परिस्थितिमा पनि सरकार बदल्दा राम्रो संकेत नजाने भनेर समीकरण बदल्ने मनस्थितिमा एमाले रहे पनि तत्कालीन प्रधानमन्त्री दाहाल स्वयं नै राष्ट्रिय सहमतिका नाममा वैकल्पिक सरकारको खोजीमा लाग्दा कांग्रेसले पनि विश्वास गर्न छाडेको पनि उनले बताए। माओवादी केन्द्रको दाउपेचलाई कांग्रेसले स्वीकार नगरेपछि एमाले–कांग्रेस सहकार्य सम्भव भएको उनको भनाइ थियो।

प्रतिपक्ष कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा उठिरहेको बताउँदै उनले भने, ‘लोकतन्त्र त त्यतिखेर कमजोर हुन्छ, जतिखेर जनताको विश्वास जित्न सक्दैन।’ एमाले र कांग्रेसलाई पालैपालो दुरूपयोग गर्दै देशलाई बर्बादीतिर धकेल्न काम हुँदै आएकाले प्रधानमन्त्री फेर्न भन्दा पनि सुशासनका लागि समीकरण बदलिएको उनले बताए।

तास खेलको उदाहरण दिँदै जोकर काम लाग्ने हुँदाहुँदै कहिलेकाहीँ फाल्तु पनि हुने बताउँदै ज्ञवालीले माओवादी केन्द्रको जादुयी नम्बर अहिले त्यस्तै अवस्थामा पुगेको बताए। ‘हामीसँग जादुयी नम्बर छ। यो जादुयी नम्बर घरी यता लगाउँछु घरी यता लगाउँछु र पाँचै वर्ष सत्ताको नेतृत्व गर्छु भन्दै दाहाल हिँड्नुभए पनि अब त्यस्तो अवस्था छैन,’ उनले भने।

अबको नयाँ परिस्थितिमा एमाले–कांग्रेसले एकअर्कालाई दोष देखाएर नहुने पनि उनले बताए। अप्ठेरोमा परेको मुलुकलाई निकास दिने र दुवैले दायित्व लिने जिम्मेवारीबोधका साथ एमाले–कांग्रेसले समीकरण गरेको उनले बताए। तर आउने चुनावमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुने र त्यसमा दुवै दलले द्विविधा नराखेको पनि उनले बताए।

देशलाई संकट परेको बेला एमाले–कांग्रेस मिलेर अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै उनले भने, ‘२०४७ सालको आन्दोलन मिलेर गर्‍यौं। २०४७ सालको संविधान बनाउँदा एउटै सरकारमा थियौं। २०५५ सालमा मिलेर सरकार बनायौं । २०६२–६३ सालको आन्दोलनपछि, २०७० सालको संविधानसभाको निर्वाचनपछि मिलेरै अघि बढ्यौं।’

अहिलेको परिवर्तनलाई लिएर भ्रम फैलाउने प्रयास भइरहेको पनि उनले बताए। ‘संविधान संशोधन प्रतिगमन हो भन्ने भ्रम फैलाउन माओवादी नेताहरू लाग्नुभएको छ,’ उनले भने। उनले संविधान गतिशील दस्ताबेज भएकाले १०/१० वर्षमा समीक्षा आवश्यक पर्ने उनको भनाइ थियो।

सम्पर्क कमिटीका सचिव वक्तृत्वकला प्रतियोगितामा महिलातर्फ काभ्रेकी तारा तामाङ र पुरूषतर्फ दोलखाका सुदर्शन दाहालले पहिलो स्थान हासिल गरेको आयोजक कमटीका सचिव धनबहादुर पुलामीले बताए। तामाङ र दाहालले १०/१० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे।

त्यसैगरी दोस्रो स्थान प्राप्त गर्ने रामेछापकी जेनिशा बस्नेत र नुवाकोटका रामनाथ खनाललाई ७/७ हजार रूपैयाँ तथा तेस्रो स्थान हासिल गर्ने सिन्धुलीकी मीनाश्री पहाडी र सिन्धुलीकै लोचन पहाडीलाई जनही ५/५ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिएको पुलामीले जानकारी दिए। प्रतियोगितामा १६ जनाको सहभागिता थियो।

निर्णायकका रूपमा त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका उपप्राध्याक डा. सिद्धबहादुर महर्जन तथा महेन्द्ररत्न क्याम्पस ताहाचलका उपप्राध्याकद्वय डा. गणेशराज अधिकारी र डा. शिवकुमार गौतम थिए। बागमती सम्पर्क कमिटीले विभिन्न राजनीतिक गतिविधि, संगठन निर्माण तथा विस्तारसँगसँगै विविध रचनात्मक गतिविधि गर्दै आएको, बागमतीका विभिन्न जिल्लाबाट राजधानी काठमाडौं आई बसोबास गरिरहेका कसैलाई अप्ठ्यारो परेको ठाउँमा आवश्यक सरसहयोग गर्ने गरेको, आयआर्जनमा लाग्न सक्नेगरी विविध सीपमूलक तालिमसमेत दिँदै आएको बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोककुमार ठकुरीले बताए।

त्यसैगरी विद्यार्थीको रचनात्मक क्षमताको अभिवृद्धि, अभिव्यक्ति कौशलताको विकास तथा नेपाली समाजको रूपान्तरणका साथै नेपाली जनताको मुक्ति र हकअधिकार प्राप्तिका लागि उल्लेखनीय योगदान दिने व्यक्तित्व पुष्पलालको स्मृतिका लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष एवं प्रचारप्रसार तथा प्रकाशन विभागका संयोजक सरोजमोहन लामाले बताए। 

प्रकाशित: ६ श्रावण २०८१ ०७:१८ आइतबार

#Pradeep Gyawali #CPN UML #Congress-UML #Corruption files