१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अभावै अभावमा गुज्रिएको नार–फू

पोखरा- हिमालपारिको जिल्ला मनाङको नार–फूबाट सोमबार बिहान मतपेटिका हेलिकप्टरबाट तल (सदरमुकाम चामे) झारियो । बिहानै पुगेको सेनाको हेलिकप्टरले नार–फू गाउँपालिकाका पाँचवटै केन्द्रका मतपेटिका एकै ठाउँ भेला पारेर सदरमुकाम ल्याएको थियो ।

मनाङको नार–फू सबैभन्दा दुर्गम गाउँ हो । समुद्री सतहदेखि करिब ४२ सय मिटर उचाइसम्मका यहाँका बासिन्दा सधैं आधारभूत आवश्यकताबाट वञ्चित छन् ।

हेलिकप्टर पुग्न एक घन्टामात्र ढिला गरेको भए सोमबार मतपेटिका सदरमुकाम ल्याउन कठिन थियो । अचानक बिग्रेको मौसमले हेलिकप्टरसमेत जान सक्ने अवस्था थिएन ।
मतपेटिका बटुल्न नार–फू पुगेको हेलिकप्टरले हाई अल्टिच्युड (लेक) लागेर बेहोस भएका सेनाका एक जवानलाई पनि उद्धार ग¥यो । बेहोस अवस्थामा सदरमुकाम चामे ल्याइएका सैनिक जवानलाई थप उपचारका लागि पोखरा झारियो । बेलैमा उद्धार हुन सकेकाले ती सैनिक जवानको पनि ज्यान जोगियो ।
निर्वाचन गराउनकै लागि सुरक्षा दिन नार पुगेका एकजना सशस्त्र प्रहरीका निरीक्षक पनि केही दिनअघि लेक लागेर बिरामी परे । उनलाई पनि हेलिकप्टरले नै बेलैमा उद्धार ग¥यो र जोगिए ।
हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम र उच्च हिमाली भेगमा निर्वाचन गराउँदा सरकारले प्रयोग गरेको जनशक्ति र स्रोतसाधनसहित तिनले दिलाएको सहजताका यी केही उदाहरण हुन् । तर, त्यही गाउँका जनता यस्तो कठिन अवस्थामा दैनिकी गुजारिरहेका छन्, जसले चाहेको बेला न उपचार पाउँछन्, न त खाना र न्यानो नै । शिक्षा, यातायात र सञ्चार त धेरै परका सुविधा हुन् । गाउँमा न मोटरबाटो पुगेको छ, न त स्वास्थ्य, शिक्षा र स्वास्थ्य सेवा नै । गम्भीर बिरामी पर्दा कि हेलिकप्टर मगाउनुप¥यो, नत्र ज्यानै गुमाउनुपर्छ ।
‘सरकारले एउटा निर्वाचन गराउँदा त भएभरको जनशक्ति र स्रोतसाधन उपयोग गर्र्नुप¥यो । हामी सधैं यहीं (नार) बस्ने मान्छे, समस्यै समस्यामा गुज्रिरहेका हुन्छौं,’ स्थानीय छोदेन याङकिन लामा भन्छिन्, ‘हाम्रो समस्या कसले बुझ्ने हो, थाहा छैन ।’
समुद्री सतहदेखि करिब ४२ सय मिटर उचाइसम्मका यी बासिन्दा सधैं आधारभूत आवश्यकताबाट वञ्चित छन् । सबैभन्दा कठिन बिरामी पर्दा तत्कालै उपचार गराउन नपाएर ज्यानै जानेसमेत जोखिम त्यहाँका बासिन्दाले मोल्दै आएका छन् ।
‘बेलैमा हेलिकप्टर नपाएको भए यो चुनावमा खटिएका दुईजना सुरक्षाकर्मीको अवस्था के हुन्थ्यो भन्न सकिँदैनथ्यो, तर हामी यस्तो समस्या सधैं भोग्दै आएका छौं,’ उनले भनिन्, ‘सरकारले त चाहेको बेला हेलिकप्टर ल्याउन सक्दैन । मौसमी चुनौती उत्तिकै छ । तर, नारका बासिन्दाको समस्या बुझ्ने कोही छैन ।’ उनका अनुसार यो वर्ष मात्र दुईजना बिरामी (सुत्केरी र उच्च रक्तचाप) ले हेलिकोप्टर चार्टर गरेर उपचार गराउन राजधानी पुग्नुपरेको थियो ।
‘तीन लाख रुपैयाँ जुटाउन नसके बिरामीको ज्यानै जान्छ । पैसा भएर पनि भनेको बेला हेलिकप्टर ल्याउन पाइँदैन,’ उनले भनिन्, ‘मौसम बदली भएर चाहेको बेला ल्याउन सकिन्न । हेलिकप्टर ल्याउने स्वीकृति पाउन समय कुनुपर्छ ।’ उनका अनुसार सामान्य बिरामीलाई बोकाएर दुई दिनको पैदल सदरमुकाम चामे ल्याउनपर्छ । त्यतिन्जेलसम्म कतिपयलाई रोगले झनै चापिसक्छ ।
‘चिसो र हाई अल्टिच्युड हामीलाई बानी परेको छ तर सबैभन्दा बढी समस्या स्वास्थ्य, शिक्षा र सञ्चारमा छ । स्वास्थ्यचौकीमा सामान्यबाहेक औषधि पाइँदैन,’ उनले भनिन्, ‘भनेको बेला सञ्चार सम्पर्क पनि हुँदैन । बादल लागेपछि घरभित्र पस्नुपर्छ । बत्ती गयो भने मोबाइल नेटवटर्क लाग्दैन ।’ पहुँच सहज नहुँदा भएका पूर्वाधार बिग्रँदा पनि गाउँलेले असुविधा भोग्नुपर्छ ।
‘मोबाइल टावरमा समस्या आयो भने मर्मत हुन महिनौं लाग्छ । त्यस्तै समस्या विद्युत्मा पनि छ,’ उनले भनिन्, ‘सरकारले खटाएका कर्मचारीसमेत यहाँ आउन मान्दैनन् । आइहाले भने बिरामी परेर ओर्लिन्छन् ।’ नार–फू गाउँपालिकामा करिब पाँच सय जनसंख्या छ । चिसो मौसममा माइनस १५ डिग्रीसम्म तापक्रम ओर्लिन्छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त पनि नार र फू सबैभन्दा चुनौतीका ठाउँ रहेको बताउँछन् । ‘सरकारले निर्वाचन गराउँदा त भएभरको जनशक्ति र स्रोत साधन उपयोग गर्नुपर्छ । त्यहाँका बासिन्दा निकै कठिन अवस्थामा छन्,’ उनले भने, ‘मतपेटिका लिन एक घन्टा मात्र ढिलाइ गरेको भए ल्याउन सकिने थिएन । अरू बेला त्यहाँका बासिन्दा सधैं सास्तीमा हुन्छन् ।’
उनका अनुसार मनाङको नार–फू सबैभन्दा दुर्गम गाउँ हो । त्यहाँ जान विदेशी पर्यटकले पनि विशेष अनुमति लिएर जानुपर्छ । हेलिकप्टर पनि गृह मन्त्रालबाट अनुमति लिएर मात्र उडाउन पाइन्छ । ‘नार र फूका बासिन्दाको बसाइ बाहिरबाट हेरेजस्तो सहज छैन,’ पन्तले भने, ‘अप्ठ्यारोमा झनै अप्ठ्यारो ठाउँको रूपमा रहेको छ ।’

प्रकाशित: १२ मंसिर २०७४ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App