१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘आर्थिक समृद्धिका लागि उच्चस्तरीय कार्यदल बनाइने’

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञ सम्मिलित संयुक्त कार्यदल गठन गरेर जाने स्पष्ट पारेका छन्।

उनले भने, ‘सबै राजनीतिक दलको साझा एजेण्डा आर्थिक समृद्धिको बनेको छ। आर्थिक समृद्धिको आधारसहित वामगठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको छ। अब हामी सबैको साझा एजेण्डा आर्थिक समृद्धि नै हो।’

नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको सोमबार भएको भेटमा अध्यक्ष दाहालले मुलुक र जनताको हितलाई केन्द्रमा राखेर विकास र समृद्धिको योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने दिशामा जानुपर्नेमा जोड दिए।

सरकार, उद्योगी व्यवसायी एक अर्काका परिपूरक भएको भन्दै अध्यक्ष दाहालले विज्ञलाई समेत सहभागी गराएर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समृद्धिको खाका कोरिने बताए।

दाहालले भने, ‘सरकार गठनमा केही ढिलाइ भएको छ। तर, स्थिर वामपन्थी सरकार बन्छ। अबको हाम्रो मुख्य प्राथमिकता राजनीतिक स्थायित्व र आर्थिक विकास नै हो। यसका लागि हाम्रो कर्मचारी प्रशासन र ऐनहरुमा रहेका सीमाहरुको अध्ययन गरेर त्यसलाई बदल्नुपर्दछ।’

निजी क्षेत्रसँगको सहकार्यमा आर्थिक विकास गर्ने आफूहरुको प्रष्ट धारणा रहेको भन्दै उनले कुनै पनि दुविधा र अस्पष्टता नराख्न समेत निजी उद्यमी तथा व्यवसायीलाई आग्रह गरे।

सरकार गठन भएपछि सम्बन्धित मन्त्रालय, निजी क्षेत्रका प्रतिनिधि र विज्ञ सम्मिलित कार्यदल बनाउने र त्यसको रिपोर्टका आधारमा आर्थिक विकासको खाका कोर्न सकिने उनको प्रष्टोक्ती थियो । अध्यक्ष दाहालले भने, ‘त्यसका लागि उद्योगी व्यवसायी पनि सोही दिशामा अग्रसर हुनुहोस्।’

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो प्रधानमन्त्रीत्वकालमा आर्थिक वृद्धि ७.२ प्रतिशत पुगेको, मूल्यवृद्धि दर दुई प्रतिशतको हाराहारीमा रहेको र विद्युत्भार कटौतीको अन्त्यले उद्योग क्षेत्रमा बहार आएको समेत स्मरण गरेका थिए।

भेटमा हरिभक्त शर्मासहितको परिसंघको टोलीले वामपन्थी शक्तिको बहुमतले देशमा राजनीतिक स्थिरता र आर्थिक विकास हुनेमा आफूहरु आशावादी रहेको बताउँदै नयाँ सरकारलाई निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने बताए।

प्रकाशित: २४ पुस २०७४ १५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App