१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादी ‘गढमा गठबन्धनमा बाधा’

दाङ – पार्टी एकीकरणको उद्घोषसहित माओवादी केन्द्रले एमालेसँग गरेको चुनावी ‘गठबन्धन’ उसको आफ्नै ‘आधार क्षेत्र’ मा अस्वीकृत भएको छ । माओवादीले आफ्नो ‘गढ’ दाबी गर्दै आएको राप्तीमा वाम गठबन्धनलाई अलि रुचाइएको छैन । फलस्वरुप गठबन्धनविरुद्ध माओवादीबाटै बग्रेल्ती ‘बागी’ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । माओवादीले आफ्नो गढ मान्दै आएको प्रदेश नम्बर ६ मा पर्ने सल्यान जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्न्तर्गतका सबै चुनावी क्षेत्रमा वाम गठबन्धनविरुद्ध बागी उमेदवार खडा भएका छन् । ‘उम्मेदवार चयनमा अत्यन्त अन्याय भयो,’ माओवादी सल्यान इन्चार्ज नेबबहादुर कुँवरले भने, ‘यो अन्यायविरुद्ध साथीहरू फिल्डमा उत्रनु भएको हो।’

सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नै पार्टीका नेता तथा बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेतविरुद्ध माओवादीका उमाकान्त शर्माले बागी उम्मेदवारी हालेका छन् । यसैगरी प्रदेशसभाअन्तर्गत सल्यानका दुईवटै क्षेत्रमा माओवादीका बागी उम्मेदवार खडा भएका छन् । गठबन्धनबाट एमाले नेता प्रकाश ज्वाला आधिकारिक उम्मेदवार भएको प्रदेशसभा (ख) मा माओवादीका जितबहादुर पुन बागी छन् भने एमालेका गुलाबजंग शाह उम्मेदवार बनेको प्रदेशसभा (क) मा पनि माओवादीकै भीमप्रकाश शर्मा बागी उठेका छन् । स्रोतका अनुसार उम्मेदवार चयनमा एमालेलाई बढी प्राथमिकता दिएर माओवादी नेतृत्वले जिल्लाका नेतालाई ठूलो अन्याय गरेको भन्दै जिल्ला नेतृत्व रुस्ट छ । फलस्वरुप जिल्ला नेतृत्वले नै निर्णय गरेर बागी उम्मेदवार उठाएको स्रोत बताउँछ । तर माओवादी इन्चार्ज कुँवरले भने पार्टीले निर्णय गरेर बागी उठाएको भने नभएको बताए । ‘उम्मेदवार चयनमा भएको ठूलो कमजोरीविरुद्ध समग्र जिल्ला नेतृत्व एक भएको हो,’ उनले भने, ‘तर पार्टीले नै आधिकारिक निर्णय गरेर बागी उठाउने योजना बनाएको भने हैन।’  

माओवादी केन्द्रले आफ्नो ‘गढ’ दाबी गर्दै आएको राप्तीमा एमालेसँगको गठबन्धनलाई स्थानीय नेताकार्यकर्ताले अलि नरुचाएको जस्तो देखिएको छ । माओवादी नेता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका छन्। 

उनका अनुसार माओवादी जिल्ला नेतृत्वले एक निर्वाचन क्षेत्र कायम भएको सल्यानमा प्रतिनिधिसभा तथा एक प्रदेशसभामा उम्मेदवार मागेको थियो । या त यसको विकल्पमा प्रतिनिधिसभा एमालेलाई दिएर दुईवटै प्रदेशसभा आफूलाई दिनुपर्ने अडान उसले केन्द्रीय नेतृत्वसामु राखेको थियो । तर सिट बाँडफाँटमा प्रतिनिधिसभा मात्रै माओवादीलाई दिएर  प्रदेशसभा एमालेलाई दिइएपछि सल्यानका माओवादी नेता गठबन्धनविरुद्ध उत्रिएका हुन् । ‘विगतमा सल्यानमा गरेको बलिदानी र स्थानीय तहमा भएको जनमतलाई आधार मानेर यहाँ माओवादीको मूल्यांकन एमालेको भन्दा बढी गरिनुपथ्र्यो भन्ने हाम्रो माग हो,’ इन्चार्ज कुँवरले भने, ‘तर आफ्नै गढमा एमालेलाई हाबी हुन दिएर माओवादीलाई कमजोर पार्ने षड्यन्त्र गरियो, जुन आमकार्यकर्ताका लागि दुखद हो ।’ स्थानीय तह निर्वाचनमा ८३ वडा रहेको सल्यानमा माओवादीले सबैभन्दा बढी ३२, एमालेले २७ र कांग्रेसले २३ वडामा जितेका थिए । बागी उम्मेदवारी फिर्ता लिन लगाउन माओवादी केन्द्रीय नेतृत्व लागिपरे पनि शनिबार बेलुकासम्म कुनै पनि बागी आफ्नो अडानबाट पछि हटेका छैनन्। 

यता दाङका माओवादी पूर्वसांसद कुवेर ओली निर्वाचन क्षेत्र नम्बर नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भए । लगत्तै वाम तालमेल भयो र उनलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने आश्वासन केन्द्रले दियो । पार्टीको आश्वासपछि उनी ३ (ख) बाट प्रदेशसभा सदस्यका लागि निर्वाचन लड्ने योजनामा थिए । तर पार्टीले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा ओली नत प्रतिनिधिसभा सदस्य उम्मेदवारको सूचीमा परे नत प्रदेशसभा सदस्यकै । अन्तिम अवस्थामा पार्टीले धोका दिएको ‘झोंक’ सेलाउने कुरै भएन । अनि उनी आफ्नै पार्टी समाहित गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेर उम्मेदवारी दर्ता गरेका छन् । उनले आफूले चाहेको प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराए । यो क्षेत्रमा एमालेका जिल्ला सचिव हीराचन्द्र केसी गठबन्धनका उम्मेदवार हुन् । ओलीले पार्टीले आफूमाथि गरेको अन्यायविरुद्ध आफ्नो उम्मेदवारी भएको बताएका छन् । ‘पार्टीले गरेको अन्यायविरुद्ध मैले उम्मेदवारी दाखिला गरेको हुँ,’ ओलीले भने ‘मेरो उम्मेदवारी मेरो व्यक्तिगत स्वार्थभन्दा पनि पार्टीका लाग ठूलो सबक हो ।’ २०६४ को पहिलो संविधानसभा सदस्यमा निर्वाचित ओलीको बागी उम्मेदवारी वाम गठबन्धनका लागि ठूलो चुनौती बन्ने आकलन भैरहेको छ । यसर्थ, उनलाई उम्मेददवारी फिर्ता लिन लगाउन  माओवादी केन्द्रका महासचिव तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले जोडबल गरिरहेका छन् । तर ओलीले शनिबारसम्म महराको अनुरोधलाई स्वीकारेका छैनन् । पार्टीकै जिम्मेवार पदबाट राजनीति गर्ने वातावरण निर्माण गरिदिने महराको आश्वासनप्रति ओली  ढुक्क छैनन् । ‘पछि यस्तो गरिदिन्छु र उसो गरिदिन्छु भन्ने कुराको म रत्तिभर विश्वास मान्दैनँ,’ ओलीले भने, ‘निर्वाचनका बेला कार्यकर्ताको मनोभावना नकारात्मक नबनोस् भनेर नेताहरुले प्रयोग गर्ने आश्वासन हो यो, मैले पनि यस्तो बोली धेरैपटक बोलिसकेको छु ।’ उनले आफ्नो बागी उम्मेदवारी पार्टीका आम कार्यकर्ताको सन्तुष्टिको विषय बनेको दाबी गरे । ‘मैले आमकार्यकर्ताको मनोभावनाअनुसार निर्णय लिएको छु,’ ओलीले भने, ‘मेरो निर्णय सही छ ।’ आइतबार उम्मेदवारी फिर्ता लिने दिन छ । तर ओलीले शनिबार साँझसम्म आफ्नो उम्मेदवारी फिर्ता नहुने दाबी गरेका छन्  । यो क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । ओलीको उम्मेदवारी फिर्ता नभए गिरीका लागि राहत हुने देखिन्छ।  

आफ्नो ‘आधार इलाका’ दाबी गर्दै आएको दाङमा ओलीसँगै प्रदेशसभा सदस्यका लागि पनि माओवादीका बागी उम्मेदवार छन् । निर्वाचन क्षेत्र नं ३ (ख) मा वाम गठबन्धनका उत्तरकुमार ओलीविरुद्ध वाइसिएलका पूर्वइन्चार्ज गेदलाल भण्डारीले बागी उम्मेदवारी हालेका छन् । जिल्लामा योगदान गरेका नेताहरूलाई पाखा लगाएर वाम गठबन्धनका नाममा गरिएको उम्मेदवारी चयन न्यायपूर्ण नभएको भन्दै भण्डारी बागी बनेका हुन्। 

यसैगरी टिकट पाउने आशमा राप्रपा छाडेर एमाले प्रवेश गरेकी कोमल ओलीलाई पनि गठबन्धनले बागी उम्मेदवारी दर्ता गराउन बाध्य बनायो । उनी पनि निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवार बनेकी छिन् । यो क्षेत्रमा वाम गठबन्धनविरुद्ध ओलीद्वय बागी उम्मेदवार बनेका हुन्। 

प्रकाशित: १९ कार्तिक २०७४ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App