१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीको मोर्चामा पनि विजयी

प्रदेश प्रमुख दुर्गाकेशर खनालार्इ मुख्यमन्त्रीमा नियुक्तिकाे लागि दाबी पेश गर्दै महेन्द्रबहादुर शाही । तस्बिर: नागरिक

कलेन्द्र सेजुवाल/नगेन्द्र उपाध्याय

सुर्खेत – बिहीबार साँझ करिब ४ः४५ बजे इत्रामस्थित प्रदेश प्रमुखको कार्यालय परिसरमा बा७च ६६४९ नम्बरको कालो रङको ‘स्विफ्ट’ कार पस्यो । बहुप्रतीक्षित उक्त कारमा थिए– महेन्द्रबहादुर शाही, यामलाल कँडेल, प्रकाश ज्वाला र नरेश भण्डारी । यी तिनै व्यक्ति थिए, जसले मुख्यमन्त्रीको मिठो सपनासहित गत निर्वाचनमा संघीय संसदको यात्रा प्रदेशसभातिर मोडेका थिए ।

निर्वाचनका बेला उम्रिएको मुख्यमन्त्री महत्वाकांक्षा संसद्को सपथपछि थप चुलियो । माओवादी केन्द्रमा शाही, भण्डारी तथा एमालेमा कँडेल र ज्वालाबीच आन्तरिक प्रतिस्पर्धा तीव्र बन्यो । अन्ततः माओवादीबाट शाही र एमालेबाट कँडेल मुख्यमन्त्रीको अन्तिम दौडमा छानिए । वाम गठबन्धनको भागवण्डामा ६ नम्बर प्रदेश माओवादीलाई पर्दासमेत कँडेल यति खरो उत्रिए कि, उनको रफ्तार समय घर्किन केही मिनेट बाँकी रहँदासम्म उत्तिकै तेज थियो । अन्ततः दसक लामो युद्ध लडेको माओवादी सेनाको ६ नम्बर डिभिजन कमाण्ड सम्हालेका शाही ६ नम्बर प्रदेशको पहिलो राजनीतिक ‘कमाण्डर’ बन्न सफल भए । निकै लामो रस्साकस्सीपछि उनले मुख्यमन्त्रीको मोर्चा पनि जिते ।

२०५२ मा माओवादी सशस्त्र द्वन्द्व सुरु भएसँगै भूमिगत भएका शाही कर्णालीको पहिलो लडाकु दस्ताका सदस्य हुन् । भूमिगत कालमा ‘प्रज्ज्वल’ नामले चिनिने उनी माओवादी शान्ति प्रक्रियामा आएसँगै सैन्य नेतृत्वमा उदाए । सुर्खेत, दशरथपुरस्थित ६ नम्बर डिभिजन कमाण्डर बने । र, सेना समायोजनपछि राजनीतिक यात्रा सुरु गरे ।

माओवादी सशस्त्र द्वन्द्वमा कर्णालीका कमाण्डर मानिने कालिकोटका खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पुष्पकमल दाहाल नेतृत्वको माओवादी छोडेर मोहन वैद्य (हाल नेत्रविक्रम चन्द समूह)तिर लागेसँगै शाहीको राजनीतिक यात्राले सुगम बाटो तय ग¥यो । २०७० को संविधानसभा निर्वाचनमा सहजै टिकटमात्र पाएनन्, अत्यधिक मतले विजयी पनि भए । यो उनको राजनीतिक जीवनको पहिलो सफलता थियो । ‘त्यसपछि त उसले पछाडि फर्कनु परेन,’ शाहीका दाइ नाता पर्ने एमाले कालिकोटका नेता चन्द्रबहादुर शाही भन्छन्, ‘पार्टीभित्र र बाहिरका ठूल्ठूला प्रतिस्पर्धीलाई उछिन्दै मुख्यमन्त्री बन्नुमा सैन्य कुशलतासँगै राजनीतिक क्षमता पनि प्रमुख हो ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि शाहीको राजनीतिक यात्रा सफलताको अर्को सिँढीमा उक्लियो । निडर र लडाकु स्वभावका शाहीको प्रस्तावको फेस नगरेरै कार्की सर्वोच्च अदालतबाट बर्खास्त भए । तर, त्यो साहसिक कदमले उनलाई राष्ट्रिय राजनीतिक मञ्चमा प्रष्टसँग चिनायो । त्यसपछि नै उनको लागि ऊर्जा मन्त्रालयजस्तो महत्वपूर्ण मन्त्रालय सहजै प्राप्त भयो ।

गत स्थानीय तह निर्वाचन शाहीको लागि महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ बन्यो । कालिकोट (क)मा एमालेका कुर्मराज शाहीको दाबेदारी कमजोर भइदिएको भए संघीय संसदतिर लम्किसकेको उनको यात्रा प्रदेशसभातिर  सायदै मोडिन्थ्यो । उक्त क्षेत्रमा माओवादीका दुर्गाबहादुर रावत र एमालेका कुर्मराजको टिकट जुधेपछि अन्तिम समयमा रावतलाई प्रतिनिधिसभामा उठाउने निर्णय भयो । कुर्मराज प्रदेशसभामै लड्ने भए । कुर्मराजलाई कालिकोट (क)मा दिँदा रावत प्रतिनिधिसभामा लड्ने, जुन टिकट महेन्द्रबहादुरको हातमा परिसकेको थियो । प्रतिनिधिसभाको टिकट रावतलाई दिएर कालिकोट (ख)मा झरेपछि उनले नयाँ लक्ष्य लिए– प्रदेशको मुख्यमन्त्री बन्ने ।

शाहीको उम्मेदवारीले उतिबेलै वाम गठबन्धनमा तरंग ल्याएको थियो । विशेषगरी मुख्यमन्त्रीका अन्य आकांक्षीलाई निकै झस्काएको थियो । अन्ततः त्यो तरंग बिहीबार शान्त छालमा परिणत भयो । र, तत्कालको लागि अन्य तीन आकांक्षी शाहीको नेतृत्वमा हिँड्न सहमत भए ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App