१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘फेरि पनि कांग्रेस नेतृत्वमा सरकार’

अछाम सदरमुकाम मंगलसेनमा आयोजित सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभपाति  एवं प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : नागरिक

खम्म खत्री/ अरुण बम

डोटी /अछाम – दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै आउँदा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहप्रदेशमा केन्द्रित भएका छन् । देउवाको गृहजिल्ला डडेल्धुरा प्रदेश नम्बर ७ मा पर्छ। 

देउवाले शुक्रबार  प्रदेश ७ का विभिन्न जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसलाई जिताउन आग्रह गरे । उनले चुनावपछि पनि कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरे । 

काठमाडौंबाट हेलिकोप्टरमा धनगढी अवतरण गरेका देउवा त्यहाँ कार्यकर्ता भेटघाटलगत्तै अछामको सदरमुकाम मंगलसेनमा आयोजित पार्टीको चुनावीसभालाई सम्बोधन गर्न आइपुगे । मंगलसेन निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । अछाममा वाम गठबन्धनबाट एमाले उपाध्यक्ष चुनावी मैदान भएका कारण पनि देउवा यहाँँ आएको धेरैको विश्लेषण छ । रावल चुनावी मैदानमा रहेकाले अछामलाई वाम र लोकतान्त्रिक गठबन्धनले विशेष चासोका रुपमा लिएका छन् । 

चुनावी सभालाई १० मिनेट सम्बोधन गरेका देउवाले कांग्रेसलाई जिताउन आग्रह गरे । उनले आफू फेरि पनि पनि प्रधानमन्त्री हुने र ७ नम्बर प्रदेशसँगै समग्र देशको विकासमा केन्द्रित हुने बताए । उनले भने, ‘लोकतान्त्रिक गठबन्धनले जिते अछामलगायत सम्पूर्ण ७ प्रदेशलाई नै राम्रो हुनेछ ।’ । कांग्रेसले जनताका लागि विभिन्न कालखण्डमा आन्दोलन तथा वलिदानी गरेको स्मरण गर्दै देउवाले राणा शास अन्य गर्नेदेखि लिएर ०६२÷६३ को आन्दोलनको नेतृत्व गरेको बताए । उनले ०४८ सालपछि कांग्रेस नेतृत्वमा बनेको सरकारको पालामा अछाममा बाटोको सञ्जा गाउँगाउँ विस्तार भएको बताए। 

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गराउँदै देउवाले वाम गठबन्धनले संविधान च्यातेर एक दलीय शासन ल्याउन खोजेको आरोप लगाए । उनले भने, ‘कांग्रेसले जित्यो भने देशमा रोजगारी सिर्जना गरी विदेसिएका युवालाई स्वदेशमै कामको ग्यारेन्टी गर्ने, बेरोजगार युवालाई भत्ता र वृद्ध भत्ता दोव्बरले वृद्धि गर्नेछौं ।’ 

मंगलसेनमा सम्बोधन गरेपछि देउवा क्षेत्र नम्बर १ मा पर्ने साफेबगरमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका थिए । 

यसैगरी प्रधानमन्त्री देउवाले डोटीको बोगटानमा आयोजित सभालाई सम्बोधन गर्दै संविधान असफल पार्न वाम गठबन्धन भएको दाबी गरे । ‘संविधानसभाले लोकतान्त्रिक संविधान जारी गरेको उहाँ (कम्युनिस्ट) हरूलाई चित्त नबुझेको रहेछ,’ देउवाले भने, ‘त्यसैले संविधानको व्यवस्थालाई परिवर्तन गर्दै कम्युनिस्ट अधिनायकत्व कायम गर्न वाम गठबन्धन गरेका हुन् ।’ 

उनले मुलुकमा कम्युनिस्ट शासन आए त्यो राणा शासनभन्दा पनि भयानक हुने टिप्पणी गरे । ‘कम्युनिस्ट शासन राणाशासनभन्दा पनि भयानक हुन्छ । कम्युनिस्टको हातमा शासन गए जनताले फेरि अर्को संघर्ष गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अर्को संघर्ष नगर्नका लागि यसपटकको निर्वाचनमा कांग्रेसले जित्नुपर्छ ।’ 

देउवाले नेपाली जनता सचेत र लोकतन्त्रप्रेमी रहेकाले लोकतन्त्र पक्षधर दलको जित हुनेमा आफू विश्वस्त रहेको बताए । ‘जनता लोकतन्त्र चाहन्छन् । विगतका आन्दोलनले देखाइसक्यो,’ उनले भने, ‘त्यसैले लोकतन्त्र स्थापना र सुदृढीकरणका लागि २००७ सालदेखि संघर्षरत नेपाली कांग्रेसलाई जनताले जिताउनेमा म ढुक्क छु ।’ चुनावपछि  नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी पनि उनले गरे । 

यसैगरी देउवाले सायलमा आयोजित कांग्रेस सभालाई पनि सम्बोधन गरे । देउवाले डोटी आफ्नो दोस्रो घर भएकाले यससँग आफ्नो भावनात्मक र रगतको सम्बन्ध रहेको बताए । ‘बोगटानमा मेरो मावली पर्छ,’ बोगटान सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘त्यसैले रगत र भावना दुबैको सम्बन्ध छ ।’ 

सुदूरपश्चिमको छोरा भएर देशको नेतृत्व गर्न पाउनु आफ्नो मात्रै नभई समग्र सुदूरपश्चिमको गौरवको विषय भएको उनले बताए । ‘अझै यो गौरवलाई कायम राख्नुस् । कांग्रेसलाई भोट दिए भोलि डोटीबाट पनि देशको नेतृत्व उदाउनेछ,’ उनले भने । 

देउवाले सहजपुर–बोगटान–दिपायल सडक तयार भएपछि सिद्धराज ओझा नामाकरण गरिने देउवाले बताए । धनगढी–दिपायल फास्ट ट्रयाकलाई बझाङसँग जोड्ने, पश्चिम सेती र पञ्चेश्वर आयोजना पनि चाँडै निर्माण हुने उनले बताए । 

सभालाई डोटीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं भौतिक पूगर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पनि सम्बोधन गरेका थिए । उनले डोटीका गाउँगाउँसम्म सडक सञ्जाल पुर्‍याउने वाचा गरे ।

दुर्गम गाउँमा पहिलोपल्ट प्रधानमन्त्री 

बोगटान र सायल डोटीका सबैभन्दा दुर्गम क्षेत्र हुन् । बोगटान जिल्लाको दक्षिणी क्षेत्रमा पर्छ भने सायल उत्तरमा । दुबै ठाउँमा शुक्रबार पहिलोपल्ट बहालवाला प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा पुग्दा स्थानीयले भव्य स्वागत गरे । 

फलफूल र नगदे बालीको भण्डारको रुपमा रहेको बोगटानमा स्थानीयले प्रधानमन्त्री देउवालाई सुन्तला र अदुवाको माला लगाएर स्वागत गरेका थिए । सायल क्षेत्रमा पनि बाजागाजाका साथ उनको भव्य स्वागत गरियो ।

 

प्रकाशित: १६ मंसिर २०७४ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App