१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

घोषणा पत्रलाई कार्यान्वयनमा ल्याउन सके न्यायक्षेत्रमा सुधार आउने विश्वास

नेपालगन्ज- नेपाल बार एशोसियशनको नेपालगन्जमा सम्पन्न १४ औं राष्ट्रिय सम्मेलनले पारित गरेको घोषणा पत्रमा रहेका बुँदालाई चाडो कार्यान्वयन गर्न कानुन ब्यवसायीले जोड दिएका छन्। यही चैत ९, १० र ११ गतेसम्म चलेको सम्मेलनले २८ बुँदे घोषणा पत्र जारी गरेको थियो। घोषणा पत्रमा उल्लेख भएका बुँदालाई कार्यान्वयनमा ल्याउनसके मुलुकको न्यायक्षेत्रमा सुधार आउने कानुन ब्यवसायीको विश्वास छ।

नेपाल बारका उपाध्यक्ष शालिकराम सापकोटाले घोषणा पत्रमा संविधान कार्यान्वयनको विषयका साथै न्यायपालिका र कानुन ब्यवसायी भित्रका विकृति अन्त्यका लागि जोडतोडका साथ उठाइएको औल्याउँदै घोषणापत्र ‘ईतिहासकै महत्वपूर्ण’ दस्ताबेजको रुपमा आएको बताए । ‘प्रधानन्यायाधीश र न्यायाधीशमाथी छानविन गर्नुपर्नेदेखी कानुन ब्यवसायीलाई समेत बिचौलिया भनेर लेखेका छौं,’ उनले भने ‘घोषणा पत्रमा समग्र न्यायक्षेत्रको बिकृती अन्त्य गर्न ध्यानाकर्षण गराएका छौं ।’ सम्मेलनले सम्पूर्ण विधि र प्रक्रिया पुरा गरेर घोषणापत्र जारी गरेको उपाध्यक्ष सापकोटाको दाबी छ । ‘बारले विभिन्न बिचारको प्रतिनिधित्व गर्छ, ९८ प्रतिशतले पारित गरेको घोषणापत्रलाई २ प्रतिशतले असहमती राख्नुको अर्थ हुदैन,’ उनले भने ‘राजसंस्था फाल्दा संसदमा कमल थापाले असहमती प्रकट गरेका हुन्, तरपनि मुलुकमा गणतन्त्र आएकै हो त।’ घोषणापत्रमाथी फरक मत राख्न पाउने अधिकार रहेको उपाध्यक्ष सापकोटाले बताए।

बारका केन्द्रीय सदस्य मधुर पाठकले सम्मेलनले पारित गरेको घोषणा पत्र ऐतिहासिक रुपले महत्वपूर्ण रहेको दाबी गरे। ‘सम्मेलनको घोषणा पत्र तयार गर्न बनेको १७ सदस्यीय समितिभित्र पनि सबै बिचारको प्रतिनिधित्व रहेको थियो,’ केन्द्रीय सदस्य पाठकले भने ‘तर घोषणा पत्रको विषयमा जुन कुरा नकारात्मक रुपले बाहिर आयो, त्यो आपत्तिजनक छ, बार एशोसियशन १८ हजार कानुन ब्यवसायीको संगठन हो, एक/दुई जना ब्यक्तिको बिचारलाई बोकेर हिड्न सकिदैन।’

 नेपाल बारका पुर्वउपाध्यक्ष प्रह्लाद कार्कीले समितिका १७ जनाले हस्तक्षर गरेर सहमती जनाइसकेको घोषणा पत्रलाई सम्मेलनले पारित मात्र गरिदिएको बताए। ‘घोषणा पत्रको बैधानिकता भनेको १७ जनाको हस्ताक्षर हो, कोही ब्यक्तिको बिचार समेटिएन भनेर भ्रमपूर्ण कुरा गर्नु हुँदैन,’ कार्कीले भने।

 घोषणा पत्र तयारी समितिका सदस्य एवम् पुनरावेदन बार नेपालगन्जका पूर्वअध्यक्ष लोकबहादुर शाहले राष्ट्रिय सम्मेलनमा १० वटा समितिले प्रस्तुत गरेका विषयमाथी ब्यापक रुपमा छलफल गरी १७ सदस्यीय समितिले घोषणा पत्र सर्वसम्मत रुपमा तयार गरेको प्रष्टाए। ‘बार सबैको विचार अट्ने संगठन भएको हुँदा सर्वसम्मत रुपमा घोषणा पत्र बनाउने कुरा भयो, समितिका १७ जनाको सैद्धान्तिक सहमतीमा तयार भएको हो,’ शाहले भने।

  बारको घोषणा पत्र तयारीका लागि एमाले निकट कानुन ब्यवसायी एवम् बारका पूर्वउपाध्यक्ष(वरिष्ठ अधिवक्ता) हरिप्रसाद उप्रेतीको संयोजकत्वमा समिति बनेको थियो । उक्त समितिमा एमाले, काँग्रेस, माओवादी केन्द्र, मधेस केन्द्रीत दल निकट कानुन ब्यवसायीको प्रतिनिधित्व गराइएको थियो । तर, घोषणा पत्रमा स्पष्ट नपारिएको भन्दै एमाले निकट कानुन ब्यवसायीकै एउटा समूहले असहमती जनाएको थियो । उक्त समूहको नेतृत्व बारका पूर्वउपाध्यक्ष टिकाराम भट्टराईले गरेका थिए । तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीको महाअभियोग, निर्वतमान प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्हिगमन प्रकरण, अदालतभित्रको बिकृती, विसंगती र भ्रष्टाचारका विषयमा घोषणा पत्रमा स्पष्ट नपारिएको उनीहरुको गुनासो थियो ।

 उक्त घोषणा पत्रमा न्यायपालिकामा ब्याप्त रहेको भ्रष्टाचार झन् बढ्दै गएको र निश्चित न्यायाधीश, कर्मचारी, कानुन ब्यवसायी र बिचौलियाको मिलेमतोमा भइरहेको भ्रष्टाचार निर्मूल गर्नका लागि बिद्यमान संयन्त्रलाई प्रभावकारी बनाउन प्रधानन्यायाधीश, न्याय परिषद, न्याय सेवा आयोग र कानुन ब्यवसायी परिषद समक्ष माग गरिएको छ। न्यायपालिकाको स्वतन्त्रतामा आँच आउने गरी हुने सबैखाले अनुचित दवाव र प्रभाव स्वीकार्य हुने भन्दै न्यायपालिकाको स्वतन्त्रतामा हस्तक्षेप हुने कुनैपनि गतिविधि नगर्न सचेत गराएको छ ।

 न्यायाधीशबाट भएका फैसला र आदेशको व्यक्तिगत अभिलेख राख्ने व्यवस्था राख्न, न्यायपालिकाको स्वतन्त्रता अक्षुण राख्न र जनआस्था जगाउन सबै तहका अदालतमा कार्यरत न्यायाधीशको सम्पत्ती अध्याबधिक रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउन प्रधानन्यायाधीश र न्याय परिषदको ध्यानाकर्षण गराइएको छ । मुद्दाको पेशी तोक्दा न्यायपालिका पटक–पटक विवादमा आएको भन्दै पेशी सूची तोक्न गोला (राफल) प्रणाली अबलम्बन गर्न घोषणा पत्रमा उल्लेख छ । न्यायमा देखिएका विकृती अन्त्यका लागि अन्तरिम तथा अन्तरकालिन आदेशको कार्यविधि बनाएर लागु गर्न सर्वोच्च अदालत (फुलकोट)को ध्यानाकर्षण २८ बुँदे घोषणा पत्रमार्फत गरिएको छ । बारका उपाध्यक्ष सापकोटाले नेपालगन्जमा सम्पन्न बारको सम्मेलन निकै महत्वपुर्ण रहेको बताए । ‘नेपालगन्जमा जसरी सम्मेलन भब्यताका साथ सम्पन्न भयो, हामी सबैले गौरव महसुस गरेका छौं,’ उनले भने ।

 

प्रकाशित: १३ चैत्र २०७४ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App