१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनमा सिट बाँडफाँटको चासो

वीरगन्ज- एक्लाएक्लै चुनावमा जाँदा बहुमत नपुग्ने भयको उपज हो वाम गठबन्धन र त्यसकै अनुशरण हो लोकतान्त्रिक गठबन्धन,’ वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका राजनीतिशास्त्र विभागका अध्यक्ष प्राध्यापक डा. हरेराम ठाकुरले भने, ‘राजनीतिमा यस्ता चुनावी गठबन्धन बन्ने र टुट्ने क्रम चलिरहन्छ । यसमा सत्ता साझेदारीको सर्त निहित  हुन्छ । त्यसैले स्थानीय तह चुनावलगत्तै अलगअलग रहेका राजनीतिक दलबीच गठबन्धन बन्नु अस्वाभाविक होइन ।’

आफ्नो हैसियत जोगाउन कांग्रेस राजपा र फोरमसँग गठबन्धनका लागि लालायित छ भने आफ्नो उपस्थिति मजबुत बनाइरहने रणनीति एमाले र माओवादी केन्द्रलगायत गठबन्धनको छ ।

उनका अनुसार तेस्रो चरणमा भएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा तेस्रो र चौथो शक्ति बनेका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल एक ठाउँमा हुँदा अहिले प्रदेशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्नेछन् । एकअर्कासँग प्रतिस्पर्धा गर्दा अरू दललाई फाइदा पुगेको ठाउँमा पनि सँगै हुँदा यी दुई दललाई अहिले थप सफलता मिल्ने उनको आकलन छ । यस्तो अवस्थामा प्रदेशमा आफ्नो साबिक हैसियत जोगाउन कांग्रेस राजपा र फोरमसँग गठबन्धनका लागि लालायित छ भने यहाँ आफ्नो उपस्थिति मजबुत बनाइरहने रणनीति एमाले र माओवादी केन्द्रलगायत गठबन्धनको भएको उनको विश्लेषण छ ।
राष्ट्रिय राजनीतिमा मधेस मुद्दा पक्षधर दलहरूले गठबन्धन बनाउनुपर्ने स्थानीय बुद्धिजीवीको भनाइ छ । अहिलेको ध्रुवीकरणको रचनात्मक प्रयोग भयो भने राजनीतिक स्थिरता कायम गर्न मद्दत मिल्ने र त्यसविपरीत भयो भने लोकतान्त्रिक उपलब्धि गुम्ने खतरा देखिएको अधिवक्ता रामेश्वर सेढाईले बताए । ‘प्रदेश २ मा लोकप्रिय मत फोरम र राजपासँग छ । वस्तुगत मत कांग्रेस, माओवादीले लगेका छन्,’ राजनीतिशास्त्रका सहप्राध्यापक देवेन्द्र मिश्रले भने, ‘प्रदेशको मात्र कुरा गर्ने हो भने यहाँ यी दुई दल आपसमा मिले बहुसंख्यक ठाउँमा जित्ने देखिन्छ । राष्ट्रिय राजनीतिमा मधेस मुद्दाको सम्बोधनका लागि उनीहरूले कस्तो रणनीति लिने हुन् त्यसले वास्तविक चुनावी दृश्य स्पस्ट हुनेछ ।’
स्थानीय तह निर्वाचन सकिएलगत्तै सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीमा दलका स्थानीय नेता व्यस्त भएका छन् । वाम गठबन्धनका घटक दलको सिट संख्या बाँडफाँटको जोडघटाउ चलिरहेका बेला र कांग्रेसले तालमेल गर्न लागेका बेला दलका क्षेत्रीय र जिल्ला समितिहरूले नाम सिफारिस गरेर केन्द्रलाई पठाउने क्रम जारी छ । तालमेल भएपछि स्वाभाविक रूपमा दलीय उम्मेदवारको संख्या घट्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै दलले प्रत्येक क्षेत्रबाट ७ जनासम्म उम्मेदवारको नाम सिफारिस गरेका छन् । गठबन्धनकै कारण टिकट नपाउने आकांक्षीको भूमिकाले यसपटकको चुनावी नतिजा निक्र्योल गर्ने विश्लेषण गरिएको छ ।
पर्सामा ४ वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि दलहरूले उम्मेदवार सिफारिस गरेका छन् । कांग्रेसका पर्सा जिल्ला सचिव श्याम पटेलका अनुसार पर्सा क्षेत्र नम्बर १ बाट सांसद अनिलकुमार रुगँटा, पूर्वसभासद एवं वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मालगायत ७ जनाको नाम सिफारिस भएको छ । यसैगरी क्षेत्र नम्बर २ बाट पूर्वसभासद् एव केन्द्रीय सदस्य अजय चौरसिया र सांसद राजेन्द्रबहादुर अमात्यको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट सांसद सुरेन्द्रप्रसाद चौधरी र शम्भु चौहानको तथा क्षेत्र नम्बर ४ बाट केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा अनुशासन समिति अध्यक्ष रमेश रिजाल र किशोरीप्रसाद कानुको नाम सिफारिस भएको छ । त्यस्तै जनार्दनसिंह क्षेत्रीको नाम प्रतिनिधिसभा वा प्रदेशसभाका लागि सिफारिस भएको छ । उनको हकमा क्षेत्र तोकिएको छैन ।
 एमालेले ४ वटै क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गर्न  बैठक गरिरहेको छ । क्षेत्र नम्बर १ बाट सांसद विचारी यादव, २ बाट सांसद राजकुमार गुप्ताको नाम पार्टीभित्र चर्चामा छ । क्षेत्र नम्बर ४ बाट सांसद जयप्रकाश थारुको नाम सर्वसम्मत चयन भएको एमालेका स्थानीय नेता राघव साहले बताए । माओवादी केन्द्रबाट नेतृ उर्मिला अर्यालको नाम पर्सा क्षेत्र नम्बर ४ बाट चर्चामा छ । ‘छलफल भएका छन्, तर उम्मेदवारीका लागि कसकसको सिफारिस गर्ने भन्ने निर्णय भएको छैन्,’ माओवादी केन्द्रका नेता पिएल श्रेष्ठले भने ।  
पर्साका वीरगन्ज महानगरपालिका, ३ वटा नगरपालिका र १० गाउँपालिकासहित १४ स्थानीय तहमध्ये कांग्रेसले ३ वटा जितेको छ र धेरै ठाउँमा मुख्य प्रतिस्पर्धी छ । वीरगन्ज महानगरपालिकासहित ४ स्थानीय तह जितेको फोरम नेपालले पनि थोरै मात्र उम्मेदवारको टुंगो लगाएको छ । ‘हामीले ४ मध्ये २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सिफारिस गरेका छौं,’ फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र लगभग सबै प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आकांक्षीको दाबेदारी लिने काम भइरहेको छ ।’ यहाँका २ वटा स्थानीय तह एमाले र ३ वटा माओवादी केन्द्रले जितेका छन् । राजपाले भने उम्मेदवार को नाम टुंग्याउन गृहकार्य गरिरहेको छ ।
सबै दलमा प्रदेशसभाका लागि नयाँ पुस्ताका नेताहरूको नाम सिफारिस भइरहेको छ । त्यसगरी दुईटै सभाका लागि समानुपातिक उम्मेदवारको नामावली पनि जिल्लाबाट केन्द्रमा पठाउन लागिएको छ । यस जिल्लाबाट पहिलो संविधानसभा निर्वाचनमा पर्साका पाँचमध्ये ३ वटा सिट कांग्रेसले जितेको थियो भने एमाले र फोरम नेपालले एकएक सिट हासिल गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा एमालेले तीन र कांग्रेसले दुई सिट जितेका थिए । तर,  स्थानीय तहको मतपरिणामले कांग्रेस र एमालेको पकड गुमेको देखियो । दुई फरक गठबन्धनका अगुवा यी दलले आफूहरूलाई आसन्न प्रतिनिधिसभा र प्रादेशिक निर्वाचनमार्फत पुनस्र्थापित गर्ने प्रयासमा लागेका छन् । गठबन्धनभित्र सिट बाँडफाँट कसरी हुने भन्ने चासोको विषय बनेको छ ।

प्रकाशित: २४ आश्विन २०७४ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App