१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीको आकांक्षासहित थारू समुदायका २०२ उम्मेदवार मैदानमा

काठमाडौं – मुलुकको कुल जनसंख्यामा चौथो हिस्सा ओगटेको थारू समुदायबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ २ सय २ उम्मेदवार भिड्दैछन् । तीमध्ये प्रतिनिधिसभामा ६७ जना र प्रदेशसभामा १ सय ३५ जना थारू उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा धेरै स्वतन्त्रतर्फ उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १४ जना र प्रदेशसभामा २६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । थारू समुदायबाट प्रदेशसभामा उम्मेदवार बनेका कतिपयले मुख्यमन्त्रीको आकांक्षासमेत देखाएका छन्। 

नेपाली कांग्रेसले प्रतिनिधिसभामा ७ जना र प्रदेशसभामा १९ जना थारू उम्मेदवार उठाएको छ भने नेकपा एमालेले प्रदेशमा ६ र प्रदेशसभामा ९ जना थारू उम्मेदवार उठाएको छ । तराई केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा ११ जना तथा संघीय समाजवादीले प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १० जना थारू उम्मेदवार उठाएको छ । अन्य दलबाट प्रतिनिधिसभामा २४ र प्रदेशसभामा ५३ जना थारूले उम्मेदवारी दिएका छन्।

यस्तै विभिन्न दलले बुझाएको समानुपातिक सूचीमा ४ सय ४ जना थारू उम्मेदवार समेटिएका छन् । यो पूर्ण सूचीको ६.९ प्रतिशत हो । यसमा १ सय ५५ जना पुरुष र २ सय ४९ जना महिला छन्।

‘हेभिवेट’ बीच रोमाञ्चक प्रतिस्पर्धा
आसन्न प्रतिनिधिसभा निर्वाचनमा ‘हेभिवेट’ थारू नेताबीच रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरु अहिले निष्पक्ष भिडन्तभन्दा पनि एकअर्काको अरोपप्रत्यारोपमा उत्रिएका छन्। 

सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार र वाम गठबन्धनबाट एमालेकी भगवती चौधरी चुनावी मैदानमा छन् । सो क्षेत्रमा यसअघि गच्छदारले जित्दै आएका छन् । दोस्रो संविधानसभा चुनावमा झिनो मतले विजयी गच्छदारलाई कडा टक्कर दिने चौधरीले बताएकी छन् । उनले दोस्रो संविधानसभा चुनावमा प्राविधिक पराजय बेहोरेको बताइन् । उनले हरेक कोणबाट आफू अब्बल रहेको दाबी गरिन् । ‘यसअघि मैले प्राविधिक पराजय भोगेकी थिएँ । अबको दिनमा त्यस्तो हुनेछैन । म हरेक चुनौती सामना गर्न तयार छु,’ भगवतीले भनिन्।
गच्छदारले भने जित दोहो¥याउने रणनीति बनाएका छन् । उनले दोस्रो संविधानसभामा आफ्नो कठिन विजय भएको बताउँदै यसपटक अवस्था पहिलेभन्दा थप सुधारिएको दाबी गरे। 

यस्तै बर्दिया २ मा थरुहट आन्दोलनबाट राष्ट्रिय राजनीतिमा आएका गोपाल दहित र माओवादी केन्द्रका सन्तकुमार चौधरी भिड्दैछन् । दहित कांग्रेसका उम्मेदवार हुन् । दुवै बहालवाला मन्त्री पनि हुन्।

सन्तकुमार सो क्षेत्रबाट दुईपटक निर्वाचित भइसकेका छन् । उनी यसपटक पनि विजयी भएर ह्याट्रिक गर्ने दाउमा छन् । दोस्रो संविधानसभामा थरुहट तराई पार्टी नेपालका तर्फबाट समानुपातिक सांसद बनेका दहितले भने कामको मूल्यांकन गर्दै जनताले आफूलाई जिताउने दाबी गरे । बौद्धिक नेताको रुपमा चिनिने दहित थारूका मुद्दासँगै थारू कलस्टरका लागि कडारुपमा प्रस्तुत हुने सांसदको रुपमा चिनिन्छन्। 

यसैगरी कैलाली ३ मा नेपाली कांग्रेसबाट रामजनम चौधरी र वाम गठबन्धनबाट माओवादी केन्द्रका गौरीशंकर चौधरी चुनावी मैदानमा छन् । गच्छदारनिकटका रामजनम राजनीतिमा चतुर मानिन्छन् । उनले यसअघिका चुनावमा सो क्षेत्रबाट जित्दै आएका छन्।

गौरीशंकर यसअघि कैलाली ४ बाट विजयी भएका थिए । यी दुवैजना मन्त्री भइसकेका नेता हुन् । स्थानीय निकायको मत हेर्दा आफूले जित्ने दाबी गौरीशंकर गर्छन् । सोही क्षेत्रबाट तत्कालीन थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरी संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार छन् । उनले कांग्रेसको मत काट्ने भएकाले पनि आफू बलियो भएको गौरीशंकरले बताए । रामजनमले भने आफ्नो पकड क्षेत्र रहेको दाबी गर्दै चुनाव जित्ने बताए। 

यी हुन् मुख्यमन्त्रीका आकांक्षी
मुख्यतः नेकपा एमाले र नेपाली कांग्रेसका केन्द्रीय तहका नेता प्रदेशमा उम्मेदवार बनेका छन् । उनीहरुको मुख्य उद्देश्य प्रदेशको मुख्यमन्त्री बन्ने हो । २ नम्बर प्रदेशमा एमालेका पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी पर्सा ३ (क) बाट उम्मेदवार छन् । उनी एमालेबाट २ नम्बर प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन्। 

यता ५ नम्बर प्रदेशमा एमालेकै केन्द्रीय सदस्य वैजनाथ चौधरीले उम्मेदवारी दिएका छन् । हुन त एमालेले ५ नं. प्रदेशमा शंकर पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । विकल्पमा चौधरीलाई अगाडि सारिएको छ । चौधरी पश्चिम नवलपरासी २ (क) बाट उम्मेदवार छन्। 

त्यस्तै कांग्रेसका तर्फबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकटका नेता डिल्लीबहादुर चौधरी पनि ५ नं. प्रदेशको मुख्यमन्त्रीका आकांक्षी हुन् । उनले दाङ ३ (क) बाट उम्मेदवारी दिएका छन् । कमैया आन्दोलनको अगुवाइ गरेर राजनीतिमा आएका चौधरी बेसका संस्थापक अध्यक्षसमेत हुन् । ‘वरिष्ठ साथी सबै प्रतिनिधिसभामा लडेका छन् । प्रदेशमा म पहिलो नम्बरमा छु,’ उनले भने। 

टीकापुर घटनाका जेलबन्दी चुनावी मैदानमा
दुई वर्षअघि भएको टीकापुर घटनाका आरोपित लक्ष्मण चौधरी र रामप्रसाद चौधरीले जेलबाटै उम्मेदवारी दिएका छन् । सोही घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीले पनि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । लक्ष्मणले कैलाली ५ मा उम्मेदवारी दिएका छन्, जहाँ प्रधानमन्त्री पत्नी आरजु देउवा र एमालेका नारदमुनी राना चुनावी मैदानमा छन् । रेशमले भने कैलाली १ बाट उम्मेदवारी दिएका छन् । रेशमका बुवा लालवीर चौधरीले सोही क्षेत्रमा प्रदेशसभाका लागि एमालेबाट उम्मेदवारी दिएका छन् ।  रामप्रसादले कैलाली २ बाट उम्मेदवारी दिएका छन्। 

लक्ष्मण र रेशमले टीकापुर घटनामा आफूहरुलाई फसाइएको र त्यही सत्य उजागर गर्न उम्मेदवारी दिएको बताए । दुवै जनाले सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन्।

दल बदल्दै उम्मेदवारी
२०६३–६४ पछि भएको थरुहट आन्दोलनबाट धेरै थारू नेता केन्द्रीय राजनीतिमा होम्मिए । हुन त त्यसअघि पनि उनीहरु कुनै न कुनै पार्टीमा आबद्ध थिए । थरुहट आन्दोलनको उदयसँगै उनीहरु थारू समुदायको मुद्दामा केन्द्रित भए तर विभिन्न राजनीतिक परिघटनासँगै उनीहरुले खोलेका पार्टी अस्तित्वविहीन बनेका छन् । उनीहरु विभिन्न पार्टीमा तितरबितर भएका छन्। 

थरुहट आन्दोलनका प्रमुख कमान्डर लक्ष्मण थारूले फोरम लोकतान्त्रिक हुँदै अहिले राजपाबाट उम्मेदवारी दिएका छन् । गोपाल दहितले थरुहट तराई पार्टीलाई गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग मर्जर गरेका थिए । अहिले लोकतान्त्रिक फोरम कांग्रेसमा एकीकृत भएपछि उनी कांग्रेसबाटै उम्मेदवार बनेका छन्।

कुनै बेला एमालेमा रहेर राजनीतिक करियर बनाउँदै आएका राजकुमार लेखी आफ्नै नेतृत्वको नागरिक समाजवादी पार्टी र राजेन्द्र महतोको सद्भावना हुँदै राजपामा पुगेका छन् । उनी सप्तरी १ (क) बाट उम्मेदवार छन् । त्यस्तै थरुहट आन्दोलनको अगुवाइ गरेका रेशम चौधरी राजपाबाट उम्मेदवार बनेका छन्। 

थरुहटबाट सांसद बनेकी गंगा थारू नयाँ शक्ति हुँदै अहिले एमालेमा पुगेकी छन् । एमालेले उनलाई समानुपातिक सूचीमा राखेको छ। 

जित दोहोर्‍याउने दाउ
यसअघि सांसद बनेका १० जना थारू उम्मेदवार आफ्नो विजय यात्रालाई निरन्तरता दिने दाउमा छन् । विजय गच्छदार, अमनलाल मोदी, मञ्जु चौधरी, तेजुलाल चौधरी, सुरेन्द्र चौधरी, सुशीला चौधरी, गोपाल दहित, सन्तकुमार चौधरी, रामजनम  चौधरी र गौरीशंकर चौधरी जितलाई निरन्तरता दिने अभियानमा लागेका छन्। 

मैदानमा एक्लै रुक्मिणी
तीन महिनाअघि थ्रेस होल्डको चर्को बहस भइरहँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) की अध्यक्ष रुक्मिणी चौधरी भने एक्लै चुनाव लड्ने तयारीमा थिइन् । विभिन्न दलबाट आएको मर्जर प्रस्ताव लत्याएर उनले निर्वाचन आयोगमा दल दर्ता गराइन्।

त्यसबेला विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका शीर्ष नेताले उनीसँग पार्टी एकीकरणको प्रस्ताव गरेका थिए । उनले ती प्रस्ताव अस्वीकार गर्दै थ्रेसहोल्डलाई ‘च्यालेन्ज’ गर्ने मनस्थिति बनाइन् । ‘थरुहटका मुद्दा बोकेका नेता अहिले विभिन्न नेताका शरणमा पुगेका छन् । यसले उनीहरु व्यक्तिगत स्वार्थका लागि राजनीति गरेका रहेछन् भन्ने देखियो तर मैले आफ्नो सिद्धान्तलाई मार्न चाहिनँ,’ उनले भनिन्।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनको पार्टीले थारू बाहुल्य क्षेत्रमा उम्मेदवारी दिएको छ । प्रत्यक्षतर्फ मात्र नभएर रुक्मिणीले १ सय १० जनाको समानुपातिक सूची पनि निर्वाचन आयोगलाई बुझाएकी छन् । उनी थ्रेसहोल्ड कट्नेमा ढुक्क छिन् । ‘थारूहरु अझै जिउँदा छन् । थारू नेताहरुले अझै आफ्नो अस्तित्व, आफ्ना मुद्दा बिर्सेका छैनन् भन्न मैले उम्मेदवारी दिएकी हुँ,’ उनले भनिन्।

प्रकाशित: १६ मंसिर २०७४ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App