४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम २ मा निर्वाचित सुहाङलाई नजिकबाट जानौँ

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुहाङ नेम्बाङ निर्वाचित भएका छन्। राजनीतिमा प्रायः नदेखिएका ३५ वर्षीय सुहाङले ६९ हजार ३ सय ७४ मध्ये २७ हजार ७ सय ७२ मत ल्याए। उनले निकटमत् उम्मेदवारभन्दा ५ हजार ८ सय ३० मतान्तरमा विजयी भएका हुन्।

सुहाङ संविधानसभा अध्यक्ष तथा तत्कालीन एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङका कान्छा छोरा हुन्। अधिवक्ता नेम्बाङले कानुन संकायमा स्नातकोत्तर गरेका छन्। बुबा सुवास र आमा विशाल नेम्बाङका छोरा सुहाङको जन्म २०४६ फागुन ६ मा भएको हो।

बाल्यकालमा काठमाडौंमै रहेकाले उनी काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलमा नर्सरी कक्षामा भर्ना भए। जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गरे। ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरे। त्यसपछि उनी अस्ट्रेलिया गए।

अस्ट्रेलियमा करिब अढाई वर्ष बसेर उनी काठमाडौं नै फर्किए। ‘बुबाले कानुन पढ्न सुझाव दिनुभयो,’ उनी सम्झिन्छन्, ‘त्यसपछि बिएएलएलबी अध्ययन गर्न नेपाल फर्किए।’ काठमाडौं स्कुल अफ लमा उनले एलएलबी र एलएलएम अध्ययन गरे।

खेलकुदमा पनि ज्यादै रुचि रहेका सुहाङ फुटबलका पारखी हुन्। उनका बुबा सुवाससमेत फुटबलमा ज्यादै रुचि राख्थे। ‘अस्ट्रेलियाबाट फर्किएपछि कलेजमा भएँ, खेलकुद प्रतियोगितामा सहभागी हुनथालें,’ उनले भने, ‘फुटबलमात्र होइन, अरू खेलमा पनि उक्तिकै रुचि बढ्यो, केही समयपछि क्लब नै स्थापना गर्‍यौँ।’

बुबा सुवास र आफ्नो सपनाअनुसार नै इलाम स्पोर्टिङ डी मेची फुटब क्लब स्थापना गरे उनले। ‘यो क्लब बुबा र मेरो सपना पनि हो,’ सुहाङ भन्छन्, ‘खेलकुद बुबाको रुचिको विषय थियो, खेल क्षेत्रको विकासमा लाग्न पनि मलाई यसले सघाएको छ। यही सोचले क्लब स्थापना गर्न प्रेरित गरेको हो।’

सुवास नेम्बाङ सालिन नेता मानिन्थे। उनी कसैलाई आरोप–प्रत्यारोप नगरी आफ्ना विचार राख्थे। सुहाङको स्वभाव पनि बुबाकै जस्तो भएको धेरै इलामबासी चर्चा गर्छन्। उनले यो पटक चुनावी अभियान र घरदैलो कार्यक्रमहरूमा पनि त्यही विशेषता प्रकट गरेको एमालेजन बताउँछन्।

‘बुबा र मबीच एउटा सहमति भएको थियो,’ उनले बुबाको स्वभाव सम्झिएर भने, ‘हाम्रो सहमतिअनुसार म बुबाको प्रभाव र पदको प्रयोग गरेर सरकारी जागिर नखान राजी थिएँ।’ व्यक्ति आफैं सक्षम बन्नुपर्छ भन्ने बुबाकै प्रेरणाले आफूले कहिल्यै पनि बुबाको शक्तिलाई आड नलिएको सुहाङ बताउँछन्।

पारिवारिक रूपमा सुहाङ अहिले आमा, दाजु र दिदीहरूसँग छन्। ‘म ३५ वर्षको हुँदा बुबासँग नौ पटकमात्र दसैं मनाएँछु,’ उनले सम्झिए, ‘बुबाले आफ्नो सबै जीवन देश परिवर्तन र पार्टीका लागि नै दिएकाले मलाई त्यही प्रेरणा मिलेको हो।’

सुहाङ आफू  इलाम २ मा विजयी भएर आफूसँगै चुनावी मैदानमा रहेका अरू प्रतिस्पर्धी उम्मेदवारसँग बसेर इलामको समृद्धिका लागि छलफल गर्न मन रहेको उनको भनाइ छ।ती मुद्दालाई साझा मुद्दाका रूपमा लिएर कार्यान्वयन गर्ने उनको प्रतिबद्धता छ। ‘मेरा प्रतिस्पर्धी सबै उम्मेदवारसँग बसेर छलफल गर्न मन छ,’ उनी भन्छन्, ‘उहाँहरूले उठाउनुभएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ, इलामका समस्या समाधान गर्न कस्तो नीति र योजना बनाउनुपर्छ भन्ने विषयमा काम गर्नु छ।’

यस्तो छ ‘सुहाङ संकल्प’

सुहाङले चुनावी मैदानमा जाँदैगर्दा मतदातासँग मुख्य १० एजेन्डामा केन्द्रित रहेर समृद्ध इलाम–सुखी इलामेलीका लागि ‘सुहाङ संकल्प’ ल्याएका थिए।

उनले सुशासन, कृषि, पर्यटन, स्वास्थ्य, सडक, शिक्षा, उद्योग, खेलकुद, खानेपानी, सूचना–सञ्चारलगायत विषयका एजेन्डा ल्याएका थिए। सुशासनअन्तर्गत उनले ‘हाम्रो दृढ र स्पष्ट विचार: हुन दिन्नौं इलामका कुनैपनि आयोजनामा भ्रष्टाचार’, कृषितर्फ सुखी इलामेलीको आधार: ८ अको अनुसन्धान, आधुनिकीकरण, ब्रान्डिङ र बजारीकरण’ र पर्यटनतर्फ ‘विदेशी पर्यटक आवागमनको आधार: एकीकृत पर्यटन प्याकेज निर्माण र प्रचार उनका नारा छन्।

स्वास्थ्यतर्फ ‘हरेक स्थानीय तहमा चिकित्सकसहितको अस्पताल: मर्ने छैनन् कोही इलामेली अकाल’, सडकतर्फ ‘हरेक वडादेखि पालिका केन्द्रसम्म पक्की सडक: बनाउनेछौं सबै इलामेलीको दैनिकी सहज’ र शिक्षातर्फ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि: गाउँ फर्किनेछन् हाम्रा छोराछोरी’लाई उनका एजेन्डा हुन्।

यसैगरी, उद्योगतर्फ ‘इलामेलीको इलम: सहरका हरेक डिपार्टमेन्टल स्टोरमा मेड इन इलाम’, खेलकुदतर्फ ‘एक वडा एक खेलकुद मैदान, एक स्थानीय तह एक रंगशाला: खेलाडीको संरक्षण हाम्रो अभिभारा’, खानेपानीतर्फ ‘एक घर एक धारा ः सफा खानेपानी सुविधा सुनिश्चितता हाम्रो अभिभारा र सञ्चार तथा सूचनातर्फ ‘हरेक घरमा इन्टरनेट सुविधा ः हुने छैन देश–विदेशको सूचनामा द्विविधा’ सुहाङका चुनावी एजेन्डा छन्।

यीबाहेक उनले सहरमा संघर्ष गरिरहेका गाउँलेका छोराछोरीको आफू सधैं साथी हुने, विदेशमा अलपत्र इलामेको उद्धार, किरात धार्मिकस्थल लारुबालाई राष्ट्रिय पहिचान दिनेदेखि इलामेका मुद्दामामिलामा कानुनी सल्लाहसमेत दिने एजेन्डा मतदातासामु राखेका छन्।

प्रकाशित: १८ वैशाख २०८१ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App