२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसदहरूद्वारा ओलीलाई संसद् विघटनको स्मरण

कांग्रेस–एमालेको नयाँ समीकरणबमोजिम अब एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दै छन्। अघिल्लो कार्यकालमा दुई/दुई पटक संसद् विघटन गरेर अदालतको आदेशपछि बालुवाटारबाट बालकोट पुगेका ओली फेरि तीन वर्षपछि प्रधानमन्त्री बनेर बालुवाटार फर्कंदै छन्। सत्ता समीकरण फेरिएर अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले संयोगले हो वा जानेर हो असार २८ गते विश्वासको मत लिन लागेका छन्। 

असार २८ गते त्यस्तो दिन हो, २०७८ असार २८ गतेका दिन सर्वोच्च अदालतको परमादेशले ओली सरकारले दोस्रो पटक गरेको संसद् विघटन बदर भएको थियो। तत्कालीन ओली सरकारले २०७८ जेठ ७ मध्यरातमा दोस्रो पटक विघटन गरेको संसद् पुनस्र्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेको थियो। ओली सरकारले पहिलो पटक २०७७ पुस ५ गते संसद् विघटन गरेपछि सर्वोच्चले २०७७ फागुन ११ गते पहिलो पटक पुन स्थापना गरेको थियो।

असार १७ गते कांग्रेस र माओवादीबीच भएको सात बुँदे सहमतिपछि असार १९ गते एमालेले दाहालको राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, प्रधानमन्त्री दाहालले संसद्बाट २८ गते विश्वासको मत लिने बताएका छन्। त्यसपछि २३, २४ र २५ गतेको संसद् बैठकमा एमालेले कहिले गीतबाट, कहिले व्यङ्ग्यबाट नैतिकता भए राजीनामा दिन माग गरिरहेको छ।  

मंगलबारको बैठकमा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नैतिकताको प्रश्न गर्नेहरूले संसद् विघटको विगत ख्याल गर्नुपर्ने बताइन् । प्रधानमन्त्री दाहालले असंवैधानिक कदम केही पनि नचालेको बरु संविधानकै व्यवस्थाबमोजिम विश्वासको मत लिन लागेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ साल पुस ५ गते पहिलो पटक गरेको प्रतिनिधिसभा विघटनको घटना स्मरण गराइन्। ‘माओवादीले कुर्सीका लागि संविधानको गलत व्याख्या गर्दैन, सही अभ्यास गर्छ, सबैलाई सही बाटो देखाउँछ,’ उनले भनिन्।

यता कांग्रेसले भने प्रधानमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिने कुरा गरेको छैन। मंगलबारकै बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानअनुसार विश्वासको मत लिनका लागि व्यवस्था गरिएको ३० दिनकै समय प्रधानमन्त्री पुष्पकमल दाहालले लिए पनि आपत्ति नहुने बताए। तर, सरकारमा बसेसम्म सदनप्रति पूर्ण जिम्मेवार हुनुपर्ने उनले बताए।  कांग्रेस सांसद पूर्णबहादुर तामाङले पनि देशभरी बाढीपहिरोले मानवीय क्षति भइरहेका बेला संसद्मा गीत गाएर दोहोरी खेलेर नैतिकताको कुरा गरेको भन्दै आपत्ति जनाए।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पनि प्रधानमन्त्री बन्न लागेका ओलीको विगत राम्रो नभएको बताए। ‘विगतमा उहाँले साढे तीन वर्ष सरकार चलाउनु भयो तर १८ खर्ब वैदेशिक ऋण बोकाउनुभयो,’ उनले भने, ‘उहाँ सरकारमा जाँदा नेपालको वैदेशिक ऋण ७ खर्ब थियो, सरकारबाट फर्किंदा १८ खर्ब भयो, व्याज तिर्दा कुल २४ खर्ब भयो, अब उहाँ दुई वर्ष प्रधानमन्त्री हुँदा ४८ खर्ब हुनेछ।’ उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नगर्नाले वा बेचन झा र प्रतीक थापालाई पक्राउ गर्नाले माओवादी एमालेको समीकरण भत्काएको हो भनेर प्रश्न पनि गरे।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै भने, ‘बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्‍याएको अवस्था हो।’ उनले प्रधानमन्त्री दाहालले सत्ताको खेल पछिल्लो समय नबुझेर पनि यो समस्या आएको बताए। ‘अहिले वर्तमान प्रधानमन्त्रीले बुझ्नुभएन खेल,’ उनले भने, ‘२०७९ पुस १० गते तपाईं जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा सुरु भएको थियो, तपाईंले कति पटक बालकोट धाउनुभयो, कति पटक बूढानीलकण्ठ पुग्नुभयो ? यसरी चल्छ राजनीति ?’ उनले प्रश्न गरे।

प्रकाशित: २६ असार २०८१ ०८:११ बुधबार

#Pushpa Kamal Dahal #KP-Oli #Congress-UML