दोलखा – गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभरमै सबैभन्दा फराकिलो मतान्तरको रेकर्ड राखेर दोलखामा लज्जाजनक हार व्यहोरेको कांग्रेस निल हुनबाट भने जोगिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फको निर्वाचनमा अकल्पनीय अन्तर राखेर पराजय व्यहोरेका कारण जिल्लाबाट प्रतिनिधित्व शून्य बनेको कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीतर्फ भने दुईजना सांसदले प्रतिनिधित्व गर्न पाएका छन् ।
कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं नेता जिपछिरिङ लामालाई जनजाति कोटाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएको छ । जिल्लाको जिरी नगरपालिका १ श्यामा गाउँका लामा पार्टीका पूर्व केन्द्रीय सदस्य एवं २०६४ को संविधानसभामा सभासद थिए । यस्तै दोलखा मूलघर भएका दिव्यमणि राजभण्डारीसमेत कांग्रेसबाट समानुपातिक सांसद बनेका छन् ।
काठमाडाै ४ बाट प्रतिनिधित्व गरे पनि उनको जन्मस्थान भीमेश्वर नगरपालिका २ दोलखा बजार हो । राजभण्डारीलाई चुनावअघि जिल्ला कांग्रेसले समेत समानुपातिक कोटाका लागि सिफारिस गरेको थियो । उनी दोलखा कांग्रेसबाट प्रतिनिधित्व गर्दै दुईपटक महाधिवेशन प्रतिनिधिसमेत बनेका थिए । राजनीतिसँगै दुवै नेता व्यापारिक पृष्ठभूमिका हुन्।
कम्युनिष्ट प्रभाव रहेको दोलखामा सांगठनिक रूपले कांग्रेसको उपस्थिती कमजोर छ । १५ साल यताका चुनावमा दुईपटक बाहेक कांग्रेसले प्रायः पराजय व्यहार्दै आएको छ । दोलखा कांग्रेसका पुराना नेता एवं पार्टीका पूर्व जिल्ला सभापति देवी न्यौपानेका अनुसार तत्कालीन सभापति विपी कोइरालाले २०१५ सालमा राष्ट्रिय प्रजा परिषद्बाट सुरी गाउँका गृहबहादुर बस्नेतलाई चुनावअघि कांग्रेस भिœयाएर टिकट दिई विजयी गराएका थिए ।
यस्तै २०५१ को मध्यावधि निर्वाचनमा स्वर्गिय नेता भीमबहादुर तामाङले क्षेत्र नं १ मा जितेका थिए । २०५६ को राष्ट्रियसभा निर्वाचनमा जिल्लाका कांग्रेस नेता रामजीवन सिंहले समेत राष्ट्रियसभा सदस्य जितेका थिए । यस्तै २०६४ को संविधानसभा चुनावमा जिपछिरिङ लामा समानुपातिक सांसद बनेका थिए । ४८, ५६, र ७० सालको निर्वाचनमा भने कांग्रेसको उपस्थिती निल बनेको थियो ।
‘विभिन्न कारणले पराजय व्यहोर्यौं तर यसपटकको चुनावमा प्रतिनिधित्व हुन पाएकोमा खुसी छौं’ जिल्ला कांग्रेसका सचिव सन्तोष रिमालले भने, ‘अब युवा पुस्तालाई साथ लिएर सांगठनिक सुधारको अभियानमा अवश्य लाग्नेछौं ।
’ निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा एक र प्रदेशसभाका दुई क्षेत्र रहेको दोलखाबाट दुवै सभामा गरी १० जना सांसदले प्रतिनिधित्व गरेका छन् । प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ६ सांसदले प्रतिनिधित्व गरेका छन् ।प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेका पार्वत गुरुङ देशभरीमै सबैभन्दा बढी मतान्तरको रेकर्ड राख्दै विजयी भएका थिए ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गुरुङ जिल्लाको गौरीशंकर गाउँपालिका ५ सुरीका हुन् । यस्तै प्रदेशसभा १ मा माओवादी केन्द्रका विशाल खड्का र २ मा एमालेका पशुपति चौलागाईले जितेका थिए । खड्का गौरीशंकर गाउँपालिकाकै १ नम्बर वडास्थित जुंगु गाउँका हुन् भने वैत्येश्वर गाउँपालिका ४ मैनापोखरीका चौलागाई एमाले पोलिटव्यूरो सदस्य हुन् ।समानुपातिकतर्फ एमालेकी शान्तिमाया पाख्रिन जनजाति महिला कोटामा सांसद बनेकी छिन् । २०६४ सालमा समेत समानुपातिकतर्फ सभासद बनेकी जिरी नगरपालिका ८ ठूलोपातलकी पाख्रिन तत्कालीन विद्रोही माओवादीद्धारा जनयुद्धकालमा हत्या गरिएका बुद्धिमान पाख्रिनकी पत्नी हुन् ।
यस्तै प्रदेशसभातर्फ एमालेकी सरस्वती बस्नेत र रचना खड्का साथै माओवादी केन्द्रकी हिमाली गोले र आङदेण्डी शेर्पा समानुपातिक सांसद बने । एमाले ३ नम्बर प्रदेश कमिटी सदस्य बस्नेत सुरी गाउँकै हुन् भने पार्टी वैकल्पिक केन्द्रीय सदस्य रहेकी खड्का भीमेश्वर नगरपालिका ६ की हुन् । माओवादी केन्द्रकी गोले वैत्येश्वर १ गैरीमुदीकी हुन् भने शेर्पा जिरी नगरपालिकास्थित श्यामा गाउँका हुन् । एमाले जिल्ला अध्यक्ष एवं तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जिल्लाले १० जना सांसद पाएर नेतृत्व तहमा समेत देशभरिमै अब्बल जिल्लाका रूपमा दोलखाले आपूmलाई स्थापित गरेको प्रतिक्रिया दिए ।
प्रकाशित: ६ फाल्गुन २०७४ ०३:०५ आइतबार