१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुरक्षामा खेलाँची

नेपालगन्ज – पहिलो चरणको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा क्षेत्रभर सुरक्षा व्यवस्था संयोजन गर्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय शाखा अधिकृतको भरमा चलिरहेको छ । विशिष्ट श्रेणी (सचिव) प्रशासक रहने कार्यालय दुई सातादेखि प्रमुखविहीन छ।

सुर्खेतस्थित क्षेत्रीय प्रशासन कार्यालयले ६ नम्बर प्रदेशका पूरै १० जिल्ला र ५ नम्बर प्रदेशका ६ जिल्लाको सुरक्षा संयोजन गर्दै आएको छ । यो कार्यालयले निर्वाचनको सुरक्षा अनुगमन, सुरक्षा निकायबीच समन्वय र प्रदेशअन्तर्गतका जिल्लाबीच सुरक्षा संयोजनको जिम्मेवारी बोकेको हुन्छ । निर्वाचनका बेला सरकारसँगको समन्वयमा आवश्यक सुरक्षा योजना र व्यवस्थापनको जिम्मेवारी पनि यही कार्यालयले गर्नेगर्छ।

क्षेत्रीय प्रशासन कार्यालयले ६ नम्बर प्रदेशका पूरै १० जिल्ला र ५ नम्बर प्रदेशका ६ जिल्लाको सुरक्षा संयोजन गर्दै आएको छ तर चुनावको मुखमा प्रमुख नहुँदा सुरक्षा समन्वयमा समस्या देखिएको छ।

प्रशासक अध्यक्ष रहने क्षेत्रीय सुरक्षा समितिमा नेपाली सेनाका मध्यपश्चिम पृतनापति, नेपाल प्रहरीका प्रदेश प्रमुख (एआइजी), सशस्त्र प्रहरी बलका डिआइजी र राष्ट्रिय अनुसन्धान विभागका डिआइजी सदस्य रहन्छन् । प्रशासक अनिल यादव सरुवा भएर गएपछि समितिको अध्यक्षता शाखा अधिकृत हेम रानाले गर्दै आएका छन् । ‘मभन्दा माथिका कुनै पनि सर नभएपछि निमित्त प्रशासकको रुपमा मैले सुरक्षा समितिको अध्यक्षता गर्ने गरेको छु,’ रानाले भने, ‘प्रशासक नभएपछि काम त गर्नै पर्‍यो ।’

क्षेत्रीय प्रशासन कार्यालयमा प्रशासकका साथै सहसचिवस्तरका एकजना सहप्रशासक र उपसचिवस्तरका दुईजना उपप्रशासक रहन्छन् । यी तीन पद पनि रिक्त छन् । उपप्रशासक जगत बस्नेत नारायण नगरपालिका (दैलेख) मा कार्यकारी अधिकृत भएर गएका छन् । अर्का उपप्रशासक नारायण सापकोटा त्यसपहिले नै सरुवा भएर गइसकेका छन् । ‘क्षेत्रभर सुरक्षा संयोजन गर्ने निकायमा निर्वाचनको मुखमा प्रमुख नहुँदा त्यसको असर त परिहाल्छ,’ निमित्त प्रमुख रानाले भने, ‘नयाँ आउने निधो छैन, जेनतेन काम चलाइएकै छ।’

कालिकोटका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे क्षेत्रीय प्रशासक नहुँदा सम्पूर्ण रुपमा गृहकै भर पर्नुपरेको बताउँछन् । उनका अनुसार निर्वाचनका बेला सुरक्षासँग सम्बन्धित कतिपय व्यवस्थापकीय कामका लागि क्षेत्रीय प्रशासनसँग समन्वय गर्नुपर्छ । ‘केही भइहाल्यो भने छिटो र तत्काल समन्वय गरिने निकाय भनेकै यही हो,’ उनले भने, ‘त्यस्तो निकायमा प्रमुख नहुँदा असर परिहाल्छ नि!’

पहिलो चरणमा निर्वाचन हुने ५ र ६ नम्बर प्रदेशका रोल्पा, रुकुम, जाजरकोट, कालिकोट, जुम्ला र मुगु सुरक्षाको दृष्टिले संवेदनशील जिल्ला हुन् । यी जिल्लामा उम्मेदवारलाई लक्षित गरी बम विस्फोटका घटना भएका छन् । ६ नम्बर प्रदेश प्रहरी प्रमुख एआइजी रणबहादुर चन्द प्रशासक नभए पनि ‘कुनै न कुनै निकायबाट’ संयोजनको काम भइरहेको बताउँछन् । ‘कार्यालयकै निमित्त अधिकारी वा गृहबाट सुरक्षा संयोजनको काम भइरहेको छ,’ उनी भन्छन्, ‘तर यस्तो बेला प्रशासक भइदिए राम्रो हुन्थ्यो।’

एआइजी चन्दले प्रदेशअन्तर्गत पहिलो चरणमा चुनाव हुने सातवटा जिल्लामा सुरक्षा व्यवस्था चुस्त बनाएको बताए । उनका अनुसार निर्वाचनका दिन स्थल सुरक्षाका साथै हवाईगस्तीबाट पनि सुरक्षा निगरानी गरिनेछ । ‘सुरक्षाका सबै अंग प्रभावकारी रुपमा परिचालन भइरहेका छन्,’ उनले भने, ‘अवाञ्छित घटना हुन नदिन हाम्रो तर्फबाट कुनै कसर बाँकी राखिनेछैन।’

प्रकाशित: ७ मंसिर २०७४ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App