१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

टाउकोमा ब्यान्डेज लगाएर गगन थापा सभामा सहभागी (भिडियाे)

सिफलको सभालाइ सम्बोधन गर्दै गगन थापा।

काठमाडौं—बम विस्फोटको घटनामा सोमबार दिउँसो टाउकोमा चोट लागेका काठमाडौं—४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापा चुनाबी सभामा सहभागी भएका छन्। सोमबार साँझ काठमाडौंको सिफलमा आयोजित सभामा उनी सहभागी भएका हुन्।

सभालाई सम्बोधन गर्दै नेता थापाले हिंसाको औचित्य कनै हिसाबले सावित हुन नसक्ने बताए। ‘जो सुकैले गरेको होस् व्यक्ति हत्या र हिंसाको राजनीति जबसम्म त्यसलाई इन्कार गरिन्न तबसम्म हिंसाले प्रश्रय पाइरहनेछ। व्यक्ति हत्या र हिंसाको औचित्य कुनै पनि तर्कले सिद्ध गर्न सक्दैन। हिंसा हिंसा नै हो’, उनले भने। 

सिफलमा उनले दिएको मन्तव्यको पूर्ण पाठ :

पशुपतिनाथले हात थापेको ठूलो दुर्घटना हुन पाएन
हामीले हाम्रो साथीको घरबाट टीका लगाएर बुवाको आर्शीवाद लिएर मत माग्ने घरदैलोको कार्यक्रम सुरु गर्यौं। त्यहाँबाट पाँच मिनेटमात्र अघि बढेका थियौं। म अलिक अगाडि पुगेको थिएँ। त्यही बेलामा ब्लास्ट भयो। एउटा संयोग भयो अलि अघि पुगेँ। मेरा थुप्रै साथी अहिले घाइते भएर अस्पतालमा हुनुहुन्छ।

म अहिले पनि सम्झँन्छु माओवादी र सेनाको भिडन्त भइरहन्थ्यो। म सानो झोला बोकेर नाइट बस चढेर जिल्लाको कार्यक्रममा जान्थेँ आन्दोलनको क्रममा। जाने बेलामा मेरो आमाले जहिले पनि चिन्ता व्यक्त गर्नुहुन्थ्यो। भन्नुहुन्थ्यो, तँलाई कहीँ कतै केही भइहाल्यो भने। मेरो जवाफ हुन्थ्यो, ‘मलाई कहीँ कतै गोली लागेर ढलेँ भने नरुनु होला। किनभने मेरो शिर खाली मैदानमा ढल्दैन कुनै न कुनै आमाको काखमा ढल्नेछ।’

पशुपतिनाथले हात थाप्नुभएकाले गर्दा आज त्यत्रो ठूलो घटना हुन पाएन। ब्लाष्ट भइसकेपछि मैले पछाडि फर्केर हेरेँ। मेरो साथी राजकृष्ण श्रेष्ठको घुँडा करिब करिब नभएको अवस्था देखेँ। पीडामा परेका साथीहरु चिच्याउँदै गर्दाको कोलाहालमा आफूलाई सम्हाल्न नसक्ने हुँदो रहेछ। त्यहाँ हामी सँगसँगै रुन थाल्यौं। साथीहरुलाई कसैले बाकेर अस्पतालतर्फ लगे। त्यो भन्दा केही अगाडि साना साना नानीहरु मसँग फोटो खिच्न भनेर आएका थिए। संयोगले अगाडि दौडेको बेलामा विस्फोट भयो। उनीहरु सँगसँगै हिँडेको भए के हुन्थ्यो होला। सम्झँदा पनि सिरिङ्ग भएर आउँछ। म मेरा साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। अस्पताल परिवारलाई धन्यवाद दिन्छु। धेरैले चिन्ता व्यक्त गर्नुभएको छ, म उहाँहरुप्रति सबैलाई सम्मान गर्छु। मसँग काठमाडौं—४ मा प्रतिस्पर्धा गरिरहनु भएका साथी राजन भट्टराई अस्पताल आउनुभएको रहेछ। त्यहाँ भेट्न खोज्दा उहाँहरुप्रति हुलहुज्जत भयो भन्ने समाचारमा पढेँ। मलाई दुःख छ यसमा। तपाइँहरुको टोलीले चिन्ता राख्नुभएकोमा त्योप्रति सम्मान प्रकट गर्दछु।

म सरकारलाई एउटा प्रश्न सोध्न चाहन्छु। काठमाडौंमा मध्य दिनमा बुढानिलकण्ठजस्तो ठाउँमा, हिजो राति मात्र तय भएको कार्यक्रममा यति नियोजित ढंगले त्यति खुला ठाउँमा जुन घटना गराइएको छ। म केही कदम अगाडि संयोगले दौडिएकाले बचेँ। प्रहरीका अनुसार रिमोर्ट कन्ट्रोलबाट विस्फोट गराइएको छ। यसले सुरक्षा सम्वेदनशीलतामा गम्भीर प्रश्न उब्जाएको छ र सरकारले यसमा जवाफ दिनुपर्छ। नागरिकलाई सुरक्षाको विषयमा आश्वस्त पार्नसक्नुपर्छ। 

म अहिले पनि सम्झँन्छु माओवादी र सेनाको भिडन्त भइरहन्थ्यो। म सानो झोला बोकेर नाइट बस चढेर जिल्लाको कार्यक्रममा जान्थेँ आन्दोलनको क्रममा। जाने बेलामा मेरो आमाले जहिले पनि चिन्ता व्यक्त गर्नुहुन्थ्यो। भन्नुहुन्थ्यो, तँलाई कहीँ कतै केही भइहाल्यो भने। मेरो जवाफ हुन्थ्यो, ‘मलाई कहीँ कतै गोली लागेर ढलेँ भने नरुनु होला। किनभने मेरो शिर खाली मैदानमा ढल्दैन कुनै न कुनै आमाको काखमा ढल्नेछ।’ तपाइँहरुले हामीलाई तर्साउन खोज्नु भएको ? जसका नेपालभरि लाखौं आमाहरु छन्। तपाइँले हामीलाई तर्साउन सक्नुहुन्न। त्यतिबेला महाराजको शासन थियो। त्यो बेला महाराजा भनिबक्स्यो हामी ट्यांक कुदाउँछौं भनेर। विनम्रतापूर्वक ट्यांक कुदाउने भए महाराज सडकमा होइन हाम्रो छातिमा कुदाउनोस् भनेर नारायाणहिटी दरबार अगाडि उभिने मानिस हौं हामी। हामीलाई तर्साउन खोज्नुभएको ? बम पड्काउनेहरु कायर हुन्। किन पड्काए मलाई थाहा छैन। चुनाबसँग विमति छ होला। पद्धतिसँग बिमति छ होला। बिमति राख्ने आफ्नो तरिका हुन्छ। तिम्रो असहमत हुने अधिकारका निम्ति लड्ने मानिस हौं हामी। माओवादीले पनि बाँच्न पाउनुपर्छ भन्नेहरु हौं हामी। कायम हामी होइनौं लुकेर बम पड्काउनेहरु कायर हुन्। यसकाविरुद्ध भत्र्सना मात्र होइन यसविरुद्ध लड्नुपर्छ। यसकाविरुद्ध उठ्नुपर्छ। 

आज थुप्रै कार्यक्रममा सहभागी हुने पूर्व निर्धारित कार्यक्रम थियो। घटनापछि साथीहरुले कार्यक्रममा नजाउँ भन्दै हुनुहुन्थ्यो। तर मैले भने होइन आज कार्यक्रम गर्नैपर्छ, जानैपर्छ। आज कार्यक्रम रद्द गर्नुभनेको पछि मतदान गर्न मतदाता नआउनु भनेको बम पड्काउनेहरुलाई बल पुग्नु हो। उनीहरु आतंकति पार्न चाहन्छन्। उनीहरु हामीलाई त्रसित बनाउन चाहन्छन्। हामी डरायौं भने उनीहरुले जिते हामी हार्यौं। हामी नडराई आफ्नो कर्तव्य पूरा गर्यौं भने उनीहरुले स्वतः हार्छन्। हामीले जित्नै पर्दछ। 
हिजो कुनै बेला यस्तै गरिकन बम पड्काउने साथीहरु अहिले सँगसँगै चुनाब लडिरहनु भएको छ। सरकारमा पनि सँगै बस्यौं। जो सुकैले गरेको होस् व्यक्ति हत्या र हिंसाको राजनीति जबसम्म त्यसलाई इन्कार गरिन्न तबसम्म हिंसाले प्रश्रय पाइरहनेछ। व्यक्ति हत्या र हिंसाको औचित्य कुनै पनि तर्कले सिद्ध गर्न सक्दैन। हिंसा हिंसा नै हो। मैले गरेकाे बेला त्याे ठिक अरूबेला गलत हाेइन। 

विस्तृतमा भिडियो हेर्नुहोस् :

प्रकाशित: १८ मंसिर २०७४ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App