४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार असुरक्षित थिएन, राजनीतिक कारणले गठबन्धन बदल्नुपर्‍यो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत रूपमा नेपाली कांग्रेससँगको सम्बन्ध राम्रो भएपनि राजनीतिक कारणले बाटो परिवर्तन गर्नुपरेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकसित घटनाक्रमबाट आफूले सत्ताको धार परिवर्तन गर्नुपरेको स्पष्टिकरण दिए।

‘जिम्मेवारीपूर्वक भन्न चाहन्छु अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रधानमन्त्रीका रुपमा कुनै समस्या वा अप्ठेरोमा थिएन,’ उनले भने, ‘न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थिएन। नेपाली कांग्रेसनको नेतृउत्व र मेराबीच कुनै समस्या थिएन। टिकिरहनुलाई मात्रै स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन।’ ११ महिनाको साथ र सहयोग प्रति कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य नेतालाई धन्यवाद दिए। उनले भने,‘हाम्र्रो नीजि समन्धमा अहिले पनि उत्तिकेै सद्भाव छ।’

तर राजनीतिमा व्यक्तिगत सम्बन्धमा भन्दा पनि राजनीति परिणाम निर्णायक हुने आफूलाई लागेको प्रधानमन्त्री दाहालले बताए। ‘निर्वाचनमा माओवादी केन्द्रले जुन किसिमले सहयोग गर्‍यो। त्यही तहमा कांग्रेसबाट भएन भन्ने मनोविज्ञान देशभरीको हो। निर्वाचनपछि माओवादी केन्द्रलाई नेतृत्व दिने सहमतिबाट नेतृत्व पछि हट्दा अर्को मनोविज्ञान बन्न गयो,’ उनले भने, ‘एउटा परिस्थिती फेरिएर फेरी जोडिएपछि कोसीमा एउटा पक्षले माओवादीका विरुद्ध एक किसिमको विद्रो नै गर्‍यो। गठबन्धनको नैतिकतामा त्यो एककिसिमको दण्डित हुनुपथ्र्यो।’ त्यसपछि  राष्ट्रियसभा निर्वाचनमा माओवादी उम्मेदवारलाई अन्तर्घात गरेको विषयमा माओवादी केन्द्रभित्र अर्को मनोविज्ञान बनेको उनले बताए।

त्यसपछि महासमिति बैठकमा बिना सन्दर्भ त्यही गठबन्धनको निन्दा जस्तै गरिएको प्रधानमन्त्री दाहालले बताए। ‘जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो भन्ने बिर्सिएर चर्चा परिचर्चा निकालेर एक किसिमले निन्दा गरियो। निर्वाचन आउन चारवर्ष बाँकी छैन, गठबन्धनका साझेदारमाथि अनावश्यक र बेमौसमको मानमर्दन कुनै किसिमले पनि जायज मान्न सकिएन,’ उनले भने। यस्तै महासमितिका दस्तावेजमा र धर्मका नाममा गरिएका गतिबिधिले सँगै बस्न सक्ने स्थिती नबनेको उनले बताए।

प्रकाशित: २४ फाल्गुन २०८० १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App