४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘निरंकुशतन्त्रविरुद्ध लड्ने दायित्व सबैको’

प्रधानमन्त्री पुष्पकमल दाहालले उदार लोकतन्त्रविरुद्ध लाग्नेलाई परास्त गर्नु सबैको दायित्व भएको बताएका छन्। ‘लोकतान्त्रिक गणतन्त्र वैज्ञानिक छ,’ प्रधानमन्त्री कार्यालय सिंहदबारमा सोमबार अपराह्न सम्पादकहरूसँगको छलफलमा दाहालले भने, ‘निरंकुशतन्त्र गलत हो भन्ने दायित्व हामी सबैको हो।’

लोकतन्त्र स्थापनाको आन्दोलन तत्कालीन नेकपा (माओवादी) ले मात्र गरेको नभई पत्रकारहरूले पनि भूमिका खेलेको उल्लेख गर्दै दाहालले भने, ‘लोकतन्त्रको आन्दोलनमा तपाईंहरू पनि सरिक भएको होइन ? किन सरकारतिर मात्र प्रश्न सोझिन्छ ?’

अहिलेको नेपालको समाधान निरंकुशतन्त्र नभएर उदारवादी लोकतान्त्रिक शासन प्रणाली भएको दाहालले दाबी गरे। लोकतन्त्रको प्रतिरक्षाका लागि सबैले साझा जिम्मेवारी लिनुपर्ने उनको विचार थियो। ‘उदार लोकतन्त्र हाम्रो साझा उद्देश्य हो,’ उनले भने, ‘यसैबाट देशको विकास गर्ने हो। हामी यसैको पक्षमा हो।’

वर्तमान संविधानबाटै सुधार सम्भव भएकाले यसबारे जनतालाई बुझाउन आवश्यक भएको दाहालले बताए। संघीयता, धर्मनिरपेक्षताजस्ता विषयलाई धेरै छलफलपछि टुंगोमा पु¥याएको उनले बताए। भारतको नाम नलिई उनले कुनै मुलुकको ८० प्रतिशत जनसंख्या हिन्दु रहेको छ भने पहिले आफैंले त्यो निर्णय गरे हुन्छ तर नेपालतिर अजेन्डा थोपर्नु आवश्यक नभएको बताए। ‘नेपालको धर्मनिरपेक्षता हटाउनुपर्छ भन्ने कसैलाई लाग्छ भने तिनले नेपाल बहुजातीय, बहुधार्मिक मुलुक हो भन्ने स्वीकार गर्नुपर्छ,’ उनले भने।  

टिकटकबारे पुनर्विचार

प्रधानमन्त्री दाहालले हालै सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धको पछाडि प्रमुख दलहरूको दबाब रहेको समेत खुलासा गरेका छन्। टिकटकजस्तो सामाजिक सञ्जाललाई बन्द गर्नुभन्दा नियमन मात्र गरे पुग्छ भन्ने सम्पादकहरूको सुझावमा दाहालले भने, ‘तपाईंहरू त्यसो भन्नुहुन्छ भने कानुन निर्माणका क्रममा विचार गर्न सकिन्छ।’  

कुनै विदेशी शक्तिको दबाबभन्दा पनि देशभित्रै सबैको विरोध भएकाले टिकटक बन्द गरिएको उनले स्पष्ट पारे। मध्यरातमा आफ्नै नातिनातिनासमेत यसैमा झुम्मिन थालेपछि बन्द गर्न बाध्य भएको उनको धारणा थियो।  

विदेशी सेनामा भर्ती

युद्धरत रुस र युक्रेनी सेनामा समेत नेपाली संलग्न भई मृत्यु भएपछि यसबारे नेपाल सरकारले स्पष्ट पारेको प्रधानमन्त्री दाहालले बताए। नेपालसँग सम्झौता गरेका मुलुकबाहेक अन्यत्र गएर सेनामा भर्ना हुन नहुने भनी आवश्यक सूचना जारी गरिएको समेत उनले जानकारी दिए। रुस र युक्रेनजस्ता मुलुकमा नेपाली कसरी गएर सेनामा भर्ना भएका रहेछन् भन्ने जानकारी हासिल गर्नुपर्ने आवश्यकता प्रधानमन्त्रीले औँल्याए।  

नेपाली भूमिबारे

पश्चिम नेपालका लिम्पियाधुरा, कालापानीलगायत जमिन नेपालको भएको भनी संसद्ले पारित गरे पनि अझै कुल क्षेत्रफलसहित सार्वजनिक नगरेकोबारे प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो भारत भ्रमणका बेला समस्या समाधान गर्न सकारात्मक छलफल भएको बताए। ‘यो समस्याको समाधान वार्ता र संवादबाट गर्नुपर्छ,’ उनले भने, ‘विषयमा राजनीतिक प्रचार गरेर हल हुँदैन, नेताहरू बसेर समाधान गर्नुपर्छ भन्ने सहमति भएको छ।’

आफ्ना भारतीय समकक्षी मोदीले बंगलादेशसँगको सीमा विवाद समाधान गरेजस्तै नेपालसँग पनि निकास निस्किने बताएको जानकारी दाहालले दिए। बरु प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन कार्यान्वयनबारे कुनै छलफल नभएको उनले बताए।

प्रकाशित: १९ मंसिर २०८० ००:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App