१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौं-४ मा युवा हस्तीको टक्कर, मतदातालाई निर्णय गर्न कठिन

मणि दाहाल/अशोक दाहाल
काठमाडौं- नेपाली कांग्रेसका गगन थापा र नेकपा एमालेका राजन भट्टराईको उम्मेदवारीका कारण चर्चामा रहेको काठमाडौं–४ का मतदाता कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् ।
विद्यार्थी राजनीतिबाट आएका दुवै उम्मेदवार पछिल्लो समयमा आआफ्नो जिम्मेवारीको कारण चर्चामा रहे । दुईपटक सभासद् बनेका थापा (४१ वर्ष) को चर्चा स्वास्थ्यमन्त्री भएपछि झनै बढ्यो भने सन् १९५० को सन्धिसहित नेपाल–भारत सम्बन्धको विषयमा पुनरवलोकनसहित सुझाव दिन गठन गरिएको प्रबुद्ध व्यक्तिहरुको समूहमा भट्टराई (४९ वर्ष) ले सक्रियतापूर्वक काम गरे ।
निर्वाचन क्षेत्र ४ अन्तर्गत पर्ने गौरीघाट, कपन र चपलीका मतदातासँग गरिएको छोटो कुराकानीमा उनीहरुले दुवै नेताले एकअर्कोसँग प्रतिस्पर्धा नगरेको भए राम्रो हुने बताए । ‘गगन र राजन दुवै विद्वान् नेताहरु हुन् । दुवैले चुनाव जित्नुपर्छ तर एकअर्कोसँग प्रतिस्पर्धा गरेपछि एकजनाले हार्ने निश्चित छ,’ गौरीघाटका नवदत्त ढुंगानाले भने, ‘दुवै नेताप्रति उत्तिकै सम्मान र शुभकामना पनि । त्यसैले हामीलाई निर्णय गर्न कठिन भएको छ ।’
गौरीघाटमा गगनको चुनावी अभियान चलिरहेको समयमा भेटिएकी प्रमिला कँडेल उम्मेदवारले आफ्नै घरमा आएर भोट मागेकोमा दंग थिइन् । ‘उम्मेदवार हाम्रो घरमा आएर भोट मागेकोमा खुसी छौं । अघिल्लो चुनावमा गगन हाम्रो घरमा भोट माग्नै आएनन्,’ कँडेलले भनिन् । सिन्धुपाल्चोकमा जन्मिएका भट्टराई र सोलुखुम्बुका थापा काठमाडौं ४ मै हुर्किएका हुन् ।
गौरीघाटकी जानकी चौलागाईं (९५ वर्ष) ले कसलाई भोट दिने भन्ने निर्णय गरिनसकेको बताइन् । ‘हामीलाई आवश्यक भएको समयमा सहयोग गर्ने व्यक्तिलाई भोट दिन्छु,’ चौलागाईंले भनिन्, ‘कसलाई भोट दिने भनेर अहिलेसम्म निर्णय गरेकी छैन । मेरो मनका कुरा सुन्नेलाई भोट दिन्छु ।’
चपली रुद्रेश्वरमा भेटिएका कुलचन्द्र निरौला (९०) ले युवाले प्रतिस्पर्धा गरेकोमा खुसी व्यक्त गरे । ‘हाम्रोमा पानीको संकट छ । सडक मर्मत र बढाउने काम भएको छैन । सबै उम्मेदवारले राम्रो गर्छु भन्नुहुन्छ तर गर्ने होइन,’ निरौलाले भने, ‘कसलाई भोट दिने भन्नेबारेमा अहिलेसम्म निर्णय गरेको छैन । हाम्रो क्षेत्रबाट दुई युवा प्रतिस्पर्धामा हुनुहुन्छ, खुसी लागेको छ । युवालाई मौका पनि दिनुपर्छ ।’
चुनावले उम्मेदवार र कार्यकर्तालाई छोए पनि आम मतदातालाई भने छोएको छैन । ‘कुनै राजनीतिक दलसँग आबद्ध छैनौं, त्यसैले कसलाई भोट दिने भन्ने निर्णय गरिसकेको छैन,’ शशीकला दाहालले भनिन्, ‘राजनीतिक दल भोट माग्न भर्खर आउन थालेका छन् ।’  
विद्यार्थीदेखि नै राजनीति
भट्टराई २०३६ सालको आन्दोलनबाट प्रभावित भएर राजनीतिमा आएका हुन् भने थापा २०४६ सालको आन्दोलनबाट । दुवैले स्कुले अवस्थाबाट राजनीति सुरु गरेका हुन् । पद्मोदय स्कुल, पाटन संयुक्त क्याम्पस हुँदै भट्टराईले त्रिचन्द्रबाट बिएससी गरे भने सिद्धार्थ वनस्थलीबाट एसएसली दिएका थापाले त्रिचन्द्र क्याम्पसबाटै बिएससी गरे । दुवैले पढाइ र राजनीतिलाई सँगसँगै लगे ।
थापाले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र भट्टराईले युनिभर्सिटी अफ लन्डनबाट इन्टरनेसनल रिलेसन एन्ड डिप्लोम्याटिक प्राक्टिसमा स्नातकोत्तर गरेका छन् ।
भट्टराईले २०६९ सालमा जवारहलाल नेहरु विश्वविद्यालयबाट ‘चेन्जिङ सेक्युरिटिज प्रसेप्सन्स अफ नेपाल–इन द कन्टेक्स अफ इन्डिया एन्ड चाइना रिलेसन्स विषयमा विद्यावारिधि गरेका छन् ।
दुवै अहिले पार्टीको केन्द्रीय सदस्य छन् । थापा त्रिचन्द्र कलेज स्वतन्त्र विद्यार्थी युनियनको सचिव हुँदै नेपाल विद्यार्थी संघको महामन्त्रीसम्म बने । राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै अपदस्थ भएपछि शुरु भएको आन्दोलनको समयमा थापाको राष्ट्रिय राजनीतिमा चर्चा भएको थियो । अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै एसियन स्टुटेन्ड एसोसिएसन (आशा) को सहमहासचिव बनेका भट्टराई एमालेको विदेश विभाग सचिव हुँदै केन्द्रीय सदस्य छन् ।
दुवैको जित्ने दाबी
थापा र भट्टराई दुवैले आपूmले जित्ने विश्वास व्यक्त गरे । ‘देशको यो संकटबाट बाहिर निकाल्नका लागि सुझाव दिनुभएको छ, राष्ट्रिय राजनीतिमा मेरो हस्तक्षेप होस् भन्ने चाहनुभएको छ,’ थापाले भने, ‘महानगर क्षेत्रमा कांग्रेसको मत नै राम्रो छ । प्रदेशसभाका उम्मेदवार पनि सशक्त रहेकाले जितमा लागि सहज बनाएको छ ।’
कांग्रेसबाट प्रदेशसभा (क) मा प्रतिस्पर्धा गर्ने नरोत्तम वैद्य वडा नम्बर ८ का पूर्वअध्यक्ष हुन् भने (ख) मा साधुराम खड्का उम्मेदवार छन् । यस्तै एमालेबाट (क) मा निर्मल कुइकेल र (ख) मा कुसुमकुमार कार्की प्रतिस्पर्धामा छन् ।
भट्टराईले मतदाताले परिवर्तन चाहेकाले जित सुनिश्चित भएको दाबी गरे । ‘मतदाताबाट मैले सकारात्मक आश्वासन प्राप्त गरेको छु । उहाँहरुले परिवर्तन चाहनुभएको छ,’ भट्टराईले भने, ‘हाम्रो दलले राष्ट्रियता, जनजीविका र संविधान जारी गर्दा लिएको अडान मन पराउनुभएको छ ।’
पहिलोपटक समानुपातिक र दोस्रोपटक यही क्षेत्रबाट जितेर थापा सभासद् बने भने भट्टराई दोस्रो संविधानसभामा मनोनीततर्फबाट सभासद् थिए ।  
भट्टराईले स्थानीय समस्यालाई आफ्नो चुनावी मुद्दा बनाएका छन् । ‘स्थानीय स्तरमा धेरै समस्या छन् र तिनलाई उचित रुपमा सम्बोधन हुन नसकेका कारण असन्तुष्टि पनि छन्,’ भट्टराईले भने, ‘यस निर्वाचन क्षेत्रमा स्थानीय तहका अधिकांश स्थानमा हामीले जितेका कारण स्थानीय समस्या स्थानीय जनप्रतिनिधिको सहयोगमा समाधान गर्छाैं भने राष्ट्रिय समस्याको समाधान राष्ट्रिय स्तरमा गर्नेछौं ।’
गत वैशाखमा भएको स्थानीय तह चुनावमा बुढानीलकण्ठअन्तर्गत पर्ने सबै वडा र काठमाडौं महानगरपालिकाका चारमध्ये दुई वडा एमालेले जितेको छ । ४ नं. क्षेत्रमा काठमाडौं महानगरका वडा नं. १, ७, ८, ३० र बुढानिलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ पर्छन् ।
‘लामो समयदेखि यो क्षेत्र वामपन्थीको बहुमत रहँदै आएको छ तर केही आन्तरिक र बाह्य कारणले हामीले लगातार दुई चुनाव हा¥यौं,’ भट्टराईले भने, ‘पहिलेकै अवस्थामा यो क्षेत्र पुग्नेमा पूर्ण विश्वस्त छौं ।’
थापाले भने सांसद र स्वास्थ्यमन्त्री हुँदा गरेको कामका कारण फेरि जित्नेमा ढुक्क रहेको बताए । ‘केही गुनासो गर्नु भए पनि अझै मलाई नै समर्थन गर्ने बताउनुभएको छ,’ थापाले भने । उनले कुनै पनि क्षेत्र कसैको गढ भन्नेमा आफूले विश्वास नगर्ने बताए । ‘अघिल्लो चुनाव १३ हजारको अन्तरले जितेको थिएँ तर हाम्रो पार्टीले स्थानीय तहको चुनाव हा¥यो,’ थापाको तर्क छ, ‘त्यसैले चुनावमा कसैको गढ भन्ने हुँदैन र मतदाता बुद्धिमत्तापूर्ण निर्णय गर्न स्वतन्त्र छन् ।’

प्रकाशित: २८ कार्तिक २०७४ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App