५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद तोसिमाले मागिन् स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छिन्।

हुँदै नभएको आधारभुत अस्पतालहरुको सामान खरिद प्रकरणमा करोडौंको कमिसनको चलखेल गरिरहेकाले मन्त्री बस्नेतलाई तत्काल पदबाट हटाउनुपर्ने उनको जिकिर थियो। मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले अस्पतालहरुमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालहरुमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टिकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिने काम गर्न पनि संसदीय समितिसँग माग गरिन्।

सांसद कार्कीले २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्वसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन सोही मन्त्री बनाएको भनि पटकपटक प्रश्न समेत गरिन्। उनले कानुन विपरित कर्मचारीहरु हटाएर मन्त्री बस्नेतले वीर अस्पतालगायतका अस्पतालका विरामीहरुको उपचारमा समेत समस्या ल्याउने काम गरेको आरोप समेत लगाइन्।

सांसद कार्कीले भनिन्, ‘हाम्रो माननीय स्वास्थ्यमन्त्री मोहन बस्नेत २०७४ मा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि ल्याउने प्रक्रियामा खरिद बिक्री प्रक्रियामा ३ अर्बसम्म भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेर यो मुद्दा चलाउने भएको छ। २०७४ सालमा भएको यो घटना, यसरी मुद्दा चलिरहेको र भ्रष्टाचारको अभियोगमा परेका व्यक्तिलाई सर्वप्रथम त किन यो स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो? भन्ने मेरो प्रश्न । र, साथसाथै जब उहाँ स्वास्थ्यमन्त्री हुनुभयो। आज लगभग ७ महिनाभन्दा बढि भईसकेको छ। उहाँले गर्नु भएको मनोमानीहरु, गतिविधिहरु र अनैतिक कामहरुको सूचि निकै लामो छ। म यहाँ केही राख्न चाहन्छु। नियम मिचेर ऐन, कानूनको पनि बेवास्ता गरेर उनले मनपरी ढंगमा निर्देशकहरु हटाउने काम गरेका छन्। भक्तपुर क्यान्सर हस्पिटलका निर्देशक डा. विष्णुदत्त पौडेललाई हटाए। यो यो निर्णयलाई फेरी अदालतले उल्टयाई दियो। त्यस्तै गरी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक डा. दामोदर बास्तोलालाई पनि उनले हटाए मनोमानी तरिकाले। फेरि अदालतले यो निर्णय कार्यान्वयन नगर्न भनेर आदेश दियो। त्यसपछि फेरि उनले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने काम गरे। फेरि अदालतले यो निर्णयलाई उल्टयाई दियो। नरदेवी आयुर्वेद औषधालयका निर्देशक डा. प्रदीप केसीलाई समेतलाई हटाएर उनले अन्य कोहीलाई नियम मिचेर निर्देशक तोकियो भन्ने समाचारहरु पनि आईरहेको छ।’

प्रकाशित: १७ पुस २०८० १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App